हार्दिक बधाई : केपी शर्मा ओली मुलुकको ४२ औँ प्रधामन्त्रीमा नियुक्त

काठमाडौं, ३० वैशाख । केपी शर्मा ओली मुलुकको ४२औँ प्रधामन्त्री बनेका छन्।

प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका ओली विहिवार राति पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । काँग्रेस- माओवादी- जसपा गठबन्धनले राष्ट्रपतिले तोकेको समयमा बहुमत जुटाउन नसकेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । सपथ ग्रहण भने भोलि (शुक्रबार) दिउँसो साढे २ बजे हुने शीतलनिवासले जनाएको छ ।

प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले आफ्नो नयाँ मन्त्रिपरिषद गठन गर्नेछन् । उनको सरकारमा एमालेका असन्तुष्ट पक्ष र जनता समाजावादी पार्टी समेत सहभागी हुनेछ।pm.jpg

यसअघि आजै राष्ट्रपति कार्यालयले विहीबार राति एक विज्ञप्ति जारी गर्दै धारा ७६(२) अनुसार कसैको पनि दाबी नपरेको उल्लेख गरेको थियो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरिएको भए पनि अन्तिम समयमा आएर नेकपा एमालेको नेपाल खनाल पक्षले असहयोग र जसपाकै महन्थ ठाकुर केपी ओलीतिर ढल्किँदा वैकल्पिक सरकार बनाउने योजना तुहिएको थियो ।

प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली वैशाख २७ मा पदमुक्त भएका थिए ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाएका थिए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो ।

प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो । प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए । ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले अबको एक महिनामा फेरि संसदमा विश्वासको मत लिनुपर्नेछ ।

यसअघि २०७४ साल फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका थिए ।

पछि दुई पार्टी एकता भएर नेकपा बनेको थियो । तर, गत फागुन २३ को सर्वोच्चको फैसलासँगै नेकपा विभाजित बनेपछि भने माओवादीले ओलीलाई साथ नदिएपछि ओली सरकार संकटमा परेको थियो ।

सो अघि २०७२ असोज २५ मा उनी पहिलो पटक प्रधानमन्त्री बनेका थिए । यससँगै ओलीले प्रधानमन्त्रीमा ह्याट्रिक पूरा गरेका छन् ।