१७ नेपालीको शव लिन जाँदै नेपाल एयरलाइन्स मलेसियामा

काठमाडौं : नेपाल एयरलाइन्सले मलेसियाबाट १७ जना नेपालीको शव ल्याउने भएको छ । निगमको वाइडबडी विमान १७ जना नेपालीको शव ल्याउन शुक्रबार राति मलेसियाको क्वालालाम्पुर उड्ने छ ।

यसअघि, न्यारोबडी विमान उडान गर्दै आएको नेपाल एयरलाइन्सले शव ल्याउनकै लागि वाइनबडी विमान मलेसिया पठाउन लागेको हो ।

नेपाल एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन लागेको नेपाल वायुसेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।

“शव नेपाल ल्याउनकै लागि वाइडबडी जहाज पठाउँदैछौँ,” उनले भनिन्, “राष्ट्रिय ध्वजावाहक वायुसेवाका रुपमा हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत यो उडान गर्न लागेका हौँ ।”

मलेसियाबाट नेपाल आउने क्रममा विमानले यात्रु पनि ल्याउनेछ । शुक्रबार राति ११ बजे क्वालालाम्पुर उड्ने विमान शनिबार बिहान साढे ८ बजे काठमाडौं अवतरण गर्ने छ ।

निगमले यसअघि पनि यस्तै सामाजिक उत्तरदायित्वअन्तर्गत अफगानिस्तानबाट नेपालीको शव ल्याएको जनाएको छ ।