चर्चित अभिनेत्री मोडल मलिका महत स्टारर म्युजिक भिडियो ‘ओर आउन माया’ सार्वजनिक

पछिल्लो समयकी चर्चित अभिनेत्री मोडल मलिका महत स्टारर म्युजिक भिडियो ‘ओर आउन माया’ सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले भिडियो रिलिज गर्यो ।

रिसाइरहेकी प्रेमिका फकाउन लागिपर्ने प्रेमीको कथा जोडिएको गीतको भिडियोमा मलिकासँग सोनाल तामाङले जोडी बाँधेका छन् । भिडियोमा सोनाल र मलिकाको केमेष्ट्रि राम्रो देखिन्छ । कलरफुल बनाइएको भिडियोलाई गोदावरी आसपास छायाँकन गरिएको छ ।

भिडियो सार्वजनिक कार्यक्रममा मलिकाले गीतको अडियो सुन्दा नै मनपरेको भन्दै अडियो उत्कृष्ट लागेको कारण भिडियोको लागी आफु तयार भएको धारणा राखिन् । सोनालले भित्री मेहनतकाबीच काम गरेको भन्दै दर्शकको साथ पाउने अपेक्षा पोखे । उनले पछिल्लो समयकी चर्चित मलिकासँग काम गर्न पाउँदा खुशी व्यक्त गरे ।

गीतमा स्वर निशान भट्टराई र एलिना चौहानको छ भने संगीत किरण माइकल घिमिरेले भरेका छन् । शब्द लेखनमा किरणलाई सुदिप आत्रेयले साथ दिएका छन् । एरेञ्जको काम शैलेन्द्र डि. प्रधानले गरेका छन् ।

भिडियोतर्फ निर्देशन लक्ष्मण सुनारको छ भने कोरियोग्राफी तुलसा पहाडीले गरेकी छिन् । अरोन असोककुमार सिकाले छायांकन गरेको भिडियोमा सम्पादन पदम सुवेदीको छ भने श्रृङ्गारमा निशुम सुब्बा र उनको टिम छ । भिडियोलाई रिता लामाले निर्माण गरेकी हुन् ।