एएनए कार्यकारी समितिका रिक्त पदमा अध्यक्ष अधिकारीद्वारा मनोनित

डिसी । उत्तर अमेरिकाकै सशक्त राष्ट्रिय स्तरको एसोसिएसन अफ नेपालिज इन अमेरिकाज(एएनए)को कार्यकारी समितिमा रिक्त रहेका पदमा अध्यक्ष खगेन्द्र अधिकारीले सँस्थामा अनुभव बटुलेका र योगदान पुर्याउनु भएका विभिन्न व्यक्तिहरुलाई मनोनित गर्नु भएको छ ।

अगस्त १ ,२०२० का दिन अध्यक्ष अधिकारीले एक छापा बिज्ञप्ति जारी गर्दै कार्यकारी समितिमा रिक्त रहेका पदहरु र अमेरिकामा अधिवक्ता लगायत विभिन्न पेशामा रहनु भएका व्यक्तित्वहरुलाई मनोनित गर्नु भएको छ ।

गत जुलाई २६ का दिन अध्यक्ष अधिकारीको सभापतित्वमा बसेको कार्यकारी समितिको बैठकले उक्त निर्णय गर्दै सर्वसम्मतिबाट अनुमोदन गरेको छ । अध्यक्ष अधिकारीले सँस्थामा प्रवेशगर्ने सबैलाई स्वागत गर्दै उत्तरी अमेरिकी नेपाली समुदायमा उहाहरुको सेवाका लागि धन्यबाद दिनु भएको छ ।

एएनए कार्यकारी समितिको रिक्त रहेको पदमा वरिष्ठ उपाध्यक्षमा क्यालिफोर्नियाका मुकुन्द ढुंगाना,पूर्वीय क्षेत्रका लागि उपाध्यक्षमा बाल्टिमोर बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ,पश्चिमी क्षेत्रका लागि उपाध्यक्षमा डा दुर्गा दाहाल,संचार निर्देशकमा मेरिल्याण्डका सिपिए लक्ष्मण प्रधान तथा सह-सचिवमानर्थक्यारोलाइनाका शैलेन्द्र केसी(डिजे गोर्खाली खत्री)लाई मनोनित गर्नु भएको छ ।

अध्यक्ष अधिकारीले लक्ष्मण प्रधानलाई प्रवक्ताको रुपमा समेत मनोनित गर्नु भएको छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ । यसैगरि अध्यक्ष अधिकारीले सल्लाहकारहरुमा क्रमस न्यूयोर्कबाट अधिवक्ता बासु फुलारा,भर्जिनियाबाट अधिवक्ता बन्दिता शर्मा दाहाल,न्यूयोर्कबाट योगेन्द्र जोन्छे तथा मेरिल्याण्डबाट मगन देवी श्रेष्ठलाई मनोनित गर्नु भएको छ ।

नयाँ नियुक्ति संगै अबको एएनएले नयाँ गति लिने र समाजमा बिशेष योगदान गरेका व्यक्तिहरुको प्रवेशले उहाको कार्यकालमा सँस्थामा अझ नयाँ सोचका साथ कामहरु हुने अपेक्षा गरिएको छ ।

सन् १९८३ मा स्थापित एएनए नेपाली समुदायमा राष्ट्रिय स्तरको मुनाफारहित सामाजिक संस्था हो । स्थापना काल देखि नै विभिन्न क्रियाकलाप र नेपाली समुदायका अन्य सामाजिक बिषयहरुमा वकालत र उठान गर्न सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।