नारी म : नीलु झा खतिवडा डेलावर यु एस ए

नीलु झा खतिवडा डेलावर यु एस ए

म एउटा नारी, मलाई नारी नै रहन देउ
म हुँँ अग्नी,मलाई मेरो तापमा नै जल्न देउ
म नै पानी,मलाई मेरो दिशामा बग्न देउ
म हुँ धर्ती पनि,मलाई स्थिर नै रहन देउ।

मलाई पन्क्षी सरी खुल्ला आकाशमा उड्न देउ
मलाई आफ्नो गुड पनि आफै बनाउन देउ
मेरो रङ्गी बिरङ्गी रङमा मलाई रमाउन पनि देउ
नरोक,नछेक मलाई,लड्दै पड्दै भए पनि गन्तब्यमा पुग्न देउ।

मागेको के छ र मैले, खुशी मात्रै त हो
सित्तैमा पाएको पनि केही छैन ,अर्जेको मात्रै त हो
दिने भए तिमिले अनुकुल बाताबरण र सम्मान देउ
राजा जनक र रानी सुनन्या जस्तै महान बनिदेउ ।

नरहुन नारी कतै,कुनै दुर्दशाको शिकारी
युगौ युग देखी नारीनै,सबै को रक्षाकारी
सरस्वती र भगवती सबै गुणका खानी र पुजनकारी
बिश्वको जुनै कुनामा पनि,सुरक्षित रहुन सबै नारी।

नारामा मात्रै होइन,आत्मसम्मानमा दुबै पुरुष र नारी
एक्काईसौ शताब्दिको इतिहास होइन,बर्तमानमा नारी
मधेसपहाड र हिमालमा सिमित होइन,बिश्वमानै नारी
अब संसारले नै चिनुन हरेक साहसी र सहनशील नेपाली नारी।

-नीलु झा खतिवडा
डेलावर यु एस ए