प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन् प्रधानन्याधिश जवरा, संबैधानिक परिषदको बैठक रोकियो, हेर्नुहोस माघ २१ गते बुधबारका मुख्य समाचारहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान ११ बजे संवैधानिक परिषद्को बैठक बोलाएका थिए । पुनः बैठक सारेर बुधबार साँझ ५ बजे बस्ने भनिएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको असहमतिका कारण परिषद्को बैठक राख्ने प्रयास असफल भएको छ ।

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गरिएकै दिन गत पुस ५ गते संवैधानिक परिषद्ले विभिन्न ११ वटा संवैधानिक आयोगहरुमा ३८ जना पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो । सो सिफारिस संसदीय सुनुवाइका लागि संसद सचिवालयमा सोही दिन दर्ता भएको थियो । तर, सो पत्र सभामुख अग्नि सापकोटाले सोमबार परिषद्मै फिर्ता पठाइदिएपछि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक राख्ने प्रयास गरेका हुन्, जुन प्रयास सफल हुन सकेन । सभामुखले पत्र फिर्ता पठाएपछि प्रधानमन्त्री ओलीले त्यसलाई बेवास्ता गर्दै सुनुवाइको म्याद ४५ दिन गुज्रेकाले ३८ जनालाई नियुक्त गर्नु भनी राष्ट्रपतिसमक्ष सिफारिस पठाउन संवैधानिक परिषद्को बैठक डाकेको स्रोतले बतायो ।

तर, प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी मुद्दा चलिरहेका बेला सोही मुद्दाका पक्ष रहेका प्रधानमन्त्रीले बोलाएको बैठकमा उपस्थित हुन नमिल्ने जवाफ दिएका कारण परिषद्को बैठक स्थगित भएको स्रोतले बतायो । हेर्नुहोस माघ २१ गते बुधबारका मुख्य समाचारहरु :