डा केसीको जीवन रक्षाको माग गरे बेलायतस्थित स्वास्थ्यकर्मी तथा एनआरएन अभियन्ताले

जीएनएन, लन्डन

बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले चिकित्सा शिक्षा प्रणालीमा सुधारको माग गर्दै १९ औं पटक आमरण अनशन गरिरहेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि नेपाल सरकारसँग माग गरेका छन्।

बेलायतस्थित नेपाली चिकित्सकहरुको संस्था, नेप्लिज डक्टर्स एसोसिएसन युके, ले डा. केसीको जीवन रक्षाका लागि उनका जायज मागहरु सम्बोधन गरि अबिलम्ब वार्ता गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै एशोसिएसनले समस्या समाधानका लागि तत्काल वार्ता समिति गठन गर्न नेपाल सरकारसंग माग पनि गरेको छ।

यसै गरी नेप्लिज नर्सेज़ एशोसिएसन यूकेका अध्यक्ष विनोद विकास सिम्खडाले डा. केसीको स्वास्थ्य रक्षाको सुनिश्चितता गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । “गोविन्द केसी समानताको लडाईं लडिरहेका छन् । पटक-पटक अनशन अनि लिखित सम्झौता भएपनि एकै किसिमको माग राखेर लडिरहनु पर्ने स्थिति आउनु बिडम्बना हो । समानताको कुरा गर्ने, तर जनस्वास्थ्यका लागि जायज माग राखेर लडिरहेका केसीको माग सुने जस्तो गर्ने तर कार्यान्वयन नहुनु निन्दनीय छ,” ग्लोबल नेप्लिजसंग कुरा गर्दै सिम्खडाले भने।

“यो लडाईमा जनताले र सरकारले साथ नदिनु गलत छ किनकि वहाँका मागहरुमा व्यक्तिगत फाइदा केहि पनि छैन । वहाँ उमेरको हिसाबले पनि रिटायर्ड व्यक्ति हो र वहाँले डाक्टरका हिसाबले काम गरेर आनन्दको जीवन जिउन समस्या छैन । गरिब दुखिका सन्तानले निस्पक्ष रुपमा उपचार र चिकित्सा शिक्षामा पहुंच पाउनु पर्ने माग कम्युनिस्ट सरकारको सिद्धान्तको हिसाबले पनि जायज छन्, कम्युनिस्ट सरकारका लागि सहयोगी नै छन्। वहांका माग यो सरकारले लत्याउनाले सरकारको सैद्धान्तिक धरातल माथि नै प्रश्न गर्नु पर्ने देखिन्छ । २३ दिन देखि निराहार बसेका केसीको स्वास्थ्य चिन्ताजनक भइरहेको छ। वहाँका मागहरुलाई सम्बोधन गरेर उहाँको जीवन रक्षाका लागि हामी हार्दिक अनुरोध गर्दछौं,” सिम्खडाले भने।

डा केसीले पछिलो पटक अनसन सुरुगरेको मंगलबार २३ औँ दिन हो। यसैगरी गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व केन्द्रिय उपाध्यक्ष कुल आचार्यले डा. केसीको जीवन रक्षा गर्न र एक वार्ता समिति गठन गरी उहाँका मागहरुलाई तत्काल सम्बोधन गर्न नेपाल सरकारलाई अपिल गरेका छन् । “डा. गोविन्द केसी सबै नेपालीले श्रद्धा र सम्मान गर्ने नाम हो। नेपालको चिकित्सा क्षेत्रमा सुधार, कर्णाली प्रदेश लगायत देश भरि नै गुणस्तरीय स्वास्थ्य सेवामा जनताको पहुंच जस्ता मागहरु राख्दै डा. केसी १९ औं आमरणमा बस्नु भएको आज २३ औं दिन हो। यति लामो समयसम्म सरकारले उहाँका मागहरु सम्बोधन गर्न एउटा वार्ता समिति समेत गठन नगर्नु दुखको कुरा हो,” आचार्यले भने।

त्यस्तै गैर आवासीय नेपाली संघका युरोप संयोजक नारायण आचार्यले नेपालमा चिकित्सा शिक्षा प्रणालीमा सुधारको माग गर्दै १९ औं आमरण अनशन गरिरहेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि नेपाल सरकारसंग माग गरेका छन्।

गैर आवासीय नेपाली संघको १३ औं युरोप बैठक तथा दोश्रो ज्ञान सम्मेलनको समापनको अवसरमा भर्चुएल माध्यमबाट आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले डा. केसीको स्वास्थ्यलाभको कामना गरे। उनले केसीका मागहरुप्रति प्रतिबध्दता पनि जनाए। – इनेप्लिज