न्यूयोर्कमा नेपालका राजदूतमाथि छुरा प्रहार हुँदा अमेरिकाका बिदेशमन्त्रीद्धारा क्षमा याचना

सोनिशा थापा, अमेरिका
१७ सेप्टेम्बर, १९५७ मा अमेरिकाको न्यूयोर्क शहरमा संयुक्त राष्ट्रसंघका लागि तात्कालिन नेपाली राजदूत हृषिकेश शाहमाथि छुरा प्रहार भयो । अमेरिकाका बिदेश मन्त्री जोन फोस्टर डलेस वासिङ्टनबाट न्यूयोर्क ओर्लिएर अस्पतालको शैय्यामा भेट्न मात्रै पुगेनन, अमेरिकी सरकारद्धारा सुरक्षा प्रदान गर्न नसकेकोमा अमेरिकाको संघीय सरकारका तर्फबाट क्षमा याचना गरे । त्यत्ति मात्रै नभएर राष्ट्रसंघका लागि अमेरिकी राजदूतले राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै सबैका सामुन्ने उक्त घटनाप्रति खेद प्रकट गरे ।

घटना भएको दिन बेलुकीपख उनी सधैं झैँ डेरा नजिकै रहेको न्यूयोर्क म्यानहटनको सेन्ट्रल पार्कमा टहलिन निस्किएका थिए । त्यतिबेला दुई जना काला जातीका आएर उनीसंग चुरोट मागे । उनले चुरोट दिनका लागि चुरोटको बट्टा निकाले, तर बट्टा खाली रहेको त्यसमा चुरोट नदेखेपछि उनीहरुले उनको छातीमा छुरा प्रहार गरे र उनको पर्सबाट ९५ अमेरिकी डलर र हातको घडी समेत लुटेर लगे । छुरा प्रहारबाट रगताम्य हुने गरि उनी घाईते भए । नजिकै फिफ्थ एभिन्युमा रहेको डेरासम्म जसोतसो उनी हिँडेरै पुगे र त्यहाँबाट उनलाई परिवारले न्युयोर्क अस्पतालमा भर्ना गरे । ३३ बर्षिय राजदूतको अवस्था सामान्य नै थियो र उनी खतरामुक्त थिए ।

त्यतिबेला प्रकाशित हुने अमेरिकी अखबारहरुमा न्यूयोर्कमा नेपाली राजदूतमाथि लुटपाट र छुरी प्रहार, कुटनीतिज्ञमाथि आक्रमण , राजदूत लुटिए, राजदूतमाथि छुरी प्रहार लगायतका शिर्षकमा खबरहरु छापिए । राजदूत शाहले त्यस घटनालाई एउटा दु:खद दुर्घटनाका रुपमा मात्र लिएको र यस्तो घटना जहाँ तहीं जो कोहीमाथि पनि घट्न सक्छ, आफ्नै देशको राजधानीमा समेत हुन सक्छ भनी बयान दिए । त्यस घटनाले संसारभर चर्चा परिचर्चा पायो । संयुक्त राष्ट्रसंघको मुख्यालय रहेको न्यूयोर्कमा त्यतिबेला बाह्रौं बार्षिक महासभाका लागि विश्वभरका नेता, कुटनीतिज्ञ, पत्रकार लगायतका प्रतिनिधिहरु संसारभरबाट जम्मा भएका थिए । त्यति नै बेला न्यूयोर्कमा यसरी एउटा कुटनीतिज्ञमाथिको आक्रमण सामान्य थिएन । यसले न्यूयोर्कको समग्र सुरक्षा ब्यबस्थामाथि नै प्रश्न खडा गर्यो । त्यस घटनामा अमेरिकी सरकार ज्यादै गम्भीर रुपमा प्रस्तुत भयो । अमेरिकाको स्थानीय, प्रान्तिय र संघीय सरकारले समेत गम्भीरता देखायो । केही सोभियत युनियन खेमाका अखबार र रेडियोहरुले त्यस घटनालाई रंङ्गभेदको घटनासंग समेत जोडे । त्यस्तै तिनले न्यूयोर्क लुटेराहरुको शहर हो र त्यो बस्नका लागि सुरक्षित छैन भन्ने किसिमबाट पनि खबरहरु चलाए ।

अमेरिकी बिदेश मन्त्रालयले अघिल्लो दिन टेलिग्राम नै पठाईसकेको भए पनि अर्को दिन १९ सेप्टेम्बरमा घटना भएको दुई दिन पछि त्यहाँका तात्कालिन बिदेश मन्त्री जोन फोस्टर डलेस वासिङ्टनबाट न्यूयोर्क उत्रिए । डलेस घाईते शाह उपचाररत अस्पतालको शैय्यामा नै पुगेर उनीसंग भेट गरे । उनले घटनाप्रति अफसोच जनाउँदै राजदूतलाई सुरक्षा प्रदान गर्न आफूहरु चुकेकोमा क्षमायाचना माग्दै शीघ्र स्वास्थ्यलाभको कामना गरे । आफूलाई भेट्न आएका डलेसले शाहलाई कस्तो छ भनी गरेको प्रश्नमा उनले आफ्नो छातीमा बाँधिएको सेतो पट्टि देखाउँदै आफूलाई अंझै केही दु:खाई र पीडा रहेको बताएका थिए ।

पीडित राजदूत शाहसंग त्यहाँका स्थानिय प्रहरीका जासूसले उनीहरुको हुलियाबारे जानकारी लिए साथै उनलाई हमला गरिएको स्थान देखाउन समेत अनुरोध गरे । शाहले देखाएको स्थान र हुलियाका आधारमा प्रहरीले त्यहीँका ब्रुकलिन निवासी दुई जना हब्सीहरु पहिचान गरे । सेप्टेम्बर ३० का दिन उनीहरुलाई स्थानीय प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लियो । पक्राउ पर्नेमध्ये एकजना ४२ बर्षे लरेन्स जोन्स र अर्को २८ बर्षिय रोबर्ट बिम्बर्ग नामक ब्यक्तिहरु थिए । उनीहरुको साथबाट शाहको चुरोटको बट्टा बरामद भएको जनाएको थियो प्रहरीले ।

१७ सेप्टेम्बरका राती अस्पतालमा भर्ना भएका शाह ०२ अक्टोबरमा अस्पतालबाट डिस्चार्ज हुनासाथ सिधै संयुक्त राष्ट्रसंघ मुख्यालमा नेपालका तर्फबाट सम्बोधन गर्न गएका थिए ।

त्यतिबेला अमेरिका सरकारले नै यत्ति उच्च स्तरबाट चासो देखाउने किसिमको नेपालको हैसियत थियो भन्ने देखाउँछ यो घटनाले जुन अहिले छैन ।

[सोनिशा थापाको फेसबुकमा राखिएको सामग्रीलाई पाठकहरुका लागि पठनिय हुने ठानी केही संपादन सहित प्रकाशित – संपादक]