पूर्व मेयर हेलेनसंगको दोश्रो भेटले उब्जाएका केही प्रश्नहरु

मेयरको रुपमा केही बर्ष अघि भेटिएकी बरिष्ठ वकिलको रुपमा समेत कार्यरत Helen Davidson घरेलु हिंसासम्बन्धमा दिदी-बहिनी समाज भिक्टोरियाद्धारा तयार पारिएको नेपाली फिल्मको दोश्रो भागको शुभारम्भलाई समेत समाबेश गरिएको Moreland City Council द्धारा आयोजित हिजोको कार्यक्रममा काउन्सिलरको रुपमा भेट्दा नेपालको अस्तब्यस्तताका कारणका केही जड मडारिएर आइरहेको थियो मभित्र । किनकि नेपालीको लागि ठूलो जिम्मेवारी पाइसकेर सानो जिम्मेवारी लिनु मान्य होइन जुन विकसित देशको लागि प्रश्नको बिषय नै होइन । र, अर्को कुरा नेपालमा जनप्रतिनिधिहरु सबै अहिले सरकारी तलब र सुबिधा लिन्छन, तर विकसित देशमा प्राप्त जिम्मेवारीको लागि काम गरे बापत भत्ता लिन्छन र आफ्नो कामलाई पनि जारी राख्छन ।

जिम्मेवारी प्राप्त ब्यक्तिसंगको आधिकारिक भेटघाट एउटा निस्चित परिपाटी अनुरुप चल्नुपर्छ र त्यो कुनै न कुनै परिणामदायक हुनै पर्छ । नेपालमा अधिकांश मेयरकै कार्यालयमा पनि समय नै नलिएर कुनै पनि बेला मानिसहरु बाटो पर्यो भने पसेर “नमस्ते” टक्र्याउने चलन यथाबत छ । चाकडीको रुपमा “नमस्ते” खाने र टक्र्याउने ब्यवसायलाई फस्टाउन दिने यो परिपाटी र मानसिकता समाज र देशको लागि प्रत्युत्पादक हुन्छ । हरेक दिन बिहान हरेक कार्यालयमा चाकडी टक्र्याउने र ग्रहण गर्ने ब्यबसायको लागि कम्तीमा आधा घण्टा बितेपछि बल्ल सबै आ-आफ्नो काम गर्ने कुर्सीमा देखा पर्छन । २१औं शताब्दीमा पनि सबैले आ-आफ्नो स्तरको प्रसस्ति गाउने र सुन्ने सामन्ती संस्कारको यस किसिमको निरन्तरताको कारण स्वतन्त्रता प्राप्तीका दृष्टिकोणले समकालिन देशहरु विकसित देश बनिसक्ता नेपाल भने अझै पनि अति कम विकासोन्मुख देशको लिस्टमा नै छ ।

वेलायतमा कन्सल्टिङ कम्पनीमा काम गर्दा आफ्नो प्रमुखको कोठामा काम नै नपरी कहिल्यै पसिन । अपर्झट सकाउन पर्ने डिजाइन काम आएको खण्डमा उनी आँफै मेरो कोठामा आएर पहिला बिस्तारै भूमिका बाँधेर प्रसंशाको भाषा बोल्थे । अन्य वेलायतीहरु थप काम लिन सहजै स्वीकार्थेनन जबकि म भने स्वीकारिदिन्थें । अफिस पहिला जाने र पछि छाड्नेले ‘सेक्युरिटी कि’ प्रयोग गर्ने परिपाटीका कारण त्यस्तो पर्दा बरु अफिस छिटो जाने र ढिला छाड्ने गरेर पनि काम सकाइदिने गर्थें । आफ्नो जिम्मेवारी बहन गर्ने भएपछि प्रसस्ति गाउने र ग्रहण गर्ने संस्कारको आवश्यकता नै पर्दैन ।

राजनीतिमा लागे पनि आ-आफ्नो पेशागत कामलाई पनि निरन्तरता दिने परिपाटीले विकसित देशमा आजीवन राजनीति गर्नै पर्ने वाध्यता छैन नेपालमा जस्तो । नेपालमा जे जस्तो तवरले राजनीति गर्ने संस्कारले निरन्तरता पाएको छ यस्ले राजनीतिलाई सबैभन्दा राम्रो ब्यवसायको रुपमा विकास गरेको छ । नेपालमा राजनीतिमा लाग्नेले पदीय दुरुपयोग गर्ने किसिमले प्रत्यक्ष परोक्ष रुपमा ब्यवसाय सन्चालन गरेको आरोप प्रसस्त सुन्नमा आउछन । यस्को ज्वलन्त उदाहरणको रुपमा नेपालमा पछिल्लो समयमा जथाभावी बाटो खन्ने संस्कारको विकासलाई लिने गरिन्छ । जनता बाटो खनिएकोमा खुशी हुन्छन, तर उनीहरु जथाभावी त्यसरी बाटो खनिनुको दीर्घकालिन दुस्परिणामबारे अनभिज्ञ छन । त्यसरी जथाभावी बाटो खनिने राजनीतिको पछाडि जनप्रतिनिधिहरुको बाटो खन्न प्रयोग गरिने यान्त्रिक उपकरणको ब्यवसाय फस्टाएको आरोप यत्रतत्र सुनिन्छ । यस्ले जथाभावी भयाबह भू-क्षय बढाइराखेको छ । एकजना प्रमुख जिल्ला अधिकारीले जिल्लामा बिना EIA यसरी बाटो खन्ने काममा नियन्त्रण गर्न खोज्दा जनप्रतिनिधिहरुले सीधासाधा सर्बसाधारणलाई उचालेर विकास बिरोधी प्रमुख जिल्ला अधिकारी भन्ने आरोप लगाएर अन्यत्रै सरुवा गराए । सर्बसाधारणले नबुझेर माफियातन्त्रलाई जिताउँदै भावी पुस्तालाई समेत सोच्ने दीर्घकालिन सोंच भएका राम्रो प्रमुख जिल्ला अधिकारीलाई लखेटे ।
कोभिडका कारण नेपालबाट अनायास अस्ट्रेलिया फर्कनुपर्ने बाध्यताका कारण काठमाण्डौंतर्फ आइराख्दा संगै बसेका ७२ बर्षिय वातावरणबिद अस्ट्रेलियन मित्र पौलले जताततै जथाभावी बाटो खानेको देखेर “यति सुन्दर देश नेपाललाई नेपालीले विकासका नाममा किन यस्तरी बिगारेका होलान?” भनेर ब्यक्त गरेको अत्यन्तै चिन्ता मेरो मानसपटलमा आइरहेको थियो ।

अत: सामन्ती संस्कारको निरन्तरता, राजनीतिलाई ब्यबसायिकरण र माफियातन्त्र नेपालको विकासका केही प्रमुख बाधा र धमिराहरु हुन ।

श्रोत: लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) का विस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक

Twitter @Ramkshrestha