आमाको किरिया वसेका निष्ठावान छोरीहरु : हरेक छोरी जन्माउनेहरूको निम्ति यो गौरवपूर्ण सन्देश हो !

साहित्यकार कृष्ण धरावासी,
पूर्वमन्त्री वीरमणी ढकालकी पत्नी लक्ष्मी ढकालको कात्तिक ६ गते काठमाडौंको हेम्स अस्पतालमा निधन भयो । अहिले स्वर्गीय आमाको किरियामा छोरीहरु वसेका छन्, जसको सर्वत्र प्रशंसा भएको छ ।

आमाको किरिया गरेर वसेका छोरीहरुको तस्विर पूर्वमन्त्री ढकालले सार्वजनिक गरेका थिए । तस्विर सार्वजनिक गर्दै ढकालले लेखेका थिए – मेरा छोरीहरु आमाको दशगात्र कर्म गर्न बसेका छन। उनीहरुकी आमा (मेरी धर्मपत्नी) लक्ष्मी ढकालले अस्ति कार्तिक ६ गते काठमाडौंको हेम्स अस्पतालमा प्राण त्याग गरिन ।उनको दशगात्रको काम गर्न शनिश्चरे घरमै बसेका छौं। छोरीहरुको साहस, निष्ठा र ईच्छाशक्ति देखेर म गौरवान्वित हुन पाएको छु।

साहित्यकार कृष्ण धरावासीले समेत सो तस्विरलाई फेसवुकमा सेयर गरेका छन् । साहित्यकार धरावासीले लेखेका छन्, – हरेक छोरी जन्माउनेहरूको निम्ति यो गौरवपूर्ण सन्देश हो । छोरीहरूलाई उच्च सम्मान ।

पत्रकार तथा सञ्चारिका समुहकी पूर्व अध्यक्ष निर्मला शर्माले पनि पल्लवी ढकालको फेसवुक स्टाटस सहित ती तस्विरहरुलाई सेयर गरेकी छिन् । पत्रकार शर्माले लेखेकी छिन् – समाजमा छोरीलाई गरिने बिभेदको बिरोध स्वरुप गरिएको यो कामको सबैको सहयोग हुनु जरुरी छ ।

पल्लवी ढकालले आफ्नो स्टाटसमा लेखेकी छिन् – आमा गुमाउनुको शोक एक ठाउँमा र छोरी (त्यो पनि विवाहित) भएर आफ्नो आमाको दाह संस्कार गर्न खोज्दा, गाउँमा छलफल र विवाद हुनुको दुःख अर्को ठाउँमा । बुझ्ने र साथ दिनेहरु पनि पाँयौ। तर हाम्रो हिन्दु संस्कृतिमा छोरा र छोरीको भेद गहिरो छ । यस्तै साना प्रयासहरु गर्दै पक्षपाती समाज र संस्कृति बदल्न जरुरी छ र यसको सबैले साथ र समर्थन गर्न पनि आवश्यक छ । म आज त्यहाँ नभए पनि मेरा दिदिबहिनीहरुले यो महत्त्वपूर्ण काम पूरा गर्दै छन् । – इनेप्लिज