कसरी पूजा गर्ने थाहा पाउनुहोस् आज श्रीकृष्ण जन्माष्टमी : सविता माता

हरेक वर्ष झैँ भाद्र कृष्ण अष्टमीका दिन ‘श्रीकृष्णजन्माष्टमी’देशभर मनाइन्छ यो र वर्ष अर्थात आजकै दिन मंगलबार देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइन्छ र ज्ञानयोग,कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भएको हो । सोही दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’भनिन्छ ।

यस अवसरमा देशभरीका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन,भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू ‘व्रत’बसी रातभर जाग्राम बस्ने गर्छन् । अन्याय,अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उहाँका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ र यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना,कंश,जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो र यसै उपलक्ष्यमा देशभर विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन छ।