कोरोना खोप कार्यक्रमको असफल हुने जोखिम – डा. रवीन्द्र पाण्डे

डा. रबिन्द्र समिर

कोरोना खोप कार्यक्रम ब्यबस्थित गर्नु जरुरी छ | महामारीको समयमा खोपको सिद्धान्त पालना गरेनौं भने खोपको कुनै अर्थ हुँदैन |

नेपालमा हालसम्म कोभिशिल्डको खोपको आयात
भारतबाट उपहार – १० लाख डोज
भारतबाट किनेर ल्याएको – १० लाख डोज
कोभ्याक्सबाट आएको – ३ लाख ४८ हजार डोज
जम्मा आएको = २३ लाख ४८ हजार डोज
हिंजोसम्म खोप लिएका व्यक्ति = १५ लाख
१५ लाख व्यक्तिले खोप लिंदा १५ लाख डोज स्टकमा राख्नुपर्छ | दोस्रो डोज लगाउन नपाउने स्थिति भयो भने पहिलो डोज मात्र लगाएका व्यक्ति ३ महिनामात्र सुरक्षित हुनसक्छन् | दोस्रो मात्रा नपाएमा पहिलो मात्रा लगाएको अर्थ हुँदैन | सरकारले जति जनालाई खोप दिन्छ, त्यति नै मात्रा स्टकमा राख्नुपर्थ्यो |

हिंजोसम्मको तथ्यांक हेर्ने हो भने पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्रा लगाउनको लागि ६ लाख ५२ हजार डोज अपुग हुन्छ |

अहिले भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिएको छ | महाराष्ट्र, केरला, कर्नाटक, तामिलनाडु, पंजाब लगायतका राज्यमा कोरोना संक्रमण बढिरहेको छ | महाराष्ट्रमा मात्र दिनको १५ / १६ हजारको दरले संक्रमितको संख्या बढिरहेको छ | दिल्ली, गुजरात, मध्यप्रदेशदेखि नेपालसंग सिमाना जोडिएका राज्यमा पनि संक्रमितको संख्या पहिलेभन्दा बढ्ने गतिमा देखिन्छ |

भारत सरकारले ती राज्यमा सबैलाई खोप दिने तथा अब आफ्नो देशको अवस्था सुधार नभएसम्म खोप बाहिर नपठाउने भनेको छ | नेपालले किनेको बाँकी १० लाख डोज ल्याउन ठूलो पहल गर्नुपर्ने देखिन्छ | त्यस्तै ४ डलरको खोपलाई एजेन्ट नियुक्ति गरेर ६.५० डलरको दरले खोप किन्ने प्रयत्नले झन् ढिलाइ हुनसक्छ |

सरकारले चीनले दिने भनेको ८ लाख भेरो सेल भ्याक्सिन तुरुन्तै ल्याउन पहल गर्नुपर्छ | त्यतिमात्र हैन रुस र चीनसँग खोप किन्ने पहल गर्नुपर्ने देखिन्छ | कोभ्याक्स सुबिधाको खोप छिटो ल्याउने पहल गर्नु जरुरी छ |

अष्ट्रेलियाले किनेको एस्ट्रेजेनेकाको २ लाख ५० हजार मात्रा आफ्नो देशमा लैजाने क्रममा इटलीले जहाज रोकेको धेरै भएको छैन | युरोपमा महामारी ब्यापक भएकोले खोप बाहिर दिनुहुँदैन भन्ने मत बढेको छ | क्यानडा, अष्ट्रेलिया, जापान लगायतका देशमा पनि खोपको तिर्खा उस्तै छ |

सरकारले बिभिन्न कम्पनी र संस्थाबाट छिटो खोप ल्याउने तथा पहिलो डोज लगाएका हरेक व्यक्तिको दोस्रो डोज स्टोरमा सुरक्षित गर्ने सिद्धान्तमा चुक्यो भने खोप कार्यक्रम बालुवामा पानी हुनेछ | यस्तो संबेदनशील बिषयमा सरकार जिम्मेवार र परिपक्व हुनु अत्याबश्यक छ |