व्यङ्ग्य कविता: अचम्मको हल!

एउटामा राँगो अर्कोमा गोरु
भेटेनौ कि त जोत्नलाइ अरु ?

यस्तो अचम्म के देख्नु पऱ्यो !
के भयो अर्को बेच्यौ कि मऱ्यो ?

कहाँ गयो अर्को गोरु त्यो हलको ?
नसक्ने भो कि काम गर्न बलको ?

थल बस्यो कि गोरु त्यो अर्को ?
ल्यायौ कि राँगो फुकाइ घरको ?

एउटालाई काट्नी अर्कालाई पुज्नी
भयो कि राँगो त्यो कुरा बुझ्नी ?

तर्सियो कि कतै काट्छन् भनेर
आयो कि बच्न गोरु बनेर !

गोरु पो हो कि जोडा त्यो पिर्नी
हुल आफ्नो छोडी अर्कोमा छिर्नी !

हो कि पो कतै त्यस्तै गतिको
राँगो पो रोज्ने भैँसे मतीको ?

नारिए आज किन एक ठाउँ ?
दुई थरि नश्ल दुई थरि नाउँ !

बेग्लै छ शक्ति बेग्लै जिउडाल
मिल्ला त हिँड्दा खुट्टाको चाल?

एउटा तर्किन्छ हिलोमा पस्न
अर्को तम्सिन्छ त्यहीमाथि बस्न !

एउटा छ आहाल खेल्नी गरेको
अर्को छ सुख्खा भीरमा चरेको !

हिले र धूलेको के मिल्ला रथ ?
बेग्लै छ बानी बेग्लै छ पथ !

न मिल्छ बानी न मिल्छ बल
जोत्लान् कसरी नमिल्दो यो हल ?

जोत्दामा यस्ता होला कस्तो खेती ?
किसानै उस्ता बुझ्दैनन् त्यति !

हल गोरु जोत्दामा नभएको जोताइ
होला त कतै यो लीला देखाइ ?

-अर्जुन राज पन्त ;बाग्लुङ मुलपानी
(कवि पहिलो व्यङ्ग्यकाब्य ‘कोइली’का समेत लेखक हुन)