यो रात छिट्टै ढल्नेछ र सुन्दर बिहानीको उदय हुनेछ | डा. रबिन्द्र पाण्डे,

डा. रबिन्द्र पाण्डे,
दैनिक मृत्यु भएका युवा, बयस्क, देश र समाजलाई चाहिने व्यक्तिव लगायत धेरै जनाको मृत्युको साक्षी बस्नुपर्दा सामाजिक संजाल तथा समाचार हेर्न हिम्मत जुटाउनु पर्ने अवस्था छ | सिकिस्त बिरामीका फोटो, अक्सिजन पाइप लगाएर आइसियुमा उपचाररत संक्रमितका तस्वीर, महामारीको कारण आम जनतामा परेको नोक्सानी तथा सत्ताको लागि नेतामा देखिएको असम्बेदनशीलता आदिको पोट्रेट निरासाजनक छ | पक्षधरताको कारण राम्रो कुरामा पनि नकारात्मक टिप्पणी गर्ने परम्परा झनै दिक्कलाग्दो छ |

महामारीको समयमा पनि विभाजित मनस्थितिले कसरी बिजयको पताका फहराउन सकिएला ? ३ करोड नेपाली एकजुट भएर तथा विश्व समुदायबाट सक्दो सहयोग प्राप्त गरेर महामारीबिरुद्ध लड्नुपर्ने यो अवस्थामा हाम्रा मन, बचन र कर्म दिग्भ्रमित भएका छन् | जनतालाई आशा र आत्मबल चाहिएको छ | त्यो दियोलाई हुरीबाट बचाउन सकेनौं भने यसको दीर्घकालिक असर हुनेछ |

यो महामारीले युवा, बयस्क तथा बृद्ध उमेर भनेको छैन | हामीमध्ये जोकोही पनि संक्रमित वा अस्पताल भर्ना वा आइसीयु वा मृतकको सुचिमा पर्न सक्छौं भन्ने हेक्का हरेक व्यक्तिले राख्न सकेमा र तदनुसार ब्यबहार परिवर्तन गर्न सकेमा महामारीको केहि पनि लाग्दैन |

अहिले जीवन बचाउने ५ वटा मन्त्र छन् – खोप, जनस्वास्थ्यका मापदण्डको पालना, स्वस्थ जीवनशैली, सकारात्मक सोंच र आत्मबल | यी पन्चामृत मध्ये कुनै एकको दियो निभ्यो भने हाम्रो जीवन अपुरो तथा जोखिमयुक्त हुन्छ | भनिन्छ – युनिटी इज इम्युनिटी | यी ५ वटा मन्त्रलाई आफ्नो जीवनशैली बनाएर अघिं बढौं |

मानसिक शान्तिको लागि सामाजिक संजाल तथा धेरै समाचार हेर्ने बानी स्थगित गरौँ | सिकिस्त, श्रद्धान्जली, संक्रमित….. आदि नकारात्मक समाचारलाई हाम्रो अबचेतन मनमा बस्न निषेध गरौँ |
यो रात छिट्टै ढल्नेछ र सुन्दर बिहानीको उदय हुनेछ |