बिश्वका १०० जनामा परिन बेबारिसे लास जलाउने सपना

सात महिनाअघि काठमाडौं छिर्दा सपना रोकालाई न बेवारिसे शवबारे थाहा थियो, न बेवारिसे शव कहाँ व्यवस्थापन गरिन्छ भन्ने नै हेक्का थियो ।

बाटो अल्मलिएकी सपनाको जब समाजसेवी दीपकजंग बस्नेतसँग भेट भयो, उनको बाटो मोडियो । कुनै समय आफैं बेवारिसे भएर हिँडेकी १९ वर्षीया सपनाले आज नयाँ बाटो फेला पारिन् – बेवारिसे शवलाई पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने ।

बेवारिसे शवलाई दाहसंस्कार गर्दागर्दै आफ्नो जीवनको मूल्य र खुशी पनि सपनाले त्यहीँ भेटिन् । बेवारिसे हरेक शव उनलाई आफन्तकै जस्ता लाग्न थाले । अझ कतिपय त आफ्नै जस्ता । कति शवहरुलाई उनले आँशु पुछ्दै दागबत्ती दिइन् ।