मेलबर्न निवासी सुनोदको निर्देशनमा भ्वाइसका कुशलको ‘हावा सरर’ [भिडियो सहित]

‘द भ्वाइस अफ नेपाल सिजन– १’ को फाइनलसम्म पुगेर चर्चामा आएका गायक कुशल आचार्यको स्वरमा ‘हावा सरर’ सार्वजनिक भएको छ । कुशलको स्वरमा रेकर्ड भएको यो नै पहिलो गीत हो । गायक आचार्यकै शब्द र संगीत रहेको गीतको भिडियो अस्ट्रेलियाको मेलबर्नमा सुटिङ गरिएको हो र भिडियोको निर्देशन सुनोद श्रेष्ठले गरेका हुन् ।

सुनोद श्रेष्ठ अष्ट्रेलियन टेलिभिजन च्यानल सेभनका प्रसारण हुने विनर एण्ड लुजरको संस्करण र अष्ट्रेलियाकै टेलिभिजन एसबिएस मार्फत प्रसारण हुने टेलिफिल्म विल्फेर्ड द डगमा समेत अभिनय गरेका र सात समुन्द्र पारी, बिर्सन सक्दिन, तिमी र म लगायत आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका चर्चित मोडल हुन । यस्तै, हास्य टेलिशृंखला उत्पादन गर्ने कमेडी टेलिभिजनको ओपन स्यालदरमा पनि उनले काम गरिसकेका छन् ।

च्यानल नाइनमार्फत प्रशारण भएको ग्यालोपोली वारमा गोर्खालीको रूपमा उनले गरेको अभिनय निकै चर्चित थियो । सुनोदले सन् २०१६ मा अस्ट्रेलियन फिचर फिल्म दी मेन कफ मेथोडमा पनि अभिनय गरेका थिए ।

भिडियोमा रेसा सापकोटा, रोजिना उदास र इश्वर पोखरेलले अभिनय गरेका छन् भने गायक आचार्य र निर्देशक श्रेष्ठलाई पनि भिडियोमा देख्न सकिन्छ । सुनेश श्रेष्ठले भिडियो छायांकन गरेका हुन् ।

कुशल र अंकुश अधिकारीले संयुक्त रूपमा लेखेको गीतमा प्रज्ज्वल लामाको संगीत सुन्न सकिन्छ ।

गीतलाई लिएर निकै आशावादी गायक कुशल भन्छन्, ‘द भ्वाइसको प्लेटफर्ममा मैले धेरै माया पाएँ । अहिले अफिसियल गीत सार्वजनिक गरेको छु । सबैले माया गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।’