भुजीखोलाको पहिरोमा ३० बेपत्ता, ५० घर बगायो !

बुर्तिवाङ । ढोर देउरालीबाट बगेको पहिरोले भुजीखोला किनारका बस्ती बगाएको छ । अबिरल वर्षासँगै आएको भीषण बाढी पहिरोले ३० जना बेपत्ता भएका छन् भने ५० घर बगाएको छ ।

पहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नं. ८ र ९ मा आएको बाढिका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन भएका छन् । यस्तै बाढीले, लाकुरीबोट ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्डमा १, घर बगाएको छ भने सुकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविघुत आयोजना र ३ वटा झोलुँगेपुलसमेत बगाएको स्थानीयले जानाकारी दिए । प्रहरी टोली र स्थानीय उद्धारमा जुटेको अवस्था छ ।

बुर्तिवाङबाट सहकर्मी छविलाल पाण्डेले दिएको जानकारी अनुसार बडीगाड गाउपालिकाका बालुवा, बुर्तिवाङ र सईखोला गरी ४ जनाको शव फेला परेको छ । सनाखत हुन बाँकी छ ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति दोर्ण कुँवरका अनुसार बाढी पहिरोमा परी बेपत्ता हुनेको संख्या ३६ पुगेको छ, उद्धारकार्य जारी छ ।