नेप्लिज तस्मानिया स्पोर्ट्स एसोसिएसन (NTSA ) गठन

८ मार्च, होबर्ट, अस्ट्रेलिया: अष्ट्रेलियाको तस्मानिया क्षेत्रमा बसोवास गर्ने नेपालीहरुको संख्या बढ्दो क्रममा रहेकोले नेपाली समुदायको हित तथा समृद्धिका लागि पछिल्लो समय तास्मानियामा विभिन्न कार्यक्रमसंगै नयाँ संघ संस्थाहरु संचालनमा आइरहेका छन् ।

यसै क्रममा नेपाली समुदायको खेल क्षेत्रको समृद्धिको लागि नेप्लिज तस्मानिया स्पोर्ट्स एसोसिएसन (NTSA ) गठन भएको छ प्रशेष पौड्यालको अध्यक्षतामा । संस्थाको उपाध्यक्षमा रविन भट्टराई, कोषाध्यक्षमा भोला श्रेष्ठ, सचिवमा सुरज श्रेष्ठ र सह-सचिवमा दीपिन बिम्ब चयन गरिएको छ । त्यस्तै, संस्थाको पब्लिक अफिसरमा विष्णु सापकोटा, सल्लाहकारमा देव बास्कोटा र सम्पादकमा राजेश कुँवर चयन गरिएको छ ।

संस्था स्थापनाबारे आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नवगठित कार्यसमितिका अध्यक्ष प्रोशेष पौडेलले यस क्षेत्रमा बसोवास गर्ने खेलप्रेमी नेपालीहरु तथा खेलाडीहरुका लागि नयाँ नयाँ अवसरहरु सिर्जना गर्दै नेपाली समुदायलाई खेल क्षेत्रमा अगाडी बढाउंदै जाने हेतुले संस्था स्थापना गरिएको बताए ।

त्यस्तै, संस्थाका पब्लिक अफिसर विष्णु सापकोटाले खेलले करियर तथा शारीरिक स्वास्थ्य मात्र नभई मानसिक स्वास्थ्यको लागि पनि अहम भूमिका खेल्ने हुनाले खेल मार्फत नेपाली समुदायको चौतर्फी विकासमा सहयोग पुर्याउन संस्थाको प्रयास रहने बताउँदै यस क्षेत्रमा रहेका खेल सम्बद्ध संस्था तथा क्लबहरुसंग भविष्यमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

संस्थाले Achieve your sports goal with NTSA भन्ने मूल नाराका साथ आफ्नो यात्रा प्रारम्भ गरेको छ । यो यात्रामा सबैको साथ र सहयोगको अपेक्षा रहेको पब्लिक अफिसर सापकोटाले बताए ।