दैनिक १ हजार कोरोना परीक्षण गर्दैछ कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्‍ठानले : काफ्ले

२०७७ साउन २५ गते
काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्‍ठानका रजिष्टार विश्वराज काफ्ले प्रतिस्‍ठानले कर्णालीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् । प्रतिस्‍ठानका चिकित्सक कर्मचारी रातदिन खटिरहेको बताए । पूर्वतयारीमा सम्पूर्ण टीम जुटेकोले कर्णालीमा कोरोना समुदायमा पुग्न नपाएको बताए ।

संवाद डबली अन्तरसंवाद कार्यक्रममा बोल्दै काफ्लेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्‍ठान (कास) अहिलेसम्म २० हजार बढी स्वाबको कोरोना परीक्षण गरेको जानकारी गराउँदै अब दैनिक १ हजारको कोरोना परीक्षरण गर्ने तयारी गरिहेको जानकारी दिए । त्यसको लागि सरकारको सहयोगमा आवश्यक उपकरण जडानको कार्य भइरहेको बताए । यसअघि प्रतिस्‍ठानले पहिलो पटक पुलिङ सिस्टमबाट कोरोना परीक्षण गरेको बताउँदै काफ्लेले यसअघि दैनिक ८ सय स्वाबसम्म परीक्षण गरेको बताए ।

प्रतिस्‍ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ६ सय जनामा कोरोना पोजेटिभ देखएको बताउँदै काफ्लेले ८० जनालाई अस्पतालमै भर्ना गरेर उपचार गरेर कोरोनामुक्त भएपछि डिस्चार्ज गरिएको बताए ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै कर्णालीमा मानिसहरु त्रसित भइरहेको बेला चिकित्सकको टोली नै गाउँगाउँमा पठाएर परामर्श गरेको बताउँदै काफ्लेले भने, “नेपालमा कोरोना भाइरसको प्रवेश भइरहँदा कर्णालीका मानिसहरु निकै आतंकित भएका थिए । कोरोना के हो भन्ने नै मानिसहरुलाई थाहा थिएन । त्यो बेला हामीले विज्ञ चिकित्सकसहित टोली पठायौं । मानिसहरु भारतबाट फर्किन थालेपछि झन् डर त्रास फैलिरहेको थियो । हामीले अस्पतालका चिकित्ससहितको टोली गाउँगाउँमा पठाएर काउन्सिलिङ गर्यौं ।”

कर्णालीमा कोरोना संक्रमण फैलिन थालेपछि प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै आवश्यक पूर्व तयारी गरेको बताउँदै रजिष्टार काफ्लेले प्रतिस्ठान अस्पतालमा आईसियु थप्नुको साथै दुई तला पूरै आइसोलेसनमा परिणत गरेको काफ्लेले बताए । अस्पतालका सबै कर्मचारी रात दिन खटेर परीक्षण स्वाब संकलन र परीक्षणका काम गरेको बताए । अस्पतालका कर्मचारीहरुले १९–२० घण्टासम्म काम गरिहेको काफ्लेले बताए । प्रतिस्‍ठान कर्णाली प्रदेशका सबै जिल्ला र सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, डडेल्धुराको स्वाब पनि परीक्षण गरेको बताए ।

प्रतिस्‍ठानले लकडाउन सुरु भएलगत्तै आफूहरुले कसरी काम गर्ने भन्नेबारे छलफल सुरु गरेर टीम नै गठन गरेको थियो । पहिलो पटक मुगुमा एक जनामा आरडिटी पोजेटिभ र डोल्पामा एक जनाको मृत्यु भएपछि पूरै कर्णालीमा त्रास फैलिएपछि चिकित्सकसहितको टोलीले मुगुका विभिन्न गाउँको स्वाब संकलन गरेर परीक्षणसँगै परामर्श गरेको बताए ।

नीजि स्वास्थ्य संस्थाहरुले सेवा बन्द गरेको बेला प्रतिस्ठानले २४ सै घण्टा सेवा दिएको जानकारी गराउँदै रजिष्टार काफ्लेले आफैले पीसीआर मेसिन खरिद गरेर परीक्षण सुरु गरेको बताए । तीन महिनासम्म आफूसहित कर्मचारी र चिकित्सक थोरै घण्टा अस्पतालमै सुतेर सेवा दिएको बताए । दुर्गमबाटै पनि सेवा दिन सकिन्छ भन्ने कुरा प्रतिस्ठानले व्यवहाबाटै देखाएको समेत काफ्लेले बताए ।

भारतमा मानिसहरु फर्केसँगै समुदायमा पुगेको कोरोना अहिले नियन्त्रणमा आएको बताउँदै रजिष्टार काफ्लेले कोरोना जोखिममा कर्णाली ग्रिन जोनमा रहेको बताए । “कामको सिलसिलामा भारत गएका दाजुभाई फर्केसँगै कोरोना एक दुई ठाउँमा समुदायमा पनि संक्रमण देखिएको थियो तर अहिले नियन्त्रण भइसकेको छ । यसमा प्रतिस्‍ठानको महत्वपूर्ण भूमिका छ” काफ्लेले भने ।
एक अर्को प्रसंगमा काफ्लेले प्रतिस्ठानले एमडी र एमबीबीएस कार्यक्रम संचालनको तयारी पनि भइरहेको बताए । उनले डाक्टर बन्न अब विदेश र शहर पस्नुपर्ने बाध्यताको अन्त्य हुने दाबी समेत गरे । शैक्षिक कार्यक्रममा ४५ प्रतिशत कर्णालीको लागि छुट्याइएको समेत बताए ।