ऐतिहासिक चलचित्र नालापानी…..

काठमाडौं १४ मंसीर । चलचित्र विकास बोर्डले चलचित्रले ऐतिहासिक नालापानीको युद्धको कथावस्तुलाई उजागर गरी राष्ट्रिय गौरव, राष्ट्रिय प्रेम तथा देशभक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार,प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका कारण ‘नालापानी’ लाई प्रदर्शन, प्रचार प्रसार लगायतका पाटोमा सहयोग उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र मार्फत आग्रह गरेको छ । रिमेश अधिकारी निर्देशित चलचित्र ‘नालापानी’ लाई विषेश चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन चलचित्र सम्बन्धित संघ संस्थाहरुले सरकारसँग अनुरोध गरेपश्चात बोर्डले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई एक पत्र मार्फत आग्रह गरेको हो ।

चलचित्रका निर्माता तथा निर्देशक रिमेश अधिकारीले शुक्रवार चलचित्र विकास बोर्डसहित ६ वटा संस्थाले गरेको सिफारिस पत्र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई बुझाएका थिए । राष्ट्रिय गौरवको कथामा चलचित्र निर्माण भएकोमा खुशी व्यक्त गर्दै मन्त्री गुरुङले मन्त्रालयबाट हुने सहयोग गर्ने आवश्वास दिएको जिर्देशक अधिकारी बताए । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण भएको नालापानीे चलचित्र सिनेमा हल खुलेपछि प्रदर्शनमा आउने बताइएको छ । रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रलाई बिजिबि इन्टरटेनमेन्ट र गंगा नारायण फिल्मसले सहकार्य गरेका छन् । यस सम्बन्धित बिज्ञहरुसंगको रायसल्लाह र नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ लगायतका पुस्तकहरूमा आधारित भएर यो चलचित्र निर्माण गरिएको निर्माणपक्षको दाबी छ ।

चलचित्रमा मनोज शाक्य निर्माता, घनेन्द्र थपलिया कार्यकारी निर्माताको रुपमा रहेका छन् भने सहनिर्मातामा पुजना प्रधान र गणेश कार्की छन् । चलचित्रमा सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, देशभक्त खनाल, अर्जुनजंग शाही, बिजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युग जंग कार्की, सिमन खड्का, सुशील खड्का, बाल कलाकार तेजस्वी अधिकारी, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलियाका साथै विदेशी कलाकारहरु एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन लगायतको अभिनय रहेको छ । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् भने रोशन श्रेष्ठको द्वन्द्व, रामशरण उप्रेतीको छायांकन र विपिन मल्लको सम्पादन रहेको छ । प्रोडक्सन डिजाइनर पुष्कर लामा ‘प्रेम बंजन’ भि.एफ.एक्स. अचुत गजुरेल र वसन्त घर्ती मगरको रहेको छ ।