महाप्रबन्धक राईको चमत्कारीक निर्णय

काठमाडौं । सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले कोरोना महामारीका बीचमा पनि चमत्कारीक निर्णय गर्दै संस्थानलाई वार्षिक करोड रुपैयाँको फाइदा दिलाएका छन् । सांस्कृतिक संस्थानले सी. एम. ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेपछि संस्थान वार्षिक करोड रुपैयाँ फाइदामा पुगेको हो ।

काठमाडौंको जमलस्थित संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स तथा अन्डरग्राउण्ड पार्किङ क्षेत्र सञ्चालन तथा व्यावस्थापनका लागि सी. एम. ट्रेडिङ र संस्थानबीच २०६४ सालमा ३० वर्षे सम्झौता भएको थियो । अत्यन्त न्युन दरमा सम्झौता भएको भन्दै सुरुदेखी नै उक्त सम्झौतामाथी प्रश्न उठेको थियो । सी. एम. ट्रेडिङसँगको सम्झौताअनुसार आ.व. २०७७।०७८ सम्म आइपुग्दा प्रतिवर्गफिट मासिक लगभग २० रुपैयाँमात्र थियो । सोही स्थान नेपाल दुरसञ्चार प्राधिकरणसँग मासिक प्रतिवर्गफिट ७० रुपैयाँ भाडा दर कायम गरी सम्झौता भएको छ । सो क्षेत्रका व्यावसायीक मलमा प्रतिवर्ग फिट प्रतिमहिना ८० देखी एकसय रुपैयाँसम्म चल्ति रहेको छ ।

‘सी. एम. ट्रेडिङसँग भएको एकपक्षीय सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग जीटुजी मोडेलमा नयाँसम्झौता गरेका छौं’, संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले भने, ‘संगीन अवस्थामा गुज्रिरहेको संस्थानमा अनेकन समस्या छन् । संस्थानको समृद्धिका लागि निर्मम भएर त्यस्ता समस्याको समिक्षा जरुरी छ ।’

गत पुसदेखि कार्याभार समालेका महाप्रबन्धक राईले सांस्कृतिक संस्थान सुधारका लागि २२ बुँदे कार्ययोजना प्रस्तुत गर्दै सी. एम. ट्रेडिङसँग भएको एकपक्षीय सम्झौतालाई पूनरावलोकन गरिने पनि उल्लेख गरेका थिए । ‘यसअघि संस्थानले आफ्नै पार्किङ क्षेत्र समेत प्रयोग गर्न पाएको थिएन । अव त्यो समस्या समाधान भएको छ । पार्किङ सुविधाका कारण अव हल अक्युपेन्सी पनि बढ्ने अपेक्षा गरका छौं’, महाप्रबन्धक राईले भने । लोकसंस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकासका लागि संस्थानको समृद्धि आवश्यक रहेको उनको भनाइ छ ।

सांस्कृतिक संस्थान सञ्चालन समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थानको समृद्धिका लागि पुरानो सम्झौता बाधक भएको बताए । ‘संस्थानको समृद्धिका लागि सी. एम. ट्रेड्रिसँगको सम्झौता भंग हुनु जरुरी थियो’, अध्यक्ष अधिकारीले भने, ‘संस्थानमा अरु पनि केही समस्या छन् । हामी एक एक गर्दै समाधानका लागि अघि बढेका छौं ।’

सी. एम. ट्रेड्रिङसँगको सम्झौताअनुसार आ.व. २०७७।७८ मा संस्थानले लगभग एक करोड तिस लाख रुपैयाँ प्राप्त गथ्र्यो भने दुरसञ्चार प्राधिकरणबाट दुई करोड पाँच लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । नयाँ सम्झौतामा प्रत्येक दुई वर्षमा १० प्रतिसतका दरले भाडा वृद्धि हुने पनि उल्लेख छ ।

अध्यक्ष अधिकारीका अनुसार जीटुजी मोडेलमा तत्काल सम्झौता भएकाले संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स खाली राख्नु परेन । ‘नयाँ सम्झौतामा प्रतिवर्गफिट प्रतिमहिना ७० रुपैयाँ काम भएको छ । टेन्टरमार्फत गएको समय लाग्थ्यो तर अझ बढी दर कायम हुन सक्थ्यो’, अध्यक्ष अधिकारीले भने ।