ओमानबाट सहज रुपमा नेपाल फर्किन चाहने नेपालीहरुलाई स्वदेश फर्काउने क्रम अगाडि बढ्यो

ओमान । स्वदेश फर्किने चाहने नेपालीहरुलाई सहज रुपमा पठाउन ओमान दुताबासले पहल गरिरहेको छ । कोभिड १९ को महामारीले गर्दा नेपाल फर्कन नेपाली दुताबासमा नाम टिपाउनेको संख्या बढिरहेको छ । महामहिम राजदुत शर्मिला पराजुलीले जानकारी गराउनुभए अनुसार हाल सम्म ५ उद्धार उडान मार्फत न्युनतम हवाइ भाडादर कायम गरिएको छ ।

न्युनतम हवाइ भाडामा नेपाल सरकारले तय गरेको मापदण्डका आधारमा ओमानमा रहनुभएका ८सय ३० जनालाई नेपाल फर्काइसकिएको पनि राजदुत ढकालले जानकारी गराउनु भएको छ ।

सम्पुर्ण सुरक्षाका मापदण्ड पुरा गरी ११ सेप्टेम्बर २०२० को पाँचौ उडान मार्फत १६५ जना (३९ महिला तथा १२६ पुरूष) नेपालीहरू नेपाल फर्किनुभएको छ । उक्त उडानका चालकदलका सदस्यहरू समेतको पि सि आर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको थियो ।

आजकै उडानबाट नेपाल जाने मध्ये बाह्रदशी गा.पा.(ट, झापाकी १ जना महिला श्री नेत्र कुमारी राउतलाई नेपाल फर्काउन दूतावास सफल भएको छ ।

निज राउत वैदेशिक रोजगारीको सिलसिलामा घरेलु कामदारको रूपमा केही वर्ष अघि ओमान आउनु भएको र बि.सं. २०७० साल देखि सम्पर्क विहिन रहनु भएको थियो ।

उहांका छोरा नवराज राउतले आफ्नी आमालाई नेपाल फर्काउन परराष्ट्र मन्त्रालयमार्फत निवेदन दिनु भए अनुसार तथ्य प्रमाण एवं कूटनीतिक माध्यमबाट निजलाई सम्पर्कमा ल्याइएको र निजको स्वास्थ्य अवस्था पनि नाजुक रहेको हुँदा निजलाई घरसम्मै लैजाने व्यवस्थाका लागि दूतावासबाट सहजीकरण गरिएको छ ।

मानव तस्करको फन्दामा परी पर्यटक भिसामा गैरकानूनी बाटो हुँदै वैदेशिक रोजगारीको लागि ओमानमा आई घरेलु कामदारको रूपमा रहेकै बेला अलपत्र परेको अवस्थामा रहेका महिलाद्वय ताप्लेजुङकी अरुणा मादेन र स्याङ्जाकी गज कुमारी श्रेष्ठलाई समेत कूटनीतिक पहलमा आवश्यक प्रक्रिया पुरा गरी आजकै उद्धार उडान मार्फत नेपाल फर्काइएको राजदुत शर्मिला पराजुली ढकालले बताउनुभएको छ ।

सोही उडानमा विभिन्न कम्पनीमा कार्यरत एवम् घरेलु कामदारको रूपमा कार्यरत ६० जना नेपालीहरूलाई आवश्यक समन्वय तथा पहल गरी घर फिर्ता गर्न समेत दूतावास सफल भएको बताइएको छ ।

विमानस्थलमा नेपाली राजदूतावास मस्कटकी महामहिम राजदूत शर्मिला पराजुली ढकालले सम्पूर्ण नेपालीहरुलाई स्वदेश फिर्तीको लागि सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

यात्रुहरुको यात्रा सहजीकरणको लागि दूतावासका द्बितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, सहचारी अनिल राना लगायतका कर्मचारीहरू तथा नेपाली सोसल क्लबका सदस्यहरू लगायत नेपाली राजदूतावास, मस्कट कोभिड(१९ व्यवस्थापन स्वयम्सेवी सदस्यहरूको उपस्थिति रहेको थियो।

यात्रामा सहभागी सम्पूर्ण नेपालीहरुले दूतावासको सक्रियतामा चार्टर उडानमार्फत् सुलभ दरमा स्वदेश फर्कने अवसर मिलाएकोमा महामहिम राजदूत तथा समस्त दूतावासको कार्यको प्रशंसा गर्दै दूतावास परिवारलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

निजहरुको सफल घरफिर्ती एवं स्वास्थ्य लाभको कामना सहित पिडितहरूलाई सम्पर्कमा ल्याउन तथा उद्धार कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सहयोगी संघ संस्थाहरू एवम् व्यक्तिहरू लगायत समस्त नेपाली समूदाय प्रति यस दूतावासले आभार ब्यक्त गरेको छ ।- इनेप्लिज