एनआरएन यूकेको उपाध्यक्षमा रिचर्ड गुरुङको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघ, यूकेको उपाध्यक्ष पदमा रिचर्ड गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

हाल एनसीसी यूकेको सल्लाहकार रहेका गुरुङले आगामी कार्यकाल (२०२१–२०२३) का लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि नै युवा संयोजक रही काम गरेका गुरुङ २०१७–२०१९ मा पनि सल्लाहकार रहेका थिए ।

बेलायती सेनामा २२ वर्ष सेवा पूरा गरी एक महिना अघि सेवा निवृत्त भएका गुरुङ सेवामै रहँदा पनि एनआरएन अभियानमा सक्रिय थिए ।

सैन्य सेवासँगै समाजसेवा

पुर्खौली घर खोटाङ कोलडाँडा (हाल तरहरा सुनसरी) निवासी गुरुङ सन् १९९९ मा ब्रिटिश आर्मीमा भर्ती भएका थिए । ब्रिटिश आर्मीमा रहँदा पनि उनी निरन्तर गैरआवासीय नेपाली संघमार्फत बेलायतमा नेपाली समुदायको हितमा सक्रिय थिए ।

सैन्य सेवामा रहेकै बेला २०१५–१७ मा उनी एनआरएनए युकेको युवा संयोजक रहेका थिए । बेलायतवासी नेपाली युवा पुस्ताका बीचमा लोकप्रिय गुरुङ २०१७–१९ एनसीसीको सल्लाहकार रहेका थिए ।

एक कार्यकालको अन्तरमा उनी अहिले पनि एनसीसीको सल्लाहकार छन् ।

विगतमा सैन्य सेवामा रहेकाले क्रियाशील पदमा सहभागी हुन नपाएको र अहिले सेवा निवृत्त भइसकेकाले सक्रिय पदमा उम्मेदवार बन्न लागेको उनले बताए ।

युवाहरुबीच लोकप्रिय

युवाहरुका बीचमा बढी रमाउने गुरुङ नेप्लिज युथ युकेका संस्थापक अध्यक्ष हुन् । युवा परिचालन तथा सहभागितामा सामाजिक कार्यमा सक्रिय गुरुङ युवा समाजसेवी तथा सामाजिक अभियन्ताका रुपमा पनि चिनिन्छन् ।

युवा पुस्ताको साथ र अग्रजहरुको सहयोगमा उपाध्यक्ष पदमा निर्वाचित हुने उनको विश्वास रहेको छ ।

उपाध्यक्ष पदका उम्मेदवार रिचर्ड गुरुङले अध्यक्ष पदमा भने प्रेम गाहा मगरलाई समर्थन रहने जनाए । गाहा मगरको टिमबाटै उपाध्यक्ष पदमा निर्वाचनमा उत्रिने गुरुङले बताएका छन् ।