कोरोनाको निहुँमा संगठित ठगी, नेपाल सरकार भन्दा बेलायत सरकार ५१ गुणा बढी ठग। प्रमाण सहित हलोवालाको यात्रा वृतान्त

रुद्र ढकाल हलोवाला लन्डन,
गत मार्च २४ तारीखका दिन बेलायतबाट आफ्नो देश नेपाल जाने साईत गरें। अनि फेरी अस्ति मे ३ तारीखको दिन चूपचाप यतै आएँ। सबै ईष्टमित्र तथा साथीभाईहरुलाई भेट्न भने सकिनं। यसमा सबैसंग क्षमाप्रार्थी छु। आफ्नो अति आबश्यक यात्राको दौरानमा बेलायत देखि पुन बेलायत सम्मकै यात्रा बृतान्त छोटकरीमा राख्न चाहें। बर्खान्तको पितृ कार्य गर्नुपर्ने भएकोले यात्रा निकै जरुरी र नितान्तआबश्यक थियो।

घर देखि हिथ्रो एयरपोर्टबाहिर सम्मको दुई मिटरको सोसियल डिस्ट्यान्सको नौटंकी देखि बोर्डिंग पास लगत्तै टर्किश एयरलाइन्स भित्रको भेडाबाख्रा कोचाईको दृश्य अनि नेपालतिरको रमिता जे देखियो, त्यो जस्ताकोतस्तै पस्कने जमर्को गरेकोछु। अनि कोरोनाको कहरसंगै बेलायती सरकार देखि नेपाल सरकार सम्मको हैकमबाद र लाहापार्बाहीको पनि सानो उदाहरण पेश गर्नेछु। समयको अभाबले गर्दा अहिले जम्मै कुराहरु समेट्न त सम्भब छैन। तरपनि बाटोमा सरसर्ती देखेको र भोगेको कुरा पस्कँदैछु।

जो अघि सर्यो उही फेला पर्यो भने जस्तो कोरोनाको कहरअरुलाई भन्दा पर्नेलाई मात्रै बढी थाहा हुनेरहेछ। यतिबेला सरकारको अन्यौलतापूर्ण नीतिको आडमा बेलायत देखि नेपाल सम्मको निजि कम्पनीहरुको रबैया निकै मज्जाले भोगियो। मनपर्दी सरकारी उर्दीको आडमा प्राईभेट कम्पनीहरु यतिबेला यही हो मौका भनेर धमाधन मान्छेहरुलाई मुर्गा बनाई रहेका रहेछन्। यस्तो देखियो कि यतिबेला कोरोनाको निहुँ राज्यको शक्ति हातमा हुनेहरुले ब्रह्मलुट नै मच्चाई रहेकाछन्। यो सब नाटक पैसाकैलागि हो। कोरोनाकै निहुँमा यहाँ शक्तिशाली राष्ट्रले साना राष्ट्रहरुलाई र राज्यले नागरिकहरुलाई चेपिरहेका छन्। यतिसम्म कि कोरोना जचाउने ठाउँ अस्पाताल जस्तो ठाउँमा पनि पैसाको स्वार्थलाई भन्दा कोरोनालाई कुनै प्रबाह नै नगरेको देखियो।

को भन्दा को कम? नेपालले पनि अरुदेशको देखासिकी गर्दै नेपाल प्रस्थान गर्नु अघि नै अग्रिम रुपमा होटल बूकिंग गर्नुपर्ने र त्यहीं क्वारेण्टाईन बस्नु पर्ने नियम बनाएको रहेछ। अनि पहुँचको आधारमा होटलको नेम्लिष्ट तयार पारी अनुमति दिएको रहेछ। अनि यसै अग्रिम बुकिङ्ग गर्नुपर्ने नियमको आडमा हाम्रो तिकात मिलाई दिने लण्डन स्थित ट्राभल एजेन्सीले लोग्ने र स्वानी सुत्ने एउटै कोठाको एउटै ओछ्यानलाई पनि अलग-अलग गरी टिकटसंगै जोडेर दुबैजनासंग त्यतिबेलाको पाँच रातकोलागि भनेर १५०/१५० पाउण्डको दरले दुवैजनासंग छुट्टाछुट्टै पैसा असुले। नेपालको एयरपोर्टकोलागि सिसिएमसी फर्म भर्दा पो थाहा लाग्यो कि पितृको काजकृया जस्तो काममा जानेहरुले सिधै होम क्यारेण्टाईनमा जान सक्ने विकल्प रहेछ। यस्तो अबस्था भएकाहरुले होटल बुकिङ्ग नै गर्नु नपर्ने रहेछ। अर्कोतिर हामी जाने भनिएको सम्बन्धित होटललाई हामी आउने कुनै अत्तो पत्तो नै रहेनछ। यसबाट टिकट काट्ने बिचौलियाहरुले मात्रै होटल बुकिन्ग्को नाउँमा यताबाट त्यतिकै पैसो कमाई रहेको पाईयो। त्यो पैसा आज सम्म फिर्ता पाउन सकिएको छैन। टर्किस एयरलाईन्समा जनही ४६ छयालीस किलोको सामान लान पाईन्छ भनेर टिकटमै उल्लेख थियो तर एयर्लाइन्सको सिस्टममा भने जम्मा ३० (तीस) किलो मात्रै रहेछ। त्यसैले हिथ्रो एयरपोर्टको टर्मिनल २ मा सामानको पसारो भयो। बल्ल बल्ल अर्को टिकट काट्न लगाएर ४६ किलो निर्क्योल गरी गईयो, यसरी शुरुको साईतमै लफडा शुरु भयो। त्यसपछि प्लेन भित्र सम्म यति ठेलम ठेलम भिड थियो कि टर्किश एयर्लाइन्समा प्राय नेपाल जाने यात्रु मात्रै थिए र के को दुई मिटरको दुरी न सुरी! सोसियल डिस्ट्यान्स त प्लेन बाहिरको बेलायतमा मात्रै रहेछ। यात्रुहरुलाई भेडाबाख्रा झैँ कोचिएको थियो र टर्कीमा ओर्लिएपछि त झन् काठमाण्डौ-काठमाण्डौ भन्दै बसको कन्डक्टरले झैं टर्कहरु कुर्लीरहेको सुनियो। एकछिन त सुन्धारा र रत्नपार्कतिरको बसपार्कमा पो छु कि क्या हो जस्तो हाँसै उठ्यो।

नेपाल त पुगियो, आफू पितृको काजकृयाकोलागि सिधै गाऊँ जानु पर्ने भएको हुनाले बुकिङ्ग गरेको होटललाई यसो जानकारी दिउँ भनेर फोन लगाईयो तर होटलवालालाई हामी आउंदैछौं भन्ने कुरो थाहै रहेनछ। बुकिङ् गर्नेले पैसो चाहिं आफ्नै खोल्ती मात्रै भरेछन् तर उता खबर गर्न भने भ्याएका रहेनछन् भन्ने प्रष्टै बुझियो। फेरी बुकिङ्ग न सुकिंगको गेष्ट आउने पत्तो सम्म नपाएका होटेलवालाले उनीको मा एकै रात मात्रै भने पनि नआए आर्मीलाई भनिदिने भनेर आर्मीलाई फोन गरे जस्तो गर्दै धम्क्याई पनि हाले, परेन त फसाद! आफूले पितृको काजकृया जस्तो गम्भीर प्रकृतिको कामकोलागि सोझै गाउँ जान सकिने मुनाशीब कारण बताउँदा बताउँदै पनि जबर्जस्ती एक रात भएपनि आफ्नो होटलमा आउनै पर्ने र नआए आर्मी लगाईदिने होटल म्यानेजरको धम्की देखेर काठमाण्डौका दोबाटे होटेलवालाहरु विदेशमा दुख गरेर फर्कने श्रमिकहरुको पैसा खान कति आतुर रहेछन् र कतिसम्म तल गिरेर मरिहत्ते गर्दा रहेछन् भन्दै उनीहरुको दरीद्र र खुद्रे मानसिकता देखेर बढो टीठ पनि लाग्यो, हेर त तमासा!

गाउँबाट काठमाण्डौ आएपछि पेशाले आर्म पोलिस फोर्सका रिटायर्ड एकजना सिकिस्त बिमारी आफन्त भू. पू. एस एस पी साबलाई भेट्न केही दिन बीर अस्पतालतिर धाएँ तर त्यहाँ जुनदिन पुगे पनि भएभरका स्यानिटाईजरका भाँडाहरु जम्मै रित्तै भएको पाएँ कसैले कहिल्यै रिफिल गरेको पाईएन। त्यस्तै ट्वाईलेटमा हात धुने साबुन समेत पाईएन। बिमारीहरुको बेड वरपरको वार्ड याति फोहोर थिए कि त्यहाँ झिंगाहरु भन्की रहेका थिए। सामाजिक दुरी परै जाओस् बेडहरु झण्डै झण्डै एकै ठाउँमा नै जोडिन लागेका थिए। धन्य हो हाम्रो सरकारी बीर अस्पातालको दुराअबस्था र नेपाल सरकारको झूटखेती! रेडियो र टेलिभिजनले साबुन पानीले हात धोवौं भनेर बाहिर बाहिर फुकेको फुकै छ। तर भित्र भने हातधुने साबुनको र के कुरा स्यानिटाईजरको रित्तो भाँडो पनि छैन। यति देख्दा देख्दै पनि त्यहाँबाट हाम्रा डाक्टर बाबुराम भट्टराईले यो कुरो उनको फेसबुके दुनियाँलाई देखाउन चाहेनन्। कसलाई के को मतलब?

अर्को बेथिति काठमाण्डौमा बिदेशमा भन्दा ठूलो चार-चार लेन आठ लेन सम्मकोको दुईतर्फी सडक हुँदा पनि त्यहाँको सडकमा गाडी र मोटर साईकलले खाचाखच रोड भरिएर पाईलो राख्ने ठाउँ सम्म नभएको पाईयो। गाडीहरुले जथाभाबी हर्न बजाउँदै अर्काको लेन मिचेर चलाउँदा ट्राफिकहरु अमूक बनी तमासा हेरिरहेको देखियो। यहाँ सम्म कि दमकल र एम्बुलेन्स आउँदा सम्म कसैले एक ईञ्च बाटो नछोडेको देखियो। रिंगरोडको ५० कि मि प्रति घण्टाको ठूलोबाटोमा समेत उल्टो दिशाबाट गाडी आउने लेन सम्म मिचेर मनलाग्दी सवारी साधानहरु चलाएको देखियो। त्यस्तै मेलम्चीको पानीलाई राम्रोसंग ब्यबस्थापन गर्न नसकेर जताततै सडकलाई हिलाम्यै हुने गरी पानी खेर गईरहेको पाईयो। भर्खरै हर्टएट्याक भएर निधन भएका माईलाबाको पार्थिब शरीरलाई आर्यघाटको ब्रह्मनालमा राखेर बागमतीको जलले स्नान गरिदिन खोज्दा गङ्गाको फोहोर पानी देखेर धिक्कार लाग्यो। के ढल मिसिएको पानीले कसैको शरीर पबित्र होला र हाम्रो पितृ स्वर्ग तर्लान् त? देशमा हिन्दु धर्मको नाउँमा डमरु बजाउँदै शिब ताण्डब नृत्य नाच्ने थुप्रै छन्। यसैको नाउँमा राजनैतिक रडाको मच्चाउनेहरुको कमि छैन तर बागमती आर्यघाटको त्यो घीनलाग्दो अबस्था देख्दा अनि फोहोर ब्यबस्थापन गर्ने जिम्मा पाएकाहरुको निरीहता देख्दा आफ्नो देश, धर्म र संस्कृति भनेर के गर्ब गर्नुहोला र खै? जस्तो लाग्यो।

अब कोरोना सम्बन्धी नै प्राईभेट अस्पतालकै लाहापर्बाहीको कुरो गरौं। यता फर्कने अघिल्लो दिन अर्थात् मे २ तारीखको दिन कोरोनाको पिसीआर टेष्ट गर्न सानेपा छेऊको *स्टार* अस्पताल पुगें। त्यहाँ विदेश जाने मानिसहरुको भिडमभिड रहेछ, उल्टै कोरोना सल्किएला कि भनेर ठूलो डर लाग्यो। दुई-दुई हजार रुपैयाँ लिएर गरिने कोरोना टेष्टकोलागि अस्पतालको कर्मचारीहरुले सामान्य दुरी समेत कायम नराखी आफ्नै हातले नै कोरोना परीक्षण गर्न आएका मानिसहरुको मुख र नाकबाट जोखिमपूर्ण तरिकाले ख्वात्त-ख्वात्त स्वाबको रुईवाला सिन्को दल्दै स्यामपल लिईरहेको पाएँ। त्यसो गरिरहँदा यदि संक्रमितले हाछ्यूँ मात्रै गरिदिए भने ती कर्मचारीहरु आफैंलाई कोरोना सर्न सक्ने प्रबल सम्भाबना थियो। यस्तो जोखिमपूर्ण बाताबरणमा आफैं संक्रमित हुन सक्ने डर समेत नमानिकन किन यसो गरेको त? भनी ती कर्मचारेहरुलाई सोध्दा, जंचाउन आउने मानिसहरु आफैंलाई स्वाब गर्न दियो भने धेरै समय लगाउने भएकोले हामी आफैंले छिटोकोलागि स्वाब गरिदिएका हौं भन्ने अनौठो उत्तर पाईयो।

ती कर्मचारीको कुरा सुनेर यस्तो लाग्यो कि, उनीहरु आफ्नो त्यो जागीरकैलागि पनि अस्पताल प्रशासनको जस्तोजुकै आदेश मानेर आफू र आफ्नो परिवारको समेत स्वास्थ्य र ज्यानको जोखिम मोल्न तयार रहेछन्। अस्पाताल प्रशासनले ती कर्मचारीहरुलाई यस्तो जोखिमपूर्ण काम लगाएर पैसा कमाईरहेकोमा मलाई भने पशुपति शर्माको “लुट्न सके लुट कान्छा ……. अरु देशमा पाईंदैन नेपाल मै हो छूट” भन्ने गीतको झल्को आयो। यदि अरु देशमा भएको हुन्थ्यो भने आफ्नो कर्मचारीको स्वास्थ्यलाई त्यस्तो जोखिममा राख्दै काम लगाउने त्यस्ता अस्पतालहरुलाई सम्बन्धित सरकारले उठ्न नसक्ने गरी जरिबाना गराउंथ्यो। अचम्मको कुरा त बिहान ७ बजे देखि राती ९ बजे सम्म यस्तो सासै नफेरी भटाभट पैसा छाप्ने प्राईभेटअस्पातालको ट्वाईलेटमा समेत दिशापिसाब गरेपछि हात धुने साबुन त के कुरा धारामा पानी सम्म रहेनछ, जम्मै धाराहरु खोल्दा एक थोपो पनि पानी झरेन।

लण्डन फर्किन भनेर मे ३ तारीखको बिहानै त्रिभुबन विमानस्थल आउँदा त्यहाँ दुई वटा नौटंकी देखियो जुन यस प्रकार छन्:

एउटा नौटंकी के थियो भने त्रिभुबन अन्तराष्ट्रिय बिमान स्थलको मूल गेटनेरको छेवैको एउटा कुनामा सानो पारदर्शी क्याबिन रहेछ। त्यस क्याबिन भित्र ४ जना कर्मचारीहरु आ-आफू नै एक-आपसमा छोईने गरी कोचिएर बसेका रहेछन् र उनीहरुले सबै यात्रुहरुको पिसीआर टेष्टको सर्टिफिकेटमा छाप मात्रै हान्ने काम गरिरहेका रहेछन्। अनि बाहिर जान आतुर सबै एयरलाईन्सका यात्रुहरु तँछाड-मछाड गर्दै बिना लाईन त्यतिकै घचेडा-घचेड गर्दै उक्त क्याबीनको झ्यालमा आ-आफ्नो सर्टिफिकेटमा छाप हनाई रहेको देखियो। त्यस्तो नौटंकी गरिरहनु जरुरी नै थिएन। कम से कम ती चारै जनाले अलिकति दुरी राखेर शुरुमै गेटमा उभिएर एकएक जना जो अगाडी आउँछ, उसैको सर्टिफिकेटलाई चेक गर्दै छिराएको भए यस्तो भिडभाड त हुने थिएन होला नि? मैले त्यो छापको कुनै माने देखिन। कसले दिने यिनलाई यति सानो बुद्दी?

एयरलाईन्सको “चेक-ईन” पछि माथि ईमिग्रेशनमा फेरी अर्को नौटंकी देखियो। लोग्ने स्वास्नी र स-साना बच्चाबच्ची सहित एउटा सानो परिबार क्यानाडा जान लागेका रहेछन्। अनि तिनीहरुलाई तीनतीन जना गृह मन्त्रालयका कर्मचारीले घेरेर पैसा झार्नकैलागि गलफती गरिरहेका रहेछन्। कुरा के रहेछ भनी यसो बुझ्दा, उनीहरुसंग जम्मै कागज पत्र थिए तर पत्नि चाहिंको भिषा डिपेण्डेण्ट भिषा रहेछ र त्यो भिषामा क्यानाडाको ईमिग्रेशन अफिसले “वर्क पर्मिटेड” भन्ने अंग्रेजी टर्म लेखिदिएको रहेछ। त्यसैको आधारमा ती कर्मचारीहरुले तिम्रो भिषा त “वर्क परमिट” भिषा पो रहेछ त्यसैले तिमीले नेपालको श्रम मन्त्रालयको ईजाजत लिनु पर्छ नत्र हामी छिर्नै दिंदैनौं भन्दै तिनलाई बाटो छेकेर पैसा दुहुने जमर्को गरिरहेका रहेछन्। ती कर्मचारीहरु मध्ये एकजना चाहिं मैले बीस वर्ष अगाडी देखि नै चिनेको कर्मचारी थिए। मैले उनलाई देख्ने बित्तिकै हेर्नुस, बिदेशमा पैसा कमाउन त्यति सजिलो छैन बिचरा यिनीहरुलाई छोडिदिनुस्। मैले यति सम्म भन्न भ्याएँ तर आफ्नो प्लेन छुट्न लागेको हुनाले म त्यहाँबाटअगाडी बढें। तर मलाई नेपालको ईमिग्रेशनका ती दरिद्र कर्मचारीहरुले विदेशमा दु:ख गर्न जाने मानिसहरुलाई त्यतिकै सानोतिनो कुरामा अड्को थापेर दु:ख दिईरहेको देख्दा धिक्कार लाग्यो। शुरुमा मलाई आफ्नो देश नेपाल गरीब भएर नै कर्मचारीहरु पनि यस्तो दरिद्र भएका होलान् जस्तो लाग्यो तर पछि बुझ्दै जाँदा बेलायत जस्तो धनी देश पनि पैसाको लागि उस्तै दरिद्र रहेछ।

अब कुरो गरौं बिकसित र धनी मानिएको देश बेलायतको ईमिग्रेशनको दरिद्र करतूत।

हिथ्रोमा उत्रेपछि ईमिग्रेशनको लाईनमा बसें। एउटा ईमिग्रेशन कर्मचारीले नेपालीहरुलाई बिचको लाईन भनेर देखाए। यत्रा मानिसहरुको बिचमा कसरी चिन्या होलान् तिनले हामीहरुलाई नेपाली भनेर भन्दै एकछिन अचम्म पनि लाग्यो। अनि पछि मेरै शिरमा लगाएको ढाकाको टोपी देखेर चिनेको होला जस्तो लाग्यो। जे होस् ती कर्मचारी ईन्डियन मूलको जस्तो देखिन्थे त्यसैले पनि होला उनले हामीलाई नेपालीको लाईन उता छ भनेर देखाएका। अर्कोतिर रेड् जोनमा दरिएका देशहरुबाट आउनेको लाईन छुट्टै थियो। कीप डिस्ट्यान्स एकापट्टीबाट मात्रै थियो। जब मानिसको लाईन नागबेली रुपले अर्को तर्फ मोडिन्थ्यो त्यहाँ लाईनलाई टाईट गरि बंग्याईएको थियो।

हुन त अहिले टर्किश एयरलाईन्सबाट ओहोर दोहोर गर्ने यात्रुहरु प्राय: नेपाली नै बढी छन्। त्यसैले ती कर्मचारीले हामीलाई नेपाली भनेरै चिने होलान्। ईमिग्रेशन अफिसरको अगाडी जाने मेरो पालो आयो। ईमिग्रेशनमा हत्कडी सहित स्पेशल बोर्डर फोर्स डरलाग्दो ड्रेसमा तैनाथ थिए। मैले यस आघि त्यस्तो बोर्देर फोर्स कहिल्यै देखेको थिईन। त्यो अफिसरको पोजिशन काम गराई अनि सोधाई निकै नै आक्रामक र अस्वाभाविक थियो। उनले मेरो पासपोर्टको तस्बीरलाई निकै नियालेर हेरे। कुन देशबाट आएको? कसरी बेलायतको आई एल आर पाएको आदि आदी सोधे। मैले छोटो छोटो उत्तर दिएँ। अनि उनले मेरो मास्क खोल्न आदेश दिए, मैले उसै गरें। फेरी टोपी धरी खोल भने, मैले चूपचाप आफ्नो शिरको टोपी खोलें। तर मलाई भने उसलाई धोती नै खोलेर देखाईदिऊँ कि जस्तो रीस उठी रहेको थियो। किनभने हेप्नेको पनि सीमा हुन्छ। के त्यो ईमिग्रेशन अफिसरले एउटा पन्ब्जाबी शिख यात्रुको टाउकाको फेटा खोल भन्न सक्थ्यो होला त ? के त्यसले एउटा मुस्लीम यात्रुको हिजाब खोल भनेर भन्न सक्थ्यो होला? मान्छे चिन्नलाई आँखाको रेटिना र फिंगर प्रिन्ट नै काफी हुने अहिलेको प्रविधिको जमाना आएकोछ। त्यसमाथी मैले आफ्नो फेस मास्क नै खोलेर पूरै अनुहार देखाउँदा पनि त्यसले मलाई शीरको टोपी नै झिक भनेर भन्नु पर्ने के आबश्यकता थियो होला त? आफ्नै मुलुकमा त हेपिएर बिरानो बनेको मैले अर्काको मूलुकमा आएर यस्तो र उस्तो खोज्नु मूर्खता नै हुन्थ्यो। त्यसैले चुपो लागेर लुरुक्क आफ्नो गन्तब्यतिर लाग्नु नै जात्ती लाग्यो। उसले फेरी कोरोनाको टेष्टकोलागि बुकिङ्ग खोज्यो। मैले आफ्नो मोबाईलमा भएको पिडिएफ फाईल दिखाएँ। उसले मानेन। ओरिजिनल ईमेल देखा भन्यो। मैले पैसा तिरेपछि आउने कन्फरमेशन ईमेल देखाए पछि मात्रै उसले मलाई जाने अनुमति दियो।

यहाँनेर मलाई चित्त नबुझेको कुरो के भने धनी देश बेलायतले अरुदेशबाट आउने यात्रुहरुलाई किन यति साह्रो पेल्छ? उक्त बुकिङ्ग अड्चालिस घण्टा अगाडी मात्रै गर्नु पर्ने अरे। यदि कोही बिदेशिएको यात्रुको खातामा पैसा रहेनछ भने उ आफ्नो देश फर्कन नै नपाउने रहेछ किनकि दुईवटा टेष्ट बुकिङ्ग गर्नलाई कमसे सम्बन्धित व्यक्तिको बैंक खातामा कम्तिमा पनि २०० पाउण्ड चाहिन्छ। नत्र ऊ आफ्नो बासस्थानमा फर्कन नै नपाउने रहेछ। यदि बुकिङ्ग नगरी आयो भने झनै १०,००० दश हजार पाउण्ड सम्म जरिबाना तिर्नु पर्ने अरे! कत्रो डरैडर! सरकारले नै जबर्जस्ती दोश्रो दिन र आठौं दिनको (‘डे-टू’ र ‘डे-एट’) कोलागि कोरोनाको प्राईभेट टेष्ट बुकींग गर्नु पर्ने भनी जारी गरेको उर्दी देख्दा उदेक लाग्यो! यसकोलागि बेलायत आउने साधारण यात्रुहरुले विदेशबाट बेलायत प्रस्थान गर्नु भन्दा पहिले नै अन्लाईनबाटै दोश्रो र आठौँ दिनकोलागि भनेर दुई कोरोना टेस्टकोलागि बूकिंगको पैसा तिरेको रसिद नै देखाउनु पर्ने अरे। सबै भन्दा सस्तो ल्याब भनेको दन्ते ल्याब रहेछ, जसले दोश्रो दिनको र आठौँ दिन गरिने दुईवटा परिक्षणकोलागि £११६ पाउण्ड फी तोकेको रहेछ। त्यसपछि अलिक सस्तो भनेको लिड्स कोभिड टेष्ट ल्याब रहेछ त्यसले एकजनाको एउटा टेष्ट को १०० पाउण्ड लिँदो रहेछ तर बुझ्न नसकिने र हाँसो उठ्दो कुरो के भने त्यो ल्याबमा त्यहीं पुगेर मात्रै कोरोनाको टेष्ट गराउनु पर्ने प्राबधान रहेछ। कथीत बिकसित तथा धनी देश बेलायतको कानूनमा के राखेको रहेछ भने यसरी बाहिरबाट आउने यात्रुहरुले या त सरकारले तोकेको होटेलमा तोकिएकै पैसो तिरेर क्वारेण्टाईन बस्नु पर्ने रे! या आफ्नै घरमा १० दिन सम्म घरबाट हल न चल बाहिर निस्कनै नपाइने गरी बस्नु पर्ने रहेछ, पब्लिक ट्रान्सपोर्ट प्रयोग गर्न पाउने त कुरै भएन। अनि कसरी त्यहाँ लिड्समा धाएर टेष्ट गर्न जाने होला? जानै पाए त कार लिएर भने पनि जान सक्थें तर घरबाट निस्कनै नपाउने सरकारी उर्दी भएको हुनाले गईएन, बरु क्यान्सिल गरें तर पैसा आज सम्म पनि फिर्ता भएको छैन, तिर्नु मात्रै भयो। फेरी त्यही टेष्टकोलागि दन्ते ल्याब भन्नेमा अर्को टेष्टकोलागि पहिले नै अन्लाईनबाट पैसा तिरेर बुक गरें। दन्तेले पनि पैसा लिएर पांच तारीख मै गर्नु पर्ने टेष्टलाई आजसम्म पनि आबश्यक टेष्ट कीट पठाउन सकेन। बरु यस अबधिमा एन एच एस बाटै सेल्फ टेस्ट कीट मगाएर आफैं जाँच गर्यौं। रिजल्ट नेगेटिभ नै आयो। तरपनि अग्रिम रुपमा पैसा तिरेको ल्याबबाट रोग जाँच्ने जिनिस आईपुगेन। दन्ते ल्याबको CEO ले माग अत्याधिक र पूर्ति कम भएको भन्दै आजै मात्रै अर्थात् मे ७ मा यस्तो व्यहोराको ईमेल पठाईन् जुन यस प्रकार छ:

“A message from our CEO

I wish to explain why you are experiencing a delay in receiving your COVID-19 test kit. Due to a high volume of orders for Day 2 / Day 8 testing, we did not have enough sample collection kits in our fulfillment center. It took us three days to get back in stock.

Every one of you will receive your kits by next Monday or Tuesday at the latest.

This was entirely our fault. We should have planned our inventory in advance. Also, Royal Mail is not to blame.

I wish to assure you also that we are fully ready for the most important part of the service: the analysis of your sample in our certified laboratory. Our UK lab has a capacity of 50,000 tests/day, has run more than one million tests and can run both Real-Time PCR and Sequencing.

Thanks for your trust and please reply to this email if you have any questions.

Below is a video of our lab.

Best regards,”

Andrea Riposati

यसरी दुईवटा ल्याबमा हामी दुई जनाको गरेर £४३२ पाउण्ड पैसा डुबी नै सक्यो तर पनि आज सम्म सेवा पाउन सकिएन। धन्य हो धनी राष्ट्र बेलायत। मान्छेको दिमाग नै दिग्भ्रमित हुने गरी कानून बनाउँछ अनि सोझा र गरीब मान्छेहरुलाई उठ्नै नसक्ने गरी ठग्छ। यो ठगी नै हो किनकि हामी जस्ता आप्रबासीहरुबाट युके सरकारले पहिले नै ईन्टरनेशन हेल्थ सरचार्ज लिएको छ। यस बिषयमा मैले क्वारेण्टाईनको मनिटरिङ्ग गर्ने अफिसरहरुलाई शुरुमै IHS बापत असुलेर पनि अहिले किन सेवा दिन नसक्ने प्राईभेट कम्पनिहरुलाई लगाएर हामीहरुसंग फेरी जबर्जस्ती पैसा असुलेको? यो कुरो न्यायसंगत भएन भनेर गुनासो गर्दा ती अफिसरहरुले पनि अहिलेको आफ्नो देशको कानून निकै नै हास्यास्पद भएको स्वीकारे। अनि यस्ताहरुले जथाभाबी अर्काको पैसा किन लिनु होला त?

जे होस् कोरोनाको निहुँमा नेपाल जस्तो बिकाशोन्मुख देशका मान्छेहरुले मान्छे ठग्ने हर्कत गर्नु कुनै नौलो बिषय भएन तर बेलायत जस्तो बिकसित मानिएको देशले समेत सोझा श्रमिक तथा सर्बसाधारण मानिसहरुलाई जथाभाबी रुमल्याएर ठगिरहेको पाईयो। कोरोनाको निहुँमा नेपालले रु. २०००/- ठग्यो भने बेलायतले मलाई ४३२ पाउण्ड अर्थात् झण्डै सत्तरी हजार भन्दा बढी ठग्यो। यो नेपालको तुलानामा ३५ गुणा बढी हो। अझै शुरुमा आठौं दिनको पनि बुकिङ्ग गरेको भए अर्को दुई सय पाउण्ड (£२००) जाने रहेछ। धन्न त्यो दुई सय पाउण्ड दोश्रो दिनको टेष्ट पछि मात्रै बुक गर्नु पर्ला भनेर तिरेको थिईन। नत्र एकलाख भन्दा बढी स्वाहा: हुने रहेछ जुन स्वतः रुपले पनि नेपालको टेष्ट भन्दा ५१ गुणा बढी हुन जान्थ्यो। जे होस् बेलायत देखि नेपाल र नेपाल देखि बेलायत सम्मकै मेरो यात्रा र त्यो बिचमा देखिएको नौटंकी भने अविष्मरणीय नै हुने भयो। तपाईंहरु भने बरु अहिलेकै अबस्थामा घरमै बसेर यस्ता संगठित ठगहरुबाट जोगिनु होला है!

-उही हलोवाला।