पोखरामा दिउसै गोली हान्ने मान्छे मच्चाउने पक्राउ (भिडियो सहित )

दुई महिना अघि पोखरा महानगरपालिका वडा नं १७ महतगौंडा (सितापाईला) मा भएको गोलीकाण्ड प्रकरणमा संलग्न फरार व्यक्तिलाई कास्की पक्राउ गरि आज सार्बजनिक गरेको छ ।

आइतबार (आज) बिहान पोखरा १ सिम्पानीबाट एसपी जीवनकुमार श्रेष्ठ नेतृत्वको टोलीले घटनामा संलग्न बारा बरियापुर वडा नं . ४ पिपराबृता घर भई पर्सा वीरगञ्ज आदर्श नगरमा अस्थायी बसोबास भएका ४५ वर्षीय राजकिशोर पाण्डेलाई पक्राउ गरेको हो । पाण्डेलाई मेटलको काम गरिरहेकै अवस्थामा पक्राउ गरिएको एसपी श्रेष्ठले बताए । पाण्डे पोखरामा मेटल लगायतको काम गर्दै आएका थिए ।

पोखराको महतगौंडामा गत माघ २३ गते साँझ ७ बजेको समयमा महतगौँडा नोलौ घुम्ती नजिक पवर्तका २७ वर्षीय मनोज बिकलाई अपरिचित व्यक्तिले गोली हानी घाइते बनाएका थिए । आफू माथि गोली प्रहार भयो भन्दै पर्वतको मोदी ८ चित्रे घर भई पोखरा २४ पामे बस्दै आएका मनोज चोट बोकेर बाइकमै बैदाम प्रहरी कार्यालय पुगेका थिए । उनको दाहिने कोखा (पेट)मा घाउको प्वाल थियो ।

प्रहरीले तत्कालै उहाँलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगेकोमा अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गएको एसपी श्रेष्ठले बताए । बिकको दाहिने कोखामा अगाडिपट्टी प्वाल परी पछाडि ढाडको भागमा समेत चोट देखिएको थियो ।

सिटी स्क्यान रिपोर्टपछि गोली नलागेको नभई धारिलो हतियार प्रहार भएको प्रहरीले डाक्टरलाई उदृत गर्दै बताएको थियो । अन्ततः गोली नै लागेको पुष्टि भएको कास्की प्रहरी प्रमुख एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका पाण्डेको साथबाट ३ राउण्ड गोली, मोबाइल र पर्स पनि बरामद गरिएको छ । वायरिङको काम गर्ने बिक र मेटलको काम गर्ने पाण्डेबीच के कुरामा रिसईबी भयो भन्नेबारे प्रहरीले अहिल्यै खुलाएको छैन । पाण्डे अरु घटनामा पनि संलग्न भएको हुनसक्ने र उनले प्रयोग गरेको पेस्तोल नभेटिएकाले पनि प्रहरीले थप विवरण सार्वजनिक गर्न मानेन ।

घाइते विकले प्रहरीलाई दिएको हुलियाका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको र घटनामा संलग्नको पहिचान खुलेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।