माझी बस्ती निर्माणबाट श्वेता खड्काले हात झिकिन्, मेयर भन्छन्: ऋणमा डुबेको छैन

काठमाडौं । नायिका श्वेता खड्काले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ मा निर्माणाधीन माझी बस्तीबाट हात झिकेकी छन् । श्वेताश्री फाउण्डेसनको अगुवाइमा नायिका श्वेताले ५३ घर माझीका लागि एकीकृत बस्ती बनाउने घोषणा गरेर २०७४ जेठ १५ बाट निर्माण सुरु गरेकी थिइन् । तर, हालसम्म सो बस्ती निर्माण सम्पन्न भइसकेको छैन ।

सोही समयमा बस्ती निर्माणमा जुटेका कलाकार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले चारवटा एकीकृत बस्ती निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरणपछि चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् । तर, नायिका श्वेताले थालेको माझी बस्ती निर्माण सम्पन्न भएको छैन । जसको चौतर्फी आलोचना भइरहेको छ ।

बस्ती निर्माण सम्पन्न गर्न नसकेकी उनले करोडौँ खर्चेर विवाह र पार्टी गरेको तथा एक क्लवमा भएको झगडामा उनको उपस्थिति रहेको समाचार सार्वजनिक भएपछि उनलाई झनै आलोचित बनाएको छ ।

त्यसमाथि धुर्मुस सुन्तलीको अभियानसँग आफूलाई दाँजेर माझी बस्ती निर्माणका लागि सहयोग आह्वान गरेपछि उनको अभियानबारे सबैको चासो र जिज्ञासा बढ्यो । तर, उनले सहयोग मागिरहँदा सो बस्ती निर्माणबाट उनले हात झिकिसकेको खुलेको छ ।