आज ओली पक्षको आमसभा, प्रचण्डलाई ओलीले यस्तो भने, हेर्नुहोस माघ २३ गतेका मुख्य समाचारहरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ । यसअघि प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि ओली समूहले आज प्रदर्शनसहित नारायणहिटी अगाडि आमसभा गर्न लागेको हो ।

यो समूहले शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं उतार्दै छ । आजको सभामा ३ लाख कार्यकर्ता उतार्ने दाबी ओली समूहका नेताले गरेका छन् । सभालाई कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रमको प्रचारका लागि युवा संगठनले बिहीबार साँझ काठमाडौंमा मार्चपाससमेत गरेको थियो । काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित निस्किनेछन् । त्यसपछि मध्याह्न १२ बजे नारायणहिटीमा आमसभा हुनेछ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हप्की दप्की नगर्न र कानुनको पालना गर्न आग्रह गरेका छन् । नेकपाको प्रचण्ड–माधव समूह नियम तोड्ने, धाकधक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिँडेको उल्लेख गर्दै उहाँले अब ‘कानून मान्दिनँ’भन्ने जमाना गएको टिप्पणी गरे ।

‘कानूनको पालना गर्नुहोस् हप्की दप्की गर्ने होइन । पालना गर्न सिक्नुहोस् कानुनको । लोकतन्त्र भनेको कानूनको राज हो । बलमिच्याँईंको राज होइन । प्रचण्डलाई म सम्झाउन चाहन्छु’ बिहीबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले यस्ताे भनेका हुन् । हेर्नुहोस माघ २३ गतेका मुख्य समाचारहरु :