रोगले भन्दा भोकले नागरिक मर्ने चिन्ता छ : उदयशमशेर राणा

गम्भीर ध्यानाकर्षण

नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै सरकारले काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ । चैत ११ देखि चार महिना लामो लकडाउन व्यहोरेका नागरिक, साउनमा केही खुकुलो भएपनि भदौदेखि फेरी घरभित्रै बस्न बाध्य छन् ।

सरकारले कोरोना नियन्त्रणका लागि सजिलो विकल्पका रुपमा लकडाउनलाई लिएको छ । तर लकडाउनका कारण मजदूर, श्रमिक वर्ग, डेरावाल, विद्यार्थीको दैनिक जनजीवनमा परेको असर बारे सरकार बेखवर जस्तै छ । नागरिकहरु रोगले भन्दा भोकले मरिने हो कि भन्ने चिन्तामा छन् ।

सरकारी तहबाट कुनै राहत नपाइरहेका बेला नागरिकस्तरबाटै राहत वितरणका कार्यक्रम हुनु स्वागतयोग्य हो । ‘कोही पनि भोकै नरहुन्’ भन्ने पवित्र मनसायले नेपाल तरुण दल क्षेत्र नं. १ ललितपुरले स्थानीय तहसँगको समन्वयनमा यहि भाद्र ९ गते देखि चापागाउँमा ‘फुड बैंक’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने मानवीय अभिप्रायबाट सुरु गरिएको फुड बैंक ललितपुरमा मात्र सीमित नभएर देशभर चर्चामा आयो । सामाजिक दूरी कायम गर्दै नेपाल तरुण दलले सामाजिक सेवाभावले सुरु गरेको फुड बैंक कुनै राजनीति अभिप्रायबाट प्रेरित थिएन ।
‘फूड बैंक’मा नागरिकस्तरबाट स्वतस्फुर्त रुपमा बढ्दो सहभागिताले यसको लोकप्रीयता र सार्थकतालाई पुष्टि गर्दछ ।

नेपाल तरुण दल क्षेत्र नं. १ ललितपुरले सुरुवात गरेको फुड बैंकको अवधारणाको सिको गर्दै देशका विभिन्न जिल्लामा यही प्रकृतिको अभियान सुरु भइरहेका छन् । जुन प्रशंसनीय छ ।

तर ललितपुरमा भने यो नमुना कार्यक्रममा विना कुनै कारण प्रशासनबाट रोक लगाइएको छ । जुन अत्यन्तै निन्दनीय मात्र होइन, मानवीय संवेदनाहीन कार्य हो । म सरकारको गैरजिम्मेवारपूर्ण कार्यप्रति खेद व्यक्त गर्दछु ।

सरकारी तहबाट सञ्चालित हुनुपर्ने कार्यक्रम नागरिकस्तरबाट स्वतफूर्तरुपमा सञ्चालन गर्दा राज्यले त्यसमा हौसला बढाउनुका साँटो अमूक राजनीतिक दलको प्रभावमा प्रशासन लगाएर पवित्र कार्यमा रोक लगाउनु कति न्यायोचित होला ?

कोरोना संक्रमणबारे सचेत रहँदै सामाजिक दूरीसहित सञ्चालित कार्यक्रममा सरकारले रोक लगाउनुको कारण के हो ? कसको निर्देशनमा किन प्रशासनले कार्यक्रममा रोक लगायो ?

के कुनै राजनीतिक दललाई सामाजिक कार्य गर्न सरकारले बन्देज लगाएको हो? प्रशासन नागरिकको सेवाका लागि वा कुनै अमुक राजनीतिक दलका नेताहरुको निर्देशनमा चल्न ? राहतका लागि एकाबिहानै लाइन लाग्ने ती गरिव, मजदूरहरुको पीडाले पोल्दैन तपाईहरुलाई ?

कोरोना कहरका कारण समस्यामा परेका हरकोही नागरिकको सेवा गर्नु हामी सबैको दायित्व हो । त्यसमा पनि राजनीतिक दलको मूल कर्तव्य नै हो ।

म नेपाली कांग्रेस ललितपुरका तरुण दल लगायतका तमाम साथीहरुलाई स्थानीय सरकारसँग समन्वय गर्दै समस्यामा परेका हरकोही नागरिकको सहयोगमा जुट्न अपील गर्दछु र प्रशासनलाई राजनीतिक आस्थाका आधारमा विभेद नगर्न पनि चेतावनी दिन्छु ।

जय नेपाल ।

उदय शम्शेर राणा
पूर्व सांसद, ललितपुर क्षेत्र नं. १
पूर्व अर्थराज्यमन्त्री