प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारी को टीका सम्पन्न

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए ।

सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइ दिएकी थिइन् ।

यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन्। प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन् ।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन ।

सोमबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ ।

दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।