महामारी बढाउने काममा सरकारको हात :मदरल्याण्ड नेपाल क्यालिफोर्निया ; प्रेस विज्ञप्ति

मदरल्याण्ड नेपाल क्यालिफोर्नियाले नेपालमा कोरोनाको दोस्रो लहर फैलिंदै गएकोमा गम्भीर चिन्ता ब्यक्त गर्दै एक छापा बिज्ञप्ति जारी गरेको छ । छिमेकी भारतमा पछिल्लो २४ घण्टामा करिब ४ लाख कोरोना संक्रमित थपिएका र ३ हजारभन्दा बढीको मृत्यु भएको डरलाग्दो समाचारले नेपाली त्रसित भएको उल्लेख गर्दै सयुक्त संयन्त्र बनाई गाउँ–गाउँसम्म पुगेर कोरोना महामारीविरुद्ध एकीकृत ढंगले अभियान चलाउन् आह्वान गरेको छ ।

प्रेस बिज्ञप्तीको पूर्ण बिबरण जस्ताको त्यस्तै :

सनफ्रानसिस्को । २८ अप्रिल २०२१ । नेपालमा कोरोनाको दोस्रो लहर फैलिंदै गएकोमा गम्भीर चिन्ता छाएको छ । छिमेकी भारतमा पछिल्लो २४ घण्टामा करिब ४ लाख कोरोना संक्रमित थपिएका र ३ हजारभन्दा बढीको मृत्यु भएको डरलाग्दो समाचारले नेपाली त्रसित भएका छन् ।

संक्रमण र मृत्युको पछिल्लो आँकडा हेर्दा नेपाल पनि भारतको नियतितर्फ धकेलिँदै गएको प्रस्ट देखिन्छ । आजसम्म ३ लाखभन्दा बढी संक्रमित र ३ हजारभन्दा बढी मृत्युको आँकडा रहेको नेपालमा पछिल्लो लहर सुरु भएपछि एकैदिन २८ जनाको मृत्यु भएको पाइएको छ । एक अर्बभन्दा बढी जनसंख्या रहेको भारतमा एक दिनमा ३ हजारको मृत्यु र ३ करोड जनसंख्या रहेको नेपालमा २८ को मृत्युलाई तुलना गर्दा र मुलुकभर पिसिआर परीक्षण पनि प्रभावकारी रुपमा नभएको अवस्थाको समीक्षा गर्दा भोलिका दिन अझ भयानक हुने त्रास बढेको छ ।

यस्तो अवस्था आउनुमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकार सर्वाधिक दोषी देखिन्छ । प्रधानमन्त्री ओली स्वयंले कोभिडको पहिलो लहर चलिरहँदा दजनौं टेलिभिजन अन्तर्वार्तामा मास्क नलाई बोलेका छन्, पचासौं भेला र सभाहरु गरेका छन् र दोस्रो लहरले छिमेकी भारतमा हजारौंको ज्यान लिइरहँदा ठूलो जनसमुदाय भेला पारेर राम–सीताका मूर्तिको शोभायात्रा निकालेका छन् र तयार नै नभएको धरहरा उद्घाटन गरेका छन् । बालुवाटारमा होस् वा प्रधानमन्त्री कार्यालयमा सामाजिक दूरी कायम गरेर भेला गर्नुपर्छ भन्ने सोच उनमा कत्ति पनि देखिंदैन ।

अभिभावक मानिने सरकारबाट यस प्रकारको लापर्बाही भएपछि जनताले मास्क लगाउन अल्छी गरे भनेर दोष दिनुको के अर्थ ? यसअघि मुलुकमा राजनीतिक विखण्डनको मेला नै लाग्यो । तत्कालीन नेकपाका तीन घटक गाउँ–गाउँसम्म पुगेर एकले अर्कालाई गाली गर्न ठूला–ठूला सभा गर्दै हिंडे । त्यसैले कोरोना फैलाउने र नेपालीलाई अकाल मृत्युको मुखमा धकेल्ने कार्यको दोष सर्वाधिक रुपमा सरकार र एमाले तथा माओवादी केन्द्रका नेताहरुले लिनुपर्छ ।

सरकार अझै पनि संक्रमणको स्रोत बनेको भारतसँगको सिमाना बन्द गर्न सकिरहेको छैन भने आकाश मार्गबाट पनि भारतीय संक्रमितहरु नेपाल भित्रिरहेका छन् । नेपाल प्रवेश गरेका भारतीयहरु क्वारेन्टिनमै मरेको समाचार बाहिर आइरहेको छ । यस प्रकारको गम्भीर परिवेशमा राजधानी उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लगाइएको छ, त्यहाँ बसोवास गर्दैआएका नागरिक रातारात गाउँ फर्केका छन् । यसरी संक्रमितहरु देशव्यापी भएका छन् ।

तर सरकारसँग परीक्षण, राहत र व्यवस्थापनका लागि कुनै योजना छैन । योजना छ त केबल सरकारमा कसरी टिक्ने र विरोधी दललाई कसरी लज्जित बनाउने भन्ने खेलको ।

यस अवस्थामा मदरल्याण्ड नेपालले सरकार र राजनीतिक दलहरु कोरोनाको दोस्रो लहर शून्यतिर नलागेसम्म राजनीतिक विभाजन, आरोप–प्रत्यारोपका विषयहरु नउठाऊन्, संयुक्त संयन्त्र बनाई गाउँ–गाउँसम्म पुगेर कोरोना महामारीविरुद्ध एकीकृत ढंगले अभियान चलाउन् आह्वान गर्दछ । यस महामारीका बेला आम जनताको पीडालाई आफ्नो पीडा ठानेर इमान्दारीपूर्वक सहानुभूतिपूर्ण व्यवहार देखाउनु आवश्यक छ । अन्यथा, नेपाली जनताले सरकार र दलहरुलाई कहिल्यै माफ दिनेछैनन् ।

………………….
अनिल पाण्डे
अध्यक्ष