आजको राशिफल साउन ३० गते शुक्रबार : पाथिभारा माताले सबैको कल्याण गरुन !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ . आजको राशिफल बि.सं.२०७७ साल साउन ३० गते शुक्रबार ई. सं. २०२० अगस्त १४, नेपाल सम्बत ११४० गुंलागा दशमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण दशमी चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, व्यागात योग, विष्टि करण ।

नेपालमा सूर्योदय बिहान ०५ः३५ बजे, सूर्यास्त साँझ ६ ः ४३ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १३ मिनेट देखि १० बजेर ३० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन । आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन । तर ध्यान पुर्याउन सकेमा विगतको श्रमबाट भने लाभ हुनेछ । फाइदा अलि कममात्र हुने समय छ । मान–सम्मानमा गिरावट आउने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन। मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिने छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन बलियो भएर जानेछ । आर्थिक सङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन । परिवारजनका आवश्यकता पूरा हुनेछन । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – पेसागत वा व्यवसायिक लाभदायी यात्राका लागि अनुकूल समय छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – काम बिग्रने भयले सताउला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धी हासिल हुनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन । कामको चाप बढ्ने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – दैनिक कामकाज र बन्दव्यापारमा राम्रै छ । शैक्षिक, प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाह बमोजिम मानप्रतिष्ठा र सामाजिक मर्यादाका लागि गरेको प्रयास सफल हुनेछ । सन्ततिको पठनपाठन र व्यक्तित्व विकासको चिन्ताले सताउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – हतारको निर्णयले काम बिग्रन सक्छ । रोकिएका घरेलु कामकाज सिद्ध्याउन निकै खट्नु पर्नेछ । महत्वाकाङ्क्षा त्यागेर अघि बढ्नु होला । आजको योजना र लक्ष्यको समुचित प्रतिफल आउने छैन । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । परिवारजनमा असमझदारी बढ्नेछ । मातृधनको उपयोग हुन सक्दैन । पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – रोजगारी र व्यापार÷व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ ।