इन्स्टाको फोटो’मा रुचाइएका आसिफ शाह र रेश्मा घिमिरे फेरी अर्को गीतमा सँगै देखिदै

काली प्रसाद बाँस्कोटाको शब्द, सङ्गीत र आवाज रहेको गीत ‘इन्स्टाको फोटो’बाट पहिलोपटक एकसाथ जोडिएका कलाकारहरु हुन्, आसिफ शाह र रेश्मा घिमिरे । दर्शकले अत्याधिक माया दिएको ‘इन्स्टाको फोटो’मा ‘ट्युनिङ र केमेस्ट्री’ मिलेपछि उनीहरूको जोडी निकै मन पराइएको थियो । उक्त गीतको युट्युवमा १४ मिलियन भन्दा बढी भियुज रहेको छ । भिडियोमा बिछोडपछि प्रेमको सम्झना र त्यससँगै परिवारको बाध्यताको भूमरीमा परेको एक किशोरी र वियोगमा विदेशिएको एक किशोरको बाध्यतालाई चित्रण गरिएको थियो । दुःखान्त गीत पछि आसिफ र रेश्माले रमाइलो प्रकृतिको गीत ‘हेरन कान्छी’ मा पनि संगै काम गरिसकेका छन्। सो गीतलाई पनि दर्शकले रुचाएका थिए । र अब भने ‘इन्स्टाको फोटो’का जोडी आसिफ र रेश्मा पूनः अर्को गीतमा सँगै देखिदै छन् । यतिबेला आसिफ र रेश्मा फिचर्ड नयाँ गीत रिलिजको तयारीमा रहेको छ। रिकेश गुरुङको स्वर रहने गीतको अहिले छायांकन भैरहेको छ ।

नेपाली टेलिभिजन, संगीत र चलचित्रलाई माया गर्ने मानिसहरु र प्रशंसकले एक वा अर्को तरीकाले आसिफ शाहको नाम पक्कै सुनेको हुनुपर्छ । कार्यक्रम प्रस्तोता, निर्देशकको रुपमा होस् या अभिनय होस् आफुलाई प्रमाणित गरिसकेका बहुमुखी प्रतिभाका धनी कलाकार हुन्, आसिफ शाह। नेपाल आइटल सिजन –२ को कार्यक्रम संचालनबाट राम्रो तारिफ, सफलता र धेरै प्रशंसक हासिल गरेका शाह आफै पनि गायनमा रुचि राख्छन् । उनको स्वरमा रहेको गीत ‘बाटो बिराए’, ‘एउटा व्यथा’ गीत सुन्दर बनेको छ।

पछिल्लो समय टिकटक एउटा राम्रो प्लेटफर्म बनेको छ । टिकटकबाटै सर्वाधिक चर्चामा आएको नाम हो– रेश्मा घिमिरे । नर्सिङ जीवन बिताउँदै गरेकी विराटनगरकी घिमिरेले टिकटकमा अपलोड गरेको भिडियो प्रयोगकर्तामाझ लोकप्रिय भयो । उनका भिडियो खुब मन पराइयो । अन्ततः उनलाई ‘टिकटक क्विन’को नाम समेत दिइएको छ । टिकटकमा छाउनुअघि घिमिरेले केही चलचित्र र म्युजिक भिडियोमा काम गरेकी थिइन्, जुन कामको कतै चर्चा भएन । उनी ‘नोटिस’मा परिनन् । तर, टिकटकै कारण घिमिरे व्यस्त कलाकारको सूचीमा परेकी छन् । टिकटक बनाएर म्युजिक भिडियोसम्म आइपुगेकी रेश्मा अहिले म्युजिक भिडियोमा जमिरहेकी छन् । उनले केहिसमय अगाडि मात्र अमेरिकामा बसेर अध्ययन गरेका प्रभात बाबुसँग इन्गेजमेन्ट गरेकी छिन् ।