महिनादिन लामो राष्ट्रव्यापी लकडाउन घोषणा हुंदै बेलायतमा

प्रधानमन्त्री जोन्सनले सोमबार लकडाउन घोषणा गर्ने

लन्डन । कोरोना भाइरस संक्रमणदर वृद्धि हुंदै गएपछि बेलायत सरकारले इंग्ल्याण्डमा एक महिना लामो राष्ट्रव्यापी लकडाउन घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमस अघि खुकुलो गर्ने गरि सोमबार दोश्रो राष्ट्रिय लकडाउन घोषणा गर्ने तयारी गरेको बीबीसीले जनाएको छ ।

‘घरैमा बस्न’ निर्देशन दिइने उक्त घोषणा सोमबार हुने तर स्कुल, कलेज र विश्वविद्यालयमा नयां नियम लागू नहुने जनाइएको छ ।

बीबीसीले प्राप्त गरेको एक दस्तावेजमा थप प्रतिवन्ध लागू नगरिए यहां अघिल्लोपटक भन्दा बढी मानिसको मृत्यु हुने सुझाइएको छ । उक्त दस्तावेजमा दैनिक मृत्युदर ४ हजार बढी हुने उल्लेख छ ।

पहिलो पटक बेलायतमा दैनिक एकहजारसम्म मानिसको मृत्यु भएको थियो । बेल्जियम, फ्रान्स र जर्मनीमा लकडाउन घोषणा भएपछि युरोपमा सबैभन्दा प्रभावित ब्रिटेनले संक्रमण नियन्त्रणको लकडाउन विकल्प रोज्न लागेको हो ।

सरकारको प्यान्डामिक मोडलिङ ग्रुप ‘एसपीआइ एम’ ले तयार पारेको दस्तावेज प्रधानमन्त्रीले हेरिसकेका बताइएको छ । मध्य डिसेम्बरसम्म अस्पतालमा विरामीको चाप र मृत्युदर उत्कर्षमा पुग्ने र यो क्रम कम्तीमा डिसेम्बर अन्त्यसम्म रहने दस्तावेजको अनुमान छ ।

बैज्ञानिक सल्लाहकारहरुको समूह सेज ग्रुपले जाडो यामका बेला कम्तीमा ८५ हजार मानिस मर्न सक्ने अनुमान गरिरहंदा नयां तथ्य आएको हो ।

नेपालीलिकं बाट साभार :