सात ओटा सात मार्फत अर्थ मन्त्रीलाई पत्र: नयाँ अर्थ मन्त्री, कामरेड विष्णु पौडेल ज्यू, बालुवाटार, काठमाण्डौ, नेपाल

नयाँ अर्थ मन्त्री पौडेलज्यू लाई उहाँको कार्यकालको दशौं दिनमा आज २०७७ साल ७ महिना ७ गते, मात्र मेरा ७ प्रश्नहरू, अन्तिम ७ औं पत्र का साथ सात बुँदाहरू (२०७७_०७_०७_०७_०७_०७) यसप्रकार लेख्दछु:

नयाँ अर्थ मन्त्री,
कामरेड विष्णु पौडेल ज्यू,
बालुवाटार, काठमाण्डौ, नेपाल

विषय: सरकारी अस्पतालमा उपचार सुविधा वृद्धि गर्नको लागी बजेट निकासा बारे ।

कामरेड पौडेल ज्यू,
सर्वप्रथम म “पत्र १ देखि ६” सम्मका मेरा सामान्य ती प्रश्नहरू पुन: यहाँ दोहोर्याउन चाहन्छु, ती प्रश्नहरू थिए: सरकारी अस्पतालमा सयौ भेन्टिलेटर र आइसियु बेडहरुको सुविधा वृद्धि गर्दा:

क) तपाईंलाई कुनै नोक्सान हुन्छ ?
ख) तपाईंका सन्तानलाई कुनै नोक्सान हुन्छ ?
ग) तपाईंको बुटवल निर्वाचन क्षेत्रमा कुनै नोक्सान हुन्छ ?
घ) तपाईंको पार्टीलाई कुनै नोक्सान हुन्छ ?
ङ्) तपाईंका कार्यकर्तालाई कुनै नोक्सान हुन्छ ?
च) तपाईंका साधारण भोटरहरुलाई कुनै नोक्सान हुन्छ ?
छ) देश र जनतालाई कुनै नोक्सान हुन्छ ?

यो अन्तिम सातौं पत्रमा अन्तिम केही तीतो सत्य लेख्न चाहन्छु। फेरि अनुमति दिनुहोस् कामरेड ।

१. कोरोनाले देश अझै डुबेपछि, धेरै भन्दा धेरै विदेशी सहयोग तथा ऋण आउँछ, त्यो हामीलाई पनि थाहा छ । अर्थमन्त्री पौडेल ज्यू, यही मौका कुरिरहेको हो तपाईंले पनि ? यहाँले सपथ ग्रहण गरेको आज दशौं दिन विती सके ! खोइ के निर्यण गर्दै हुनुहुन्छ ? बजेट निकासा गरेको खोइ ? राज्यमा उठेको करको पैशाबाट नै छिटो निर्यण गर्नुहोस्, हामी पर्खिरहेका छौं । गत चैत्र महिना देखि अस्ति आठ दिन अगाडि (२० अर्ब: अर्थ मन्त्री ज्यु को पहिलो हस्ताक्षर) सम्ममा एक खर्ब (१००,०००,०००,०००) भन्दा बढी सहयोग तथा ऋण नेपालले लिएको छ । के त्यो हामीलाई थाहा छैन ? अझ कोरोना कोषमा जम्मा भएको स्वैच्छिक अरबौं रुपियाँको लेखा जोखा समेत छैन । त्यो जेसुकै गर्नुहोस ।

२. स्वास्थ क्षेत्रको विदेशी सहयोग तथा ऋण को पैशाबाट आएको एक खर्ब रुपैयाँबाट, एक रुपियाँ पनि सरकारी अस्पतालमा भेन्टिलेटर, आइसियु बेडहरु तथा सुविधाजनक आइसोलेशन बेडहरुको लागि बजेट निकासा गरेको थिएन “एशियाको विद्वान अर्थ मन्त्री” डा युवराज खतिवडाले ! “एशियाको विद्वान अर्थमन्त्री” भन्ने उपाधि नेकपाको केन्द्रीय सदस्यले दिएका हुन् मैले होइन । जसलाई तपाईंको पार्टीले काधमा राखेर यतिका वर्ष मन्त्री बनाउनु भयो तर किन ? पैशा गन्न, पढ्न र झिक्न अरु कामरेडलाई आउँदैन ? जनताको माग छिटो सम्बोधन गरेर ति एशियाली विद्वान लाई देखाइदिने सुवर्ण मौका आएको छ । देखानुहोस् ।

३. तर खतिवडाले करिब तीन अर्ब रुपैयाँ, गाडी र फर्नीचर खर्च भनेर बजेट निकासा गरेको थियो । अझ अपुग भएको थियो, त्यो पनि मलाई जानकारी प्राप्त भएको छ । किन अपुग भएको रहेछ, नयाँ अर्थमन्त्री विष्णु पौडेल कामरेड ज्यु ? के यो नौं महिनाको समय, फजुल खर्चको लागि तीन अर्ब भन्दा बढी बजेट निकासा गर्नु उपयुक्त समय थियो सरकारको लागि ?

४. यसरी आएको ऋण तथा अनुदानको वार्षिक खर्ब रुपैयाँ कस_कसले, कहाँ_कहाँ खर्च गर्छ ? त्यसको हिसाब किताब कहिले पनि भएको थिएन र हिसाब हुने छैन आगामी थुप्रै वर्षहरू सम्म । कसले गर्ने ? हिसाब गर्नेहरू नै यो प्रकारको पैसामा मोज गरिरहेका थिए र गर्ने छन् । के तपाईं स्वयम त्यही गरिराख्ने अहिले पनि ?

५. कोरोनाले जति धेरै देश डुब्छ, त्यति धेरै अर्ब रुपैयाँ सहयोग र ऋण आउँछ विदेशबाट । तर केका लागि आएको छ ? नेपाल राज्यले त्यही मौका खोजिरहेको थियो र छ अहिले पनि ? तल देखि माथिसम्म राज्यको संयन्त्रले यही गरिरहेको छ होइन र? सामान्य रूपमा हेर्दा, हामीलाई, होइन होला जस्तो पनि लाग्छ, यो कुरा । यो कुरा बैशाख महिनामा मै मैले लेखिसकेको पनि छु कामरेड ज्यु । के समयले यही कुरा प्रमाणित गरिरहेको छैन ? छैन भने छिटो निर्यण गरेर देखाउनु पर्छ । गत चैत्र महिना पछि नेपालले स्वास्थ क्षेत्रको लागि पनि सहयोग तथा ऋण दुवै लिएको छ । तर सरकारी अस्पतालमा उपचार सुविधा वृद्धि गर्नको लागी एक रुपियाँ पनि बजेट निकासा गरेन खतिवडाले किन ? कहाँ गयो त्यो पैशा ? स्पष्ट पार्नु पर्ने आवश्यकता होइन अहिले ?

६. अझ खतिवडालाई त मानवता बिरुद्दको अपराधमा कारबाही गर्नु पर्ने आवश्यकता भईसकेको छ, पौडेल कामरेड ज्यु । कारबाही त अवश्य हुन्छ, तर कहिले र कसले गर्ने भन्ने कुरा मात्र अझै निश्चित भएको छैन । तपाईं आफू बच्ने उपायको लागि पनि छिटो निर्यण गर्नुहोस् ।
कारबाहीको दिन अवश्य आउँछ । ल्याउनु पर्छ हामीले । विश्व महामारीमा नेपाली जनताको घाँटी रेटेर रगत पिउने खतिवडा मण्डलीलाई जनताले छोड्ने कुरा हुँदैन । छोड्दैन । तपाईं आफूलाई बचाउनु होस् ।

७. नयाँ अर्थमन्त्री कामरेड विष्णु पौडेल, तपाईं यो कुराबाट माथि निस्केर, सरकारी अस्पतालहरुमा तुरुन्त सुविधाहरु थप्ने काम गर्नुस्, बजेट निकासा गर्नुस । यो वर्षको सांसद विकास कोषको दशौं अर्ब रुपियाँ अस्पतालमा उपचार सुविधा वृद्धि गर्नको लागी खर्च गर्नुस । अरु विकास निर्माणका कुरा यो वर्ष हुँदैन, यत्तिकै थाहा भएको कुरा हो ।

आगे यहाँको मर्जी । निकट भविष्यमा हुने जन कारबाहीबाट बच्नु होला । शुभकामना ।
अस्तु।
ए पोख्रेल ।