पोखरामा ८ करोड लगानीमा बन्यो यस्तो बन्जी जम्प (भिडियो सहित)

पोखरा घुम्न आउनेहरुको लागि साहसिक गन्तव्य थप भएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले नयाँ वर्षको सुरुवातसँगै पोखरा–१७, रातोपैह्रामा बन्जीको उद्घाटन गर्दैछ । जसको सफल परीक्षण भइसकेको बन्जीस्थलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।

प्याराग्लाइडिङका लागि उत्कृष्ट ठहरिएको पोखरालाई बन्जी जम्पको पनि हब बनाउन ८ करोड २५ लाख रुपैयाँ लगानीमा बन्जी जम्प संचालनमा आएको कम्पनीका अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिए । पोखराका युवा व्यवसायी भट्टराई सहित कम्पनीमा राजु कँुवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, कल्पना पौडेल, भूपालबहादुर बराल क्षेत्रीको संयुक्त लगानी छ ।

क्यान्टिलिभर ब्रिजको डिजाइनमा निर्माण गरिएको बन्जी ३५ मिटर अग्लो टावरको फेदबाट जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ । सेती नदीको खोंचमा बनेको र फराकिलो हिमश्रृंखला हेर्दै जम्प गर्न पाइने भएकोले यसको थप आकर्षण रहेको कम्पनीको दाबी छ ।

बन्जीको २ प्लेटफर्म नदीदेखि १०१ र १०५ मिटरमा रहेको कम्पनी अध्यक्ष सन्तोष भट्टराईले बताए ।

चीनमा रहेको विश्वकै अग्लो बन्जी जम्प जस्तै गो बन्जीकै फ्रेन्चाइजका रुपमा नेपालमा बिस्तार गरिएको बताइएको छ । बन्जी परिसरमा रेन्टुरेन्ट तथा कफी सप समेत संचालनमा आइसकेका छन् । दैनिक ४० जनासम्म बन्जी गर्न सक्ने क्षमता रहेको र नियमित रुपमा संचालन भए ५ वर्षभित्र लगानी उठाउन सकिने कम्पनीले जनाएको छ ।

हेर्नुहाेस् भिडियाेः