सिएनएस युकेले बेलायतमा नेपाली समुदायमा कोभिड १९ बाट बच्न अपनाएका उपायबारे अनुसन्धान गर्ने

लण्डन । सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले कोरोना सङ्क्रमणको समयमा बेलायतमा बसोबासरत नेपालीहरूले भोगेका अनुभवहरू र विशेषत:यसबाट बच्न अपनाएका उपायहरू (कोपिङ स्ट्रयाटिजी) का बारेमा अध्ययन गर्ने भएको छ । सो अध्ययनमा बेलायतमा रहेका नेपालीहरूले कोरोनाबाट बच्न के कस्ता उपायहरू अपनाए भन्ने बारेमा मानवशास्त्रीय र समाजशास्त्रीय कोणबाट विस्तृत अध्ययन गरिने सेन्टरका निर्देशक लोकेन्द्रपुरुष ढकालले बताए।

सन् २०१९ को अन्त्यमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमणले बेलायतलाई पनि नराम्ररी प्रभावित पारेको छ र बेलायतमा रहेका नेपालीहरूलाई पनि निक्कै असर गरिरहेको छ । कोरोनाका कारण बेलायतमा नेपाली समुदायका दर्जनौँ सदस्यहरूको निधन भएको छ भने सयौँ संक्रमित भएका छन् ।

कोरोना महामारीका बेला त्यसको प्रभाव कम पार्न नेपाली समुदायले प्रयोग गरेका परम्परागत, घरेलु र आधुनिक सावधानीका उपाय तथा उपचार पद्धति; नेपाली समुदायमा प्रचलित घरेलु औषधिहरूको प्रयोग, साथीभाइ इष्टमित्रहरूसित सम्पर्क; खानपान र रहनसहन; योग-ध्यान, शारीरिक कसरत, मानसिक स्वास्थ्य; पारस्पारिक सहयोग सूचना; र सामाजिक सञ्जाल र प्रविधिको प्रयोग लगायतका विषयमा अनुभव, व्यावहार र धारणासम्बन्धी सूचना सङ्ककलन गरिने सिएनएस युकेकाअध्येता डा. कृष्ण अधिकारीले जानकारी दिए।

कोरोना भाइरसले समाजमा पारेका विभिन्न प्रभावका बारेमा धेरै अनुसन्धान भइरहे पनि बेलायतमा रहेका नेपाली समुदायले यसबाट बच्न कस्तो तरिका अपनाए भन्ने बारेमा हालसम्म अनुसन्धान भएको छैन । कोराना सङ्क्रमित कयौँ नेपालीहरूले यदाकदा सामाजिक सञ्जाल तथा अन्य मिडियामा अनुभव बाडेको पाइए पनि हालसम्म यो विषयमा व्यवस्थित अध्ययन नभएको परिप्रेक्ष्यमा यो अध्ययन गर्न लागिएको हो।

सो अनुसन्धानमा सल्लाहकार रहेका हडर्सफिल्ड विश्वविद्यालयका प्राध्यापक तथा स्कुल अफ ह्यूमन एण्ड हेल्थ साइन्सेजका सहायक डिन डा. पदम सिंखडाले कोरोनाभाइरसबाट बेलायतमा रहेका जातीय अल्पसंख्यकहरू धेरै पीडित भएको अवस्थामा यस अनुसन्धानबाट निस्कने निस्कर्षले सरोकारवाला निकायहरूलाई नीति तर्जुमा गर्नमा महत्वपूर्ण सहयोग पुग्ने बताए । साथै अध्ययनबाट नेपाली समुदायको लागि पनि उपयोगी नतिजा प्राप्त हुन् सक्ने उनले बताए।

सो अध्ययनको अनुसन्धानकर्तामा सिएनएस युकेका रिसर्च एसोसिएट नरेश खपाङ्गीमगर रहेका छन् भने सल्लाहकारहरूमा प्रोफेसर डा.पदम सिंखडा र अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो डा. कृष्ण अधिकारी रहेका छन् ।

कोभिड-१९ को सन्दर्भमा हुन लागेको यो अध्ययनमा आवश्यक सूचना दिएर सहयोग गर्न पनि सिएनएस युकेले अनुरोध गरेको छ। विभिन्न क्षेत्र, पेसा, वर्गका छानिएको मानिसहरूसँग अन्तर्वार्ता गरेर सूचना लिइने भए पनि आफूसँग रहेको महत्त्वपूर्ण अनुभव बाड्न चाहनुहुने कुनै पनि माहानुभावले अध्ययन टोलीलाई … मा सम्पर्क गर्न सक्नुहुनेछ। यो अध्ययनको लागि सिएनएस युकेको इथिकल समितिले न्यूनतम् नैतिक मापदण्ड पूरा गरेको भनि जाँच पास गरेको कुरा केन्द्रले बताएको छ ।

यो अनुसन्धानका लागि अन्य कुनै निकायको सहयोग नलिइ आन्तरिक रूपमा स्वयंसेवी तरिकाले गर्न लागिएको कुरा सिएनएस युकेले जनाएको छ । सन् २००७ मा स्थापित सिएनएसयुके बेलायतस्थित नेपालीहरूको थिंक ट्यांक हो । अध्ययन अनुसन्धानको माध्यमबाट बेलायतमा नेपाल र नेपाली समाजबारे ज्ञान अभिवृद्धि गर्ने लक्ष्य राखेर स्थापित सिएनएस युकेले बेलायतमा रहेका नेपालीका विभिन्न पक्षमा अनुसन्धान र प्रकाशन गर्ने काम गर्दै आएको छ । – ०७४ ११५५ ८७३२