‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’ : झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकि गीताको बारेमा प्रहरीले भन्यो

इटहरी : सोमबार साँझ इटहरी ५ कि गीता भट्टराई झुण्डिएको अवस्थामा मृत फेला परिन् । साहित्यकार समेत रहेकि भट्टराईको मृत्युपछि अहिले सामाजिक सञ्चाल प्रयोगकर्ताले श्रदाञ्जली अर्पण गर्र्दै घटना संकास्पद रहेको र सत्य तथ्य छानबिन हुनुपर्ने माग गर्दै आएका छन् । यसैक्रममा इटहरी प्रहरीले भने आँफूहरु अनुसन्धानकै क्रममा रहेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले भट्टराई सोमबार साँझ आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको र अहिले आँफूहरु अनुसन्धानकै क्रममा रहेको जानकारी दिए ।

उनले टाकुरासँग भने, ‘अहिलेसम्म घटनाबारे अनुसन्धान गर्दा केही पनि संकास्पद छैन, कोठामा रहेको फेनमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा हामीले फेला पारेका थियौँ ।’ उनका अनुसार अन्दाजी ४३ बर्षीया उनी केही समय अगाडिदेखि डिप्रेसनको औषधी प्रयोग गर्दै आएकी थिईन् ।

‘हामीले उनका परिवारलाई सोधबुझ गर्दा केही समय अगाडिदेखि डिप्रेसनको औषधी प्रयोग गर्दै आएको बुझेका छौँ,’ उनले भने, ‘डिप्रेसनको औषधी प्रयोग गर्दै आएको भएपनि केही दिनयता उनले औषधी नखाएको पनि खुलेको छ, अन्य खास संकास्पद त केही पनि छैन ।’

डिप्रेसनको शिकारमा परेकी उनको पारिवारिक सम्बन्ध पनि सुमधूर नै रहेको भएपनि के कारणले आत्महत्या गर्न पुगिन् भन्ने बिषयमा अन्यौल नै रहेको उनको भनाई थियो ।

‘एकैछिनको समस्याले पनि आत्महत्या गर्न सक्ने आधार हुन सक्छ, आत्महत्या गर्नका लागि ठूलो कारण नै नचाहिने स्थिति आइसक्यो,’ केसीले टाकुरासँग भने ।

डीएसपी केसीका अनुसार भट्टराईको पारिवारिक सम्बन्ध पनि राम्रै रहेको छ । उनको एक छोरा र एक छोरी रहेका छन् ।

मृत्युपछि पोष्र्टमार्टमका लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान पठाईएको केसीले जानकारी दिए ।
– टाकुरा न्युज । इटहरी