गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४०

विदेशमा मात्र ३ सय १९ जना नेपालीको निधन | नयाँ भाइरस बिरुद्ध फाइजरको खोप लगाउन सकिने | कुल परीक्षणमध्ये कम्तीमा १० % मा संक्रमण

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथअफ्रीकामा १ जनाको निधन भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो संगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय १९ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथअफ्रीका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ५४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६७ हजार ५६ जना छ भने २ लाख ६१ हजार ४४ जना अर्थात ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

नयाँ भाइरस बिरुद्ध फाइजरको खोप लगाउन सकिने
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप ( कोरोनाभाइरस भेरियन्ट) विरूद्ध अहिले बजारमा आएका खोपहरु प्रयोग गर्न सकिने भएको छ । स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेक लगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसको बिरूद्धमा प्रभावकारी हुने देखाएको हो ।

कुल परीक्षणमध्ये कम्तीमा १० % मा संक्रमण – नेपालमा कोरोना महामारी घट्दो क्रममा रहेको भएपनि स्वास्थ सावधानी आवश्यक रहेको स्वास्थ समितिले जनाएको छ । हाल दैनिक भैरहेका कुल परीक्षण गरेकामध्ये कम्तीमा १० % मा संक्रमण हुने गरेको पाइएको भन्दै समितिले जोखिम कम नभएको उल्लेख गरेको छ । परीक्षणको दायरा पनि घटेको अवस्थामा वास्तविक तथ्यांक के हो भन्न नसकिने समितिले बताएको छ ।समितिले मास्क, भौतिक दुरी र हात धुने लगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाएको छ ।

आत्महत्या रोकथाम सम्बन्धी विशेष भर्चुअल कार्यशाला- बैदेशिक रोजगारीमा रहेका नेपालीमा मनोरोग बढ्न थाले पछि संघ अन्तर्गतको वैदेशिक रोजगार र कल्याण विभागले आत्महत्या रोकथाम सम्बन्धी विशेष भर्चुअल कार्यशाला आयोजना गरेको छ । हालसम्म ३ कार्याशाला सम्पन्न भैसकेको छ । सो कार्यशालामा मनरोग विशेषज्ञ डा विजय ज्ञवाली र डा रंजन थापाले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
विशेषत: मध्यपुर्व, मलेसिया लगायत मुलुकका नेपालीले सहभागिता जनाएका थिए ।

चिरन शर्मा

प्रेस संयोजक, कोभिड १९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघ

१७ जनवरी, आइतवार, २०२१