हिरासतभित्रै प्रहरीले चरम यातना दिएको आरोप, यातना बाट मृगौलामा समस्या

पथरी शनिश्चरे– मोरङको कानेपोखरी–२ का ४७ वर्षीय बुदन चौधरीलाई हिरासत भित्रनै कुटपिट हुँदा मृगौलामा समस्या आएको छ । हिरासतमा लिइएपछि इलाका प्रहरी कार्यालय पथरीमा उनको कुटपिट हुँदा मृगौलामा समस्या आएको परिवारले जनाएको छ । यौनहिंसाको आरोपमा चौधरीलाई गत चैत १६ गते प्रहरीले नियन्त्रणमा दिएको थियो ।

इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेका चौधरीको दाहिने कानको माथिल्लो भागको कपाल उखेलिएको छ । जवरजस्ती कपाल तानिएको कारण त्यहाँ चोट देखिएको बताइएको छ ।

बेलाबेला अचेत हुने चौधरीको चाक र त्यस माथिल्लो भागमा रगत जमेका डामहरू रहेको छ । प्रहरीको पिटाइबाट घाइते चौधरीलाई २१ गते प्रहरीले नै उर्लाबारीस्थित मंगलबारे अस्पतालमा उपचारको लागि लगेको थियो । लमंगलबारे अस्पतालले विराटनगर स्थित कोशी अस्पतालमा रिफर गरेपछि उनको अहिले त्यहीँ उपचार भइरहेको छ । अस्तालको बेडमा रहेका चौधरी बेलाबेला झस्किने र बेहोसमा जथाभावी बोल्ने समस्या अझै रहेको पत्नी शान्ति चौधरीले जनकारी दिईन् ।

प्रहरीले नियन्त्रणमा लिएको चार दिनसम्म चौधरीमा कुनै समस्या थिएन । चौधरीको श्रीमती शान्ति इलाका प्रहरी कार्यालय श्रीमान् भेट्न जाँदै आउँदै गर्थिन् । २० गते चौधरीलाई प्रहरीले कुटपिट गरेर मरणासन्न बनाएको शान्तिको भनाइ छ । हरेक दिन भेट्न जाँदा पारिवारिक र व्यवहारिक कुराकानी हुन्थ्यो । २० गते अपरान्ह जाँदा ऐया ऐया भनेपछि प्रहरीबाट कुटपिट भएको थाहा पाएको शान्तिको भनाइ छ ।

कान छेउको कन्सिरीको कपाल उखेलिएको चोट, चाक र ढाडमा निलडाम भएका चौधरीलाई अस्पताल पुर्याइए पनि दुई दिनसम्म आवश्यक औषधि नचलाएको परिवारको आरोप छ । प्रहरीले औषधि नदिएपछि पाँच हजारको औषधि आफै किनेको उनले बताइन् ।

प्रहरीले अमानवीय रूपमा कुटपिट गरेर घाइते बनाएको मानव अधिकारवादी संस्थामा उजुरी दिएपछि मात्र औषधि चलाउन थालेको घाइते चौधरीका ज्वाइँ हरि चौधरीको भनाइ छ ।

मानव अधिकारवादी संस्थामा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईको संयोजकत्वमा अनुसन्धान समिति गठन भएको छ । डीएसपी राई इलाका प्रहरी कार्यालय पथरी आएर सोधखोज गरेर फर्केका छन् ।

प्रहरीले भने कुटपिट गरेको कुरा अस्वीकार गर्दै आएको छ । सो घट्ना हुनुपूर्व इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्का घर विदामा गएका थिए । इलाका प्रहरीमा इन्स्पेक्टर अनिलकुमार पौडेल निमित्त प्रमुख थिए । तत्कालीन निमित्त प्रमुख पौडेलले बुदन चौधरीलाई कुटपिट नगरेको थुनुवाहरूसँग झगडा भएर निलडाम भएको बताए ।

घाइते बुदन चौकरीकी पत्नी शान्ति चौधरी भने सो कुरा मान्न तयार छैनन् । यतिको निलडाम हुने गरी, केश उखेलिन्जेल अस्पताल भर्ना हुने गरी थुनुवा झगडा नहुने र भएपनि सुरक्षा गार्डले छुटाउनुपर्ने तर्क गर्दै पतिलाई बाहिर निकालेर मरणासन्न हुने गरी कुटपिट भएको दावी गर्छिन् ।

आफ्नो परिवार गरिव भएको कारण आवश्यक सहयोग नपाएको उनको गुनासो छ । कुटपिटमा संलग्न प्रहरीलाई छानविन गरी कडा कारबाही र पतिको पूर्ण उपचार हुनुपर्ने शान्ति चौधरीको माग छ ।

छानविन समितिका संयोजक डीएसपी मानबहादुर राईले बुदन चौधरी नसालु पदार्थ सेवन गर्न नपाएपछि अर्धचेत अवस्थामा थुनुवाहरूलाई कुटपिट गर्न थालेपछि हिरासतभित्रै हतकडी लगाएर राख्नुपर्ने अवस्था आएको जनाए ।

चैत २० गतेदेखि रातभर कराउने, गाडीको ब्रेकलगाएको भन्दै अन्य थुनुवालाई लात्तले हान्ने, कुटपिट गर्न थालेपछि चौधरीलाई थुनुवा कोठामै हत्कडी लगाएर राखिएको अनुसन्धानको क्रममा बुझेको जिल्ला प्रहरी प्रवक्ता मानबहादुर राईको भनाइ छ ।

कोशी अस्पताल विराटनगरमा उपचार गर्ने क्रममा बुदन चौधरीको मृगौलामा समेत समस्या देखिएको छ । प्रहरीकै पिटाइबाट मृगौलामा समस्या आएको बुदनकी पत्नी शान्ति र ज्वाइँ हरि चौधरीको भनाइ छ ।

उनीहरूले प्रहरीको हिंसामा परेका बुदन चौधरीको पूर्ण उपचार गर्न माग गरेका छन् । बुदन चौधरीलाई यौन हिंसा सम्बन्धी मुद्दा चलाएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले जानकारी दिए ।