कति चुप रहने ? कति सहने ? अपमानित भएपछि पुजाको आक्रोशपूर्ण स्टाटस

२५ साउन , काठमाडौँ : नायिका पूजा शर्माले शुक्रबार साँझ फेसबुकमा एउटा आक्रोशपूर्ण स्टाटस लेख्दै एक टेलिभिजन कार्यक्रम प्रस्तोताको आलोचना गरेकी छिन् । एक चर्चित चलचित्र पत्रकारको पहिचानबाट चिनिने प्रकाश सुवेदीमाथि आलोचना गर्दै नायिका शर्माले लामो स्टासमार्फत लेखेकी छिन् ‘कति चुप रहने ? कति सहने ?

उनले आम पत्रकारको इजतमाथि नै प्रश्न उठाउँदै भनेकी छिन्, ‘के पत्रकारले यति अशिष्ट शब्द बोल्न मिल्छ ?

प्राइम टाइम टेलिभिजनको एउटा कार्यक्रममा सोधिएको सामानय ज्ञानसम्बन्धी प्रश्नको जवाफ दिन नसकेकी नायिका शर्माले उक्त अंश काट्न अनुरोध गरेको बताएकी छिन् । तर, प्रकाशले नकाटिकन प्रशारण गरे । त्यसपछि नायिका शर्माको खुबै आलोचना भयो ।

पछि प्रकाश एपीवान टेलिभिनमा भएका छन् र त्यहाँ कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले नाम उच्चारण नगरी नायिकालाई दाह्रा निस्केको भनेपछि पूजा शर्मा आक्रोशित बनेकी हुन् ।

सुवेदीले त्यहाँ बोलेका छन्, ‘इन्टरभ्यू दिने पनि आफैं, बोल्ने पनि आफैं, नआउने पनि आफैंलाई, अनि हामी चैं काटिदिनु पर्ने, त्यो पनि मिलाइमिलाइ, महानायिका बनाइदिनुपर्ने, त्यो पनि दारा निस्केको अनुहारलाई.. कति हाँस्नु.. ।’ त्यसो त सुवेदीको यो हर्कतको पनि अहिले आलोचना भइरहेको छ ।

यिनै सन्दर्भलाई समेटेर नायिका शर्माले फेसबुकमा लेखेकी छिन्– ‘कति चूप रहने ? कति सहने ? प्राइम टाइम टीभीमा अन्तर्वार्तामा बोलाइयो गएँ सामान्य ज्ञानसँग सम्बन्धित प्रश्न गरियो अन्तर्वार्ता चल्दा चल्दै मैले पत्रकार प्रकाश सुबेदीजीलाई मैले राम्रो गर्न सकिनँ प्लिज यो काटिदिनुस भनेँ मान्नु भएन त्यो चिज प्रशारण भयो, भाइरल भयो मेरो थुप्रै ट्रोलहरु बने, आफ्नै गल्ती हो भनेर चूपचाप बसेँ ।’

उनले अगाडि लेखेकी छिन्, ‘पछि जब प्रकाशजी एपीवान जानु भो मलाइ पुनः अन्तर्वार्तामा आउ पुजा भनेर भन्नु भो म मानसिक तनाब झेलिरहेको थिएँ, अब फेरि पूरानो गल्ती कसरी गर्न सक्थेँ ? म त्रसित पनि थिएँ, त्यसैले मैले सरी दाइ म आउन सक्दिनँ भनेँ । तर, त्यसपछि उहॉले आफ्नो कार्यक्रममा मलाइ लक्षित गरेर ‘दारा निस्केको, महानायिका’ भनेर शारीरिक हाउभाउलाई लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मेरो मानहानी गर्न कुनै कसर छोड्नु भएन ।’

पत्रकार मात्रै होइन सम्बन्धित मिडिया हाउसको विश्वसनीयतामाथि नै प्रश्न गर्दै उनले अझ लेखेकी छिन्, ‘के एक पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ? पत्रकारले गर्न सक्ला मानौं, के टेलिभिजनमा यस्ता असभ्य कुरा सम्पादन गर्ने कुनै निकाय छैन ? हरेक ट्रोलको शिकारदेखि यस्तो अभद्र व्यवहारप्रति हामी कलाकार सधैं मौन नै रहनु पर्ने ? अहिले आएर उहॉले ‘मैले कसैको नाम तोकेको छैन’ भनेर भन्दै हुनुहुन्छ । के यसरी पन्छिन मिल्छ ?’

पत्रकार सुवेदीको अभिव्यक्ति आम नायिकाहरु माथि भएको भन्दै उनले भनेकी छिन्, ‘म नभए पनि कोही अभिनेत्रीलाई त ‘दाह्रे अभिनेत्री’ सम्बोधन गरिएकै छ त्यहाँ ! हामी कलाकारहरू कहिलेसम्म पालै पालो यस्तो अतिबादको शिकार भइरहने ? हाम्रा गल्ती छन्, होलान् पनि त्यो कुरा पत्रकार मित्रहरूले औंल्याई दिनुपर्छ । तर, यो ढंगको प्रस्तुतीकरणले के पत्रकारिताको पनि इज़्ज़त बढ्छ त ?’