असोज १ गते बिहिबार आजको राशिफल : पाथिभरा माताले सबैको कल्याण गरुन !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल असोज १ गते बिहिबार ई. सं. २०२० सेप्टेम्बर १७, नेपाल सम्बत ११४० ञंलाथ्व आमै प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण औशीं चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, शुभ योग, चतुष्पद करण ।

नेपालमा सूर्योदय बिहान ०५ः५१ बजे, सूर्यास्त साँझ ६ ः ६ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ ।

आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन औशीं श्राद्ध र विश्वकर्मा पुजा परेको छ।

कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५१ मिनेट देखि ७ बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सुरुमा पाँचौंचन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । शत्रुहरू पराजित हुनेछन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – शरीरमा आलस्यले डेरा जमाउने छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ । कुनै महत्वपूर्ण काम बन्ने सम्भावना पनि छ, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – कल्पना, भावना, प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि अनुकूल समय देखिंदैन । सानातिना र झिनामसिना काममा तल्लीन हुनुपर्ने भएकाले सामान्यतया दिन बितेको पत्तो पाइँदैन, तर सोचेजस्तो लाभ प्राप्त गर्न अनुभवीको राय लिनु पर्नेछ, अनिमात्र व्यवसायिक र सामाजिक क्षेत्रमा खटेजति सफलता प्राप्त हुनेछ । बेलुकाको वास वा खानपीनमा फेरबदल हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – कुनै महत्वपूर्ण काम छ भने दिनको पूर्वाद्र्धभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, हाँकेका र ताकेका काममा ढिलासुस्ती हुनसक्छ । सुरुमा साथीभाइको सहयोग मिल्ने देखिन्छ तर पछि आफू एक्लै खटेर काम पूरा गर्न सकिने छ । दिउँसो चन्द्रमाले आठौं भावमा प्रवेश गर्ने भएकाले मनमा विरक्तिका भावना सञ्चरण हुन सक्छन।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)– बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ ।