चलचित्र क्षेत्रको समस्या बुझ्न तथा संस्थागत अवलोकनका लागि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री पार्वत गुरुङ चलचित्र विकास बोर्डको कार्यालयमा

प्रेस विज्ञप्ती

काठमाडौं । चलचित्र क्षेत्रको बास्तविक समस्या अहिलेको अवस्था बुझ्न माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले चलचित्र विकास बोर्डको अनुगमन गर्नुभएको छ । आज मिति २०७७ कार्तिक २८ गते शुक्रबारका दिन सञ्चार तथा सूचना प्रविधि मन्त्री सहित मन्त्रालयका सचिव र तीन सहसचिवहरु लगायतको टोलीले चाबहिलस्थित चलचित्र विकास बोर्डको अनुगमन गर्नुभएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, सदस्य सचिव महेन्द्रप्रसाद साँखी, सदस्य नरेद्र महर्जन लगायतले मन्त्री गुरुङ्गको स्वागत गर्नुभएको थियो ।

बोर्डको अनुगमनमा पुग्नुभएको मन्त्री गुरुङ्गले बोर्डको नवनिर्मित नवरस सभा कक्षको उद्घाटन गर्नुभएको छ । बोर्डले बैठक, तालीम र चलचित्र अवलोकन समेत गर्नको लागि साउण्ड प्रुफ गरी ५.१ सराउण्ड साउण्ड सिस्टम, पब्लिक एड्रेसका सामाग्रीहरु सहितको अत्याधुनिक नयाँ नवरस सभा कक्षको निर्माण गरेको हो । उद्घाटनपछि बोर्डले आफ्नो स्थापना, उद्देश्य र अहिलेका रणनीतिहरुको बारेमा जानकारी गराएको छ । सदस्य सचिव साँखीले प्रस्तुत गरेको प्रस्तुतिमा बोर्डको अहिलेसम्मको अवस्थाको बारेमा ब्रिफिङ्ग गर्नुभएको थियो । यस्तै बोर्डका अध्यक्ष दाहालले कोरोना प्रभावका कारण चलचित्र क्षेत्र शुन्य अवस्थामा रहेको प्रष्ट पार्नुभएको छ । चलचित्र क्षेत्र शुन्य अवस्थामा हुदाँ हजारौं चलचित्रकर्मीहरु बेरोजगार हुनुपरेको भन्दै चलचित्र क्षेत्रलाई विशेष प्याकेज सहित तत्काल सुचारु गर्नुपर्ने हुँदा यसको लागि आवश्यक सहयोग गर्न मन्त्री गुरुङ्ग समक्ष अनुरोध गर्नुभएको छ ।

विदेशी चलचित्रको प्रदर्शनबाट उठ्ने चलचित्र विकास शुल्कबाट नेपाली फिल्मको प्रवद्र्धन र विकास गर्न समस्याहरु देखिएकोले बोर्डको लागि छुट्टै बजेटको व्यवस्था गरिदिन अध्यक्ष दाहालले मन्त्री समक्ष अनुरोध गर्नुभएको छ । नेपाली चलचित्र क्षेत्रको प्रचार प्रसारका लागि विभिन्न देशमा अवैतनिक चलचित्र प्रतिनिधि नियुक्ति गर्नुपर्ने आवश्यकता देखिएको हुँदा मन्त्रालयले सबै प्रक्रिया पुरा गरी तत्काल नियुक्ती गर्न सहज वातावरण सिर्जना गरिदिन समेत अध्यक्ष दाहालले अनुरोध गर्नुभएको छ । चलचित्र विधेयक पास नहुँदा चलचित्र विकास बोर्डले नीति तथा योजनाहरु कार्यान्वयन गर्न कठिनाई भएकोले तत्काल चलचित्र विधेयक पास हुनुपर्ने बोर्डको धारणा रहेको अध्यक्ष दाहालले बताउनु भएको ।

छायाङ्कनका लागि नेपाल, सबै प्रदेशमा छायाङ्कनस्थल, समाजिक सुरक्षा कोष मोडालिटी अन्तर्गत श्रमजीवि चलचित्रकर्मीलाई व्यवस्थापनलगायतका योजनाहरु अघि बढेको पनि अध्यक्ष दाहालले जानकारी दिनुभएको छ । मौलिक नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा लाने र प्रचार प्रसार गर्नुपर्ने हुँदा त्यसको लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्नुपर्ने बोर्डले जनाएको छ । बक्स अफिसको पूर्ण कार्यान्वयन गरी राज्यको आम्दानीमा समेत वृद्धि गर्नेगरी बोर्डले आन्तरिक तयारी थालेको समेत अध्यक्ष दाहालले बताउनु भयो । चलचित्र प्रदर्शन नभएसम्म नयाँ चलचित्र निर्माण नहुने र निर्माण नभएसम्म हजरौंको रोजिरोटी गुम्ने हुँदा आवश्यक मापदण्डसहित तत्काल हल खोली चलचित्र क्षेत्रलाई पूर्ण चलायमान गर्नुपर्ने समेत अध्यक्ष दाहालले मन्त्रीज्यू समक्ष जोडदार माग गर्नुभयो । मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले चलचित्र बिकास बोर्डले धेरै परिवर्तनहरु गरेको बाताउँदै वस्तुस्थितिमा देखिएका समस्याहरु मन्त्रालयको तर्फबाट समन्वय गर्दै समाधान गरिने बताउनु भएको छ । बोर्डको सबै समस्या र बस्तुस्थिति बारे जानकारी पछि मन्त्री गुरुङले छिट्टै चलचित्रले पनि कोल्टे फेर्ने दाबी गर्नुभएको छ ।

बोर्डको बारेमा ब्रिफ लिँदै मन्त्री गुरुङले समस्याहरुको पहिचान गरी क्रमशः रुपमा समाधान गर्दै जाने बताउनु भयो । समाजको यथार्थलाई प्रस्तुत गर्ने चलचित्र क्षेत्र सबैको नजरमा परेको क्षेत्र भएको कारण यसको विकासको लागि कुनै ढिलासुस्ती नगर्ने बताउनु भयो । नेपाललाई फिल्म सुटिङ्गको लागि केन्द्र र आकर्षण बानाउने गरी काम गर्न मन्त्री गुरुङ्गले बोर्डलाई निर्देशन दिनुभएको छ । कोरोना भाइरसको जोखिम अन्तर्राष्ट्रियस्तरमै हाबी भईरहेकोले यसको प्रभाव नेपाल र फिल्म क्षेत्रमा पनि भएको जिकीर गर्दै यथाशक्य यसको सम्बोधन गरिने र चलचित्र क्षेत्र चलायमान हुने मन्त्री गुरुङ्गले बताउनु भएको छ । मौलिक चलचित्रलाई प्रोत्साहन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचार प्रसार गर्न समेत मन्त्री गुरुङ्गले निर्देशन दिनुभएको छ । कलाकार र चलचित्र क्षेत्रबाट पनि नेपाललाई समृद्व बनाउन आवश्यक रहेकोले यसलाई सँगसँगै लिएर जानुपर्ने आजको आवश्यकता हो । यस्लाई मध्यनजर गर्दै बोर्डको लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेकोले कतिपनि बिच्चलित नभई काम गर्न बोर्डलाई निर्देशन दिनुभयो । बोर्ड र चलचित्र क्षेत्रको बारेमा बुझ्न आएको र समस्याको बारेमा बुझेर यसको क्रमशः समाधानका लागि सरकार सदैव तयार रहेको समेत मन्त्री गुरुङ्गले बताउनु भएको छ ।

(चिरञ्जीवी गुरागाईं)
चलचित्र संग्रहालय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत