झलनाथ खनालको ओलीप्रति आक्रोश भने : वास्तबमा त्यो मानिस भष्मासुर रहेछ ,प्रतिगामी रहेछ !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीलाई टेलिभिजनबाट पार्टी आधिकारिकताबारे नबोल्न चेतावनी दिएका छन्। शुक्रवार विराटनगरमा आयोजित आमसभामा सम्बोधन गर्दै खनालले पार्टी आधिकारिक कुन हो भनेर आफूहरुको आमसभा हेर्न ओलीलाई चेतावनी दिए।

‘यो देशको कम्युनिस्ट पार्टी कुन हो आएर हेर्नुस्। टेलिभिजनबाट फुकेर हुँदैन। सडकमा आएर हेर्नुस्। आधिकारिक नेकपा प्रचण्ड र नेपाल अध्यक्ष भएको नेकपा हो। केन्द्रीय कमिटीमा दुई तिहाई बहुमत छ। सचिवालयमा बहुमतमा छ। सबै प्रदेशका कमिटीमा बहुमत छ। जिल्लामा पनि बहुमतमा छौ,’ खनालले भने।

केपी ओलीले गरेको प्रतिगमनलाई जनताले नसहने उनको भनाइ छ। ओली कम्युनिस्ट पार्टीमा हुनु दर्भाग्य भएको खनालको टिप्पणी छ। समाजवादको यात्रामा ओलीले कुठाराघात गरेको उनको आरोप छ।

‘केपी ओली जस्तो मान्छे कम्युनिस्ट पार्टीमा जन्मियो। वास्तबमा त्यो मानिस भष्मासुर रहेछ। प्रतिगामी रहेछ। जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादमा जान्छ भन्ने हामीले अपेक्षा गरेका थियौं’, उनले भने, ‘अब हाम्रो देशबाट गरिबी उन्मुलुन हुनेछ भन्ने ठानेका थियौँ। हामी समृद्ध नेपाल निर्माण गर्ने थियौँ। ७० वर्षपछि बहुमतको सरकार निर्माण गरेका थियौँ।’

केही मानिसलाई ओलीले चोइट्याउन खोजिरहेको खनालको आरोप छ। तर, ओलीसँग त्यो ताकत नभएको उनको भनाइ छ।

‘केपीओलीसँग त्यो ताकत छैन। दल ऐन बनाएका छौँ। पार्टी कसैले फुटाउन सक्दैन। केन्द्रीय कमिटीमा ४० प्रतिशत नपुर्‍याई फुट्न सक्दैन,’ उनले भने।

नेकपा नफुटेको उनको दावी थियो। पार्टीबाट निस्कनेहरु लोभी भएको र पैसाका लागि बालुवाटार गएको उनको आरोप छ।

‘नेकपा जस्ताका तस्तै छ। रुखहरु पनि बुढो हुँदै गएपछि बोक्रा फ्याँक्दै जान्छ। बोक्रा फ्याँक्नु रुख ढल्नु होइन। जो पैसा र सत्ताका लोभी छन् उनीहरु पार्टीबाट निस्केर जादैछन्। उनीहरुसँग समृद्धिको कुनै सपना छैन,’ उनले आरोप लगाउँदै भने।

खनालले ओली ठग भएको आरोप लगाए। ओलीसँगै जेलमा बसेका नेताहरु इमान्दार भएपनि उनी भने बेइमान भएको खनालको आरोप छ।

‘केपी ओली ठग नम्बर एक हो। हामीसँग केपी ओलीसँगै जेलमै बसेका नेता हुनुहुन्छ। उनले जेलमा बस्दा पनि रामायण र महाभारत पढे। त्यसमा पनि सकुनीको बारेमा पढे। सकुनी केपी ओलीको रुपमा कम्युनिस्ट पार्टी छ। सकुनीबाट होसियार,’ उनले भने।