कोरोना महामारीको तेस्रो लहर र बालबालिकाको सुरक्षा – डा. रवीन्द्र पाण्डे

डा. रबिन्द्र पाण्डे,
कोरोना महामारीको तेस्रो / चौथो छालले बालबालिकालाई जोखिम हुन्छ भनेर अस्पष्ट जानकारीको कारण आम अभिभावकमा चिन्ता छाएको छ | धेरैजना महानुभावले यो बिषयमा जानकारी दिन आग्रह गर्नुभएकोले बिज्ञान, ज्ञान र प्रज्ञानको आधारमा निम्न कारण र समाधान उल्लेख गरेको छु |

१. बिकसित देशहरुले आफ्ना अधिकांश नागरिकलाई खोप दिएका / दिइरहेका छन् | बालबालिकाको लागि खोप ( फाइजरले १२ बर्षमाथिका बालबालिकालाई केहि देशमा दिइरहेको छ ) अझै क्लिनिकल ट्र्यालमा रहेको तथा हरेक देशमा ठूलो संख्यामा रहेका बालबालिका खोपबाट बन्चित भएको हुँदा आगामी महामारी बालबालिकाको लागि घातक हुनसक्ने अनुमान गरिएको छ |

नेपाल, भारत लगायत देशका सिमित नागरिकले मात्र खोप लगाएको अवस्थामा जोखिम अवस्था बालबालिका मात्र नभएर खोप नलगाएका सबै बर्ग जोखिममा रहेका छौं | अधिकांश नागरिकले खोप लगाएका देशमा गरेको अध्ययनलाई अनुवाद गरेर बालबालिकालाई जोखिम भन्नु हाम्रो सन्दर्भमा अपुरो विश्लेषण हो | खोप नलगाएका सबै जोखिममा छौं भन्नु सान्दर्भिक विश्लेषण हो |

२. अन्य उमेर समुहको तुलनामा बालबालिका कम संक्रमित भएका छन् | यसको अर्थ उनीहरुमा संक्रमणबाट प्राप्त एन्टिबोडी निकै थोरै प्रतिशतमा छ | लकडाउन तथा अनलाइन पढाइको कारण अधिकांश बालबालिका घरभित्र रहेको अवस्था छ | तसर्थ उनीहरु अन्य उमेरको तुलनामा संक्रमणसंग कम एक्स्पोज भएका छन् |
३. स्कुल / कलेज संचालन भएपछि बालबालिका ठूलो समुहमा लामो समयसम्म बस्नुपर्ने तथा उनीहरुले सहि तरिकाले मास्क, दुरी र हातको सफाइ गर्ने काममा ठूलो उमेरका व्यक्तिजस्तो जिम्मेवार हुन गाह्रो हुने भएकोले बालबालिका हरेक लहरमा जोखिममा हुन्छन् नै |

यी जोखिमका बाबजुद पनि समाधानका प्रयास भइरहेका छन् |

१. फाइजरले १२ बर्षमाथिका बालबालिकालाई अमेरिका लगायत देशमा खोप दिइरहेको छ | केहि महिनापछि २ बर्षमाथिका बालबालिकाको लागि पनि खोप बिकास हुने बताएको छ | त्यस्तै एस्ट्रेजेनेका, चीनका खोप उत्पादकहरु तथा भारतको बायोटेकले पनि २ बर्षमाथिका बालबालिकामा तेस्रो चरण अर्थात अन्तिम चरणको क्लिनिकल ट्र्याल गरिरहेको छ | नेपालले पनि खोप उत्पादक देश, कोभ्याक्स, गाभी, युनिसेफ आदि संस्थाबाट बालबालिकाको लागि खोप सुनिश्चित गर्नुपर्दछ |

२. भारतले डिसेम्बरसम्म ६० करोड भारतीयलाई खोप दिने लक्ष्य राखेको छ | त्यस्तै अन्य देशले पनि अभियानकै रुपमा खोप कार्यक्रम अघिं बढाइरहेका छन् | संक्रमण आउने मुहान सुक्न लाग्नु भनेको हामी पनि सुरक्षित हुनु हो |

३. नेपालले पनि बिभिन्न खोप उत्पादक देश, कम्पनी, कोभ्याक्स लगायत सहयोगी राष्ट्रसंग खोपको लबिंग गरिरहेको छ | डेनमार्क, बेलायत, अमेरिका, भारत, चीन, रुसलगायत राष्ट्रबाट खोप आउने आशाका किरण देखा परेका छन् | जति धेरै नेपालीले खोप लगाउछौं, त्यति धेरै बालबालिका सुरक्षित हुन्छन् |

४. दोस्रो लहरले नेपाललाई ठूलो पाठ सिकाएको छ | त्यो कालो १ महिनाले हामीलाई थिलोथिलो गरेको थियो | अहिले अस्पतालका बेड, अक्सिजन, आइसीयु तथा भेन्टिलेटरको संख्या एबम अनुभवी स्वास्थ्यकर्मीको कारण हाम्रो स्वास्थ्य प्रणाली पहिलेभन्दा बलियो भएको छ | आगामी लहरको लागि पहिलेको तुलनामा धेरै सहज स्थिति छ | स्वदेशका अक्सिजन प्लान्टले उल्लेख्य मात्रामा अक्सिजन उत्पादन गरिरहेका छन्, विदेशबाट अक्सिजन प्लान्टको लागि धेरै सहयोग आइरहेको छ, १०० बेड भन्दा माथिका अस्पतालमा अनिबार्य आफ्नै अक्सिजन प्लान्ट हुनुपर्ने सरकारी नीति छ |

५. स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा २० % अनिबार्य रुपमा बालबालिकाको लागि कोभिड बेड ( अक्सिजन बेड, आइसीयु आदि ) निर्माण / रुपान्तरण गर्न निर्देशन दिएको छ | हाललाई २० % बेड हरेक अस्पतालमा तयारी अवस्थामा राख्दा भद्रगोल अवस्था आउंदैन |

६. आम नागरिक पनि सचेत भएकोले बालबालिकालाई घरबाहिर जान नदिने, मास्क / दुरी / सफाइबारे सचेत भएको तथा बालबालिकाको रोग प्रतिरोध क्षमता बढाउनको लागि घरेलु खानामा अभ्यस्त भएको कारण आत्तिनुपर्ने अवस्था हुँदैन |

७. भारतमा भएका अनुसन्धानले देखाएका छन् कि दोस्रो लहर बढी घातक हुनुमा प्रदुषण पनि जिम्मेवार छ | हाल लकडाउनको कारण हामी सबैले राम्रो सास फेर्न पाएका छौं | सरकारले लकडाउन खोल्ने तयारी गर्दा प्रदुषण कसरी घटाउने बारे बैज्ञानिक अध्ययन गरेर कार्यान्वयन गर्नुपर्दछ | हरिया पहाडमा डोजर चलाउने वा प्लटिंग गर्ने कार्यलाई बन्द गराउनु पर्दछ | हरेक बस्ती, टोल, सडकको दायाँबायाँ अभियानकै रुपमा वृक्षारोपण गर्ने एबम ती वृक्षलाई सुरक्षित गर्ने काम तदारुकताका साथ गर्नु जरुरी छ | रुख काट्ने कामलाई अन्य देशमा जस्तै ठूलो इस्यु बनाउनु पर्दछ | बीसौं बर्ष लगाएर हुर्केका रुखलाई बिकासको नाममा काट्नु एक किसिमको Environmental Crime हो | स्वच्छ बातावरणले हाम्रो फोक्सो स्वस्थ हुन्छ |

८. बालबालिकालाई जडिबुटी, योग, ध्यान तथा स्वस्थ जीवनशैलीबारे तालिमप्राप्त बनाउनु जरुरी छ | बालबालिकाको दिनचर्या, रात्रिचर्या, ऋतुचर्या, पोषण ज्ञान, मानसिक सबलता, शारीरिक तन्दुरुस्तीबारे अभिभावक जानकार हुनु जरुरी छ | बालबालिकाको लागि आफ्नो आमाभन्दा ठूलो बिज्ञ कोहि हुँदैन | तसर्थ अभिभावकलाई बच्चाको स्वास्थ्य, तालिका अनुसारका खोप, अर्गानिक खाना आदि बारे बिस्तृत जानकारी दिने कार्यक्रम ल्याउनुपर्छ | पत्रु खाना तथा इन्टरनेट एडिक्सनबाट बचाउने बातावरण निर्माण गर्नुपर्दछ |

स्वस्थ बालबालिकाबिना समृद्ध राष्ट्रको कल्पना गर्न सकिदैन | बालबालिका राष्ट्रका भविष्य हुन् | भविष्यको लागि राज्य तथा परिवारले गरेको लगानीले स्वस्थ समाज र समुन्नत राष्ट्रको ढोका खोल्ने तथ्य हामीले बिर्सिनुहुँदैन |