मेरो कथा ! बा ले सबै भन्दा अग्लो अनी टुप्पो नभाचीयको बाँस काटेर ल्याउनुहुन्थ्यो बाँसघारी बाट ठुली एकादशीमा लिंगो गाड्ने भन्दै।

कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यसै संदर्भमा बेलायत मा बस्दै आउनु भएको चेली गायिका निरुषा भट्टराई ले मेरो कथा भनेर एउटा स्टाटस लेख्नु भएको छ ।

मेरो कथा !
बा ले सबै भन्दा अग्लो अनी टुप्पो नभाचीयको बाँस काटेर ल्याउनुहुन्थ्यो बाँसघारी बाट ठुली एकादशीमा लिंगो गाड्ने भन्दै। लिंगोलाई हामी केटाकोटीले रातोमाटो र कमेरो माटोले रातो-सेतो टाटेपाटे पारेर रंगाउथ्यौं । गाँउमा सबै भन्दा अग्लो कस्को लिंगो छ भनेर केटोकेटीमा प्रतिस्पर्धा हुन्थ्यो।

तुलसीको मठ पनी लपक्क पहेंलो माटोले लिपेर आकर्सक बनाईन्थ्यो! वरीपरीको झार उखेलेर सफा बनाईन्थ्यो! पहेंलै सयपत्री फुलका माला उनिन्थ्यो ! बत्ती बाल्न केराको मचेटा कटीन्थ्यो। भर्खर सुन्तलाको मौसम शुरु हुनेभयकोले सुन्तलाको अत्यधिक बास्ना आउँथ्यो , कैले पुजा सकीयला र खान पाईयला जस्तो हुन्थ्यो! बाँसको लिंगोमा बा ले ध्वजा-पताका रातो पहेलो कपडाको बनाउनुहुन्थ्यो,त्यो सुतीको नया कपडा पनी मँग बसाउँथ्यो।

बाँसको टुप्पोमा ध्वजा सँगै दुईवटा सुन्तला पनी झुन्ड्याउनुहुन्थ्यो बाले! हामी केटाकेटी त्यो टीपेर खान नसक्ने हुनाले त्यसै सुन्तला खेर गयो जस्तो लाग्थ्यो! साँझ परे पछी तुलसी बिवाह शुरु हुन्थ्यो झलमल्ल चारैतिर आमाले कातेका कपासका बत्ती बालीन्थ्यो! बाले धुप गर्नुहुन्थ्यो मंग बसाउथ्यो धिउ र चिनीको धुप! कोईला लिन दगुर्ने काम सबै भन्दा सानी भयकाले मेरै हुन्थ्यो! भान्सामा फलार शखरखण्ड उसीनेको मंग बसाउँथ्यो ।

पाकेको फर्सी पनी उसीन्नुहुन्थ्यो तर हामी केटाकेटीलाई मन पर्दैनथ्यो! सबै कुरा कती आनन्ददायी थियो। कती अमुल्य थियो त्यो समय! कता गयो त्यो सबै बासना ?? कता जानुभयो मेरो बा!??