प्रधानमन्त्री ओलीलाई ‘लुते’ र ‘काँतर’ भनेपछि…..

काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आफ्नै ज्यानमाथि खतरा रहेको भनेर भन्ने ‘लुते’ प्रधानमन्त्री नचाहिने बताए । मंगलबार नेपाली कांग्रेस सर्लाहीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हिजो पोखरामा प्रधानमन्त्रीले मेरो जीउ खतरामा रहेको महसुस भइरहेको छ भनेर भन्‍नु भएछ,’ थापाले भने, ‘प्रधानमन्त्री ओलीले आफ्नो ज्यान जोगाउने हैसियत छैन भनेर यस्ता लुते प्रधानमन्त्री किन चाहिन्छ ?’

थापाले प्रधानमन्त्री नै आफ्नो ज्यान जोगाउन सक्दैन भने जनताको ज्यान कसरी बचाउँछ भन्दै प्रश्‍न पनि गरेका छन् । ‘जुन देशमा प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन त्यो देशको प्रधानमन्त्रीले मेरो ज्यान जोगाइदिन्छ ?’ उनले भने, ‘काँतर प्रधानमन्त्रीले तपाइँको मेरो जीऊ ज्यानको सुरक्षा गर्न सक्दैन ।’

थापाले प्रतिनिधि सभा पुनःस्थापना गरेर सर्वाेच्चत अदालतले राम्रो निर्णय लिएको भन्दै अब परिक्षा निर्वाचन आयोगको भएको बताए । त्यस्तै प्रधानमन्त्री ओलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी प्रयोग भइरहेको थापाको आरोप छ । उनले भण्डारीले राष्ट्रपति पदको मर्यादा बिर्सेको पनि बताए ।