द मेमोरी किङ्को नामले चिनिने कालिकोटे केटाको सन्दर्भमा लण्डनबाट हलोवालाको खण्डन समीक्षा : मेमोरी किङ् भनेर चिनिने बिजय शाही किन एकाएक पछि हटे त?

हलोवालाको मिडिया विश्लेषण@लण्डनबाट खण्डन – एक बिशेष रिपोर्ट

मेमोरी किङ् भनेर चिनिने बिजय शाही किन एकाएक पछि हटे त?

हालसालै एउटा कलिलो कालिकोटे नेपाली ठिटोले नेपाली भाषामा लेखिएको विश्वकै लामो प्राचीन ग्रन्थ “भागवत् गीता” अनि शिब न्यौपानेद्वारा लिखित तीनहजार पाना लामो डाटा भएको बिशाल नेपाली शब्दकोष लगायत अरुपनि विभिन्न भाषाका किताबका ठूलाठूला ठेली (प्लेथोरा)हरुलाई केही मिनेटमै चामत्कारिक ढंगले विभिन्न मिडियाकर्मीहरुको सामु प्रत्यक्ष उभिएर नै अनौठो किसिमले पढ्दै देखाईरहँदा संसारभर एउटा आश्चर्यको तरङ्ग फैलिई नै रहेको छ।

यसै शिलशिलामा मैले पनि उनको यो अदभूत क्षमता र कला सहितको प्रस्तुतीलाई विभिन्न कमर्सियल र सौखीन् युट्युब च्यानलहरु मार्फत बढो ध्यान दिएर हेरें। मैले ती युट्युब च्यानलहरुमा बिजय शाहीको सम्पूर्ण कार्यक्रम र प्रस्तुतीहरुलाई शुरुदेखि अन्त्य सम्म नै आँखा नझिम्काईकन नै हेरें। र अझैपनि म नेपालका ती नानाथरी मिडियाहरुलाई पछ्छ्याई रहेको नै छु।

यसरी सोकीन तरीकाले हेरिसकेपछि मैले के पाएँ भने, बिजयको खुबी र कलालाई मिडियामा राम्रोसंग क्यामेरामा छोप्न र मान्छेहरुले पत्याउने गरी पर्दामा उतारेर देखाउन सक्ने अथवा उनको असाधारण खुबीलाई जस्ताको तस्तै पस्कन सक्ने सामर्थ्य र खुबी भएका मिडियाकर्मीहरु हाम्रो नेपालमा जन्मेकै रहेनछन् जस्तो लाग्यो। फलस्वरुप बिजय शाहीलाई केही तनाब अनि निराशा बढेको पनि पाईरहेको छु। यसमा सबभन्दा कमजोरी भनेको उनको उमेर अनुसारको स्वाभाविक अल्लारेपना र त्यसको फाईदा लिएर हतार हतार भ्यूअर तान्न खोज्ने नेपाली मिडियाकर्मीहरुको लाहापर्बाहीपूर्ण हानाथाप हो। सबैभन्दा खतरनाक खेल चाहिं शिक्षाको माध्यामबाट नेपालमा दिगो बिकास र शान्ति नचाहने एक किसिमको शैक्षिक माफियाहरुले खेलीरहेको पाएँ। विजय शाहीले हिंजो मात्रै पनि आफूलाई मेसेन्जर मार्फत अज्ञात् मानिसहरुले ज्यान मार्ने धम्की दिएको तथ्य स्क्रीन सट सहित फेसबुक लाईभमा सार्बजनिक गर्नुले पक्कै पनि नेपालका शैक्षिक माफियाहरुको निन्द्रा खल्बलिएको जस्तो गन्ध पाउन सकिन्छ।

शिक्षालाई ब्यापार गर्दै राज्यलाई नै अरु देशको दाश र गुलाम बनाउन पल्किएका हाम्रो देश नेपालका शैक्षिक माफियाहरु कति तल गिरेका रहेछन् भन्ने कुरा बिजय शाहीको उक्त सामाजिक संजालको भिडियोको कारुणिक आग्रहले प्रमाणित गरेको छ। यस अघिपनि उनले विभिन्न मिडियाहरुमा आफू असुरक्षित रहेको र आफूलाई सरकारले सुरक्षाको ग्यारेण्टी गरिदिएमा नेपालको ७७ वटै जिल्लाको बिकट गाउँका स्कूलहरुमा पुगेर सम्पूर्ण गरीब तथा जेहन्दार बिद्यार्थीहरुमाझ आफ्नो ज्ञानको सूत्र सिकाउने उनको दाबी छ।

तर नेपालका प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रालय र शिक्षामन्त्रालय भने अहिले सम्म पनि कानमा तेल हालेर सुतिरहेको देखिन्छ। छोटो समयकोलागि प्रचण्डलाई भेटिसकेका र फेरी अर्कोदिन भेट्ने एपोइण्टमेण्ट समेत लिएका बिजय शाहीलाई कसैले जानाजानसंग तानातान गर्दै रिपोर्टर्स क्लबमा बोलाएको बुझ्न सकिन्छ। नत्र राजनैतिक नेताहरुलाई नाङ्गेझार पारेर खुईल्याउने ठाउँमा भर्खरैको कोपिला अबस्थाको नयाँ प्रतिभाहरुलाई बोलाएर बेढङ्गी किसिमले केही छौंडाहरु लगाउँदै उनलाई अस्वाभाविक रुपले उत्तेजित पार्दै तातो भूंग्रोको खलीमा जबर्जस्ती धकेल्न जरुरी नै थिएन। ती हुँडारे प्रवृतिका छौंडाहरुले “हेर मनुवा हेर, जम्मै भएभरका कुराहरु अहिले नै भन् या देखा, नत्र भने यहाँबाट जानै पाउँदैनस् भन्दै उनलाई खुईल्याउन कुनै जरुरतै थिएन।

मैले यताबाट मिडियाको एनालाईसिस् गर्दा ती प्रतिभालाई रिपोर्टर्स क्लबमा जानाजानसंग जबर्जस्ती खुईल्याउनकैलागि थुताईएको जस्तो लाग्यो। किनकी एकैछिन सम्मानकोलागि भनेर उनलाई जबर्जस्ती अनावस्यक झमेलामा मुछेको कुरा प्रष्टैसंग देख्न सकिन्छ। अर्कोतिर बिजय शाहीलाई राम्रोसंग गाईड गर्दै टाईम म्यानेजमेन्ट गरिदिनकोलागि भर्खर कालिकोटबाट काठमाण्डू शहर पसेको उनको अल्लारे टोली पनि अलमलमा परेकै देखिन्छ।

रिपोर्टर्स क्लबको एउटा भिडियोबाट के बुझ्न सकिन्छ भने, उनले अघिल्लै दिन बर्तमान सरकारको नेतृत्व गर्ने पार्टीका अध्यक्ष प्रचण्डलाई आफ्नो अद्भूत छिटो पढ्न सक्ने खुबी र अतिशीघ्र स्मरण गर्ने सक्ने क्षमता देखाउनकोलागि भेट्ने समयतालिका (एपोईण्टमेन्ट) लिईसकेका थिए। तर त्यसपछि बिचैमा उनलाई कृष्ण कँडेलको ईन्द्रेणी सांस्कृतिक अभियानले बोलायो, पचास हजार सहित अभिनन्दन गर्यो र उनले समयको पर्बाहै नगरी राति अबेर २ बजेसम्म नै त्यहाँ बिताएछन् पनि।

त्यसपछि एकाएक भोलिपल्ट बिहानै उनलाई रिपोर्टर्स क्लबमा केही समयकोलागि अभिनन्दन मात्रै गर्ने भनी डिस्टर्ब गर्दै डाकियो। अनि त्यही धपडिको डिस्ट्र्याक्शनले उनले प्रचण्डसंगको एपोइन्ट्मेण्टको तयारीलाई चुकाएको बुझ्न सकिन्छ। यसपछि पक्कै पनि उनलाई तनाब महसूस हुन थालेको प्रष्टैसंग बुझिन्छ। रिपोर्टर्स क्लबमा उपस्थित हुँदा उनलाई भिडको बिचमा द्रुतगतिमा पढ्ने र स्मरण गर्न सक्ने शक्तिको क्षमता प्रदर्शनी (डिमो) कोलागि नभई सम्मानकोलागि मात्रै भनिएको थियो।

तरपनि पुण्य गौतम लगायतका केही युवाहरुले उनलाई निकैबेर गलफति गर्दै सबैको सामु द्रुत गतिमा किताबहरु पढेर तुरुन्तै आफ्नो अद्भूत स्मरण क्षमता देखाउनकोलागि एकोहोरो दबाब दिई नै रह्यो। तर केही दिनदेखि ‘कताको खानु, कताको सुत्नु’ गर्दै, आराम बिना नै, दिनरात नसुती कुदिरहेका बिजयले कहिल्यै नभेटेका मान्छेहरु अनि कहिल्यै नदेखेका मोटा र बाक्ला किताबहरुलाई त्यति धेरै मान्छेहरुको हल्ला र भिडभाडसामु उतिनिखेरै दिमागभित्र हालेर ठाउँका ठाउँ ओकल्ने जस्तो गम्भीर प्रकृतिको संबेदनशील दिमागी कसरतलाई सन्की भिडको जबर्जस्ती करकापमा, त्यस्तो तनाबपूर्ण बाताबरणमा, हतारहतार रिपोर्टर्स क्लबको बाहिर अज्ञात किताबहरु भएपनि पढेर सबैलाई एकैक्षणमा चमत्कार देखाउनकोलागि उनले केही घण्टा फूर्सद र आराम गर्ने समय माग्दै आग्रह गरे। स्वभावैले पनि यदि उनको दिमागलाई केही दिन अघि देखि नै पर्याप्त आराम र निन्द्रा पुगेकै थिएन भने उनको त्यो आग्रह मुनासीब नै थियो। तर सन्की युवाहरुको भिडले त्यो कुरालाई धैर्य गर्ने तत्परता देखाएन।

एउटा सुपरफास्ट कम्युटर मेसिन त बिना आराम दिनभर खोलेर त्यतिकै चलाउँदा मानिसले कमाण्ड गर्दै खोजेको कुरा त्यस मेशिनले समयमा सर्च गर्न नसकी धेरैबेर सम्म नै आफ्नो कार्य क्षमता गुमाउँदै ह्याङ्ग हुन्छ भने, त्यो कलिलो दिमाग भएको कालिकोटे गाउँले ठिटो, अस्तव्यस्त काठमाण्डु शहरमा रातभर नसुती नसुती कहिले यता त कहिले उता चटारोको साथ् आफ्नो अभूतपूर्ब क्षमता देखाउंदै हिंडिरहेको अबस्थामा एक्कासी रिपोर्टर्स क्लबका कथीत मिडियाका हुँडारहरुको बथानमाझ झन् अलमल पर्ने सम्भाबना ठूलै थियो। जुनकुरो ती अल्लारेको अन्तरमनले अगाडिनै बुझेको थियो। त्यसकारण उनले आफूलाई केही समय दिएमा आफूले सबैलाई छर्लंगैसंग आफ्नो अद्भूत क्षमता देखाईदिने भनिरेकै थिए। तर एउटा आजन्म अटिजमले ग्रस्त मान्छे जस्तो देखिने युवाले उरालेको हुँडारहरुको फौजलाई धैर्य गर्ने क्षमता नै देखिएन त्यतिबेला। फलस्वरुप उनलाई बिनाकारण निहुँ खोजेर खुट्टा तान्न खोजियो। शिक्षाको ज्योतिले नेपालको भबिष्य उज्ज्वल पार्ने ज्ञान बाड्न प्लेटफार्म खोजीरहेको बिजय शाही जस्तो बिशाल हृदय अनि फराकिलो दिमाग भएको प्रतिभा यतिबेला नेपालले पाउनु निकै सौभाग्यको कुरा हो तर त्यसरी उनलाई शुरुमै निरुत्साहित गर्न खोज्नु निकै नै नकरात्मक कुरा हो।

यो कार्यक्रम हेरेपछि केही मिडियाकर्मीहरुले एउटा कलिलो र उदाउँदो नबप्रतिभा – बिजय शाहीलाई जबर्जस्ती उत्तेजित पार्ने र उनको मनोबललाई गिराउने कसरत षड्यन्त्र पूर्बक गरिरहेको पाएँ जुन एकदमै आपतिजनक छ र बिल्कुलै “बाँदरे” प्रवृति हो। यी मिडियाका हुँडारहरुमा या त एकदमै ईर्ष्या, कुण्ठा र डाहाले भरिएको मन छ या आफू भन्दा ठूलो कुनैपनि मिडिया नै छैन भन्ने खालको उन्मत्त घमण्ड छ, वा कुनै शिक्षालाई ब्यापारीकरण गर्ने शैक्षिक माफियाहरुको भित्रभित्रै घुसपैठ छ। नत्र एउटा कम्प्युटरको मेशिनलाई त बेलाबेलामा आराम चाहिन्छ भने मानब दिमागलाई एकदमै आराम र बिश्राम चाहिन्छ। बिजय आफैंले आफूलाई निन्द्रा पुगेको छैन, आराम चाहियो भन्दै गर्दा यसरी उनलाई चारैतिर घेरेर जबर्जस्ती किसिमले अनाबश्यक दबाब दिंदै अहिले नै तेरो सीप देखा भन्दै धपडीमा पार्नु हुँदैनथ्यो।

त्यस्तै मिडियाकर्मीले आफैं मपाईंत्व देखाउँदै निहुँ खोज्ने काम पनि कदापि गर्नु हुँदैनथ्यो। कसैले बीचबाट अस्वाभिक रुपले आफैले आफैंलाई कथित “पीएचडी स्कोलर हुँ” भन्ने खालको उत्ताउलो कुरापनि गरेको सुनियो, जुन एकदमै असान्दर्भिक र हास्यास्पद छ। किनकि बिजय शाहीको अध्ययन र अनुसन्धानले विश्वलाई नै बदल्ने औकात देखाई सक्यो। ती कथित “पीएचडि वाला” को हुँदै गरेको पीएचडीको अनुसन्धानले हाम्रो समाज परिबर्तनमा के अर्थ राख्ला र के नाप्ला भन्ने कुरो समयले नै बताउला अहिलेलाई आफैंले जानून्। तर अरुलाई यसरी “ह्याकलिंग” र “फ्लाक्” दिने खालको ठूलो स्वर नगर्नु भएको भए हुन्थ्यो ती, विद्वानले।

साच्चै नै भन्नु पर्दा मैले त्यो दिन रिपोर्टर्स क्लबमा कता कता एउटा नयाँ प्रतिभा फक्रन नपाउंदै निमोठ्न चाहने कुचेष्टा बोकेको स्याल र गिद्दहरु वरिपरि झुम्मिईरहेको पाएँ। यस्ता दुष्ट प्रवृति अनि नकरात्मक सोचाईले भरिएको कु-तत्वहरुबाट बिजय शाही जस्तो प्रतिभालाई बेलैमा जोगाउनु राज्यको ठूलो दायित्व र तपाईं हामी सम्पूर्ण बुद्दिजीबीहरुको सामाजिक कर्तब्य पनि हो। कृपया सबैले बेलैमा सचेत बनौं।

जे होस् यस बिषयमा मैले तठस्थ भएर भन्नु पर्दा नेपालका मिडियाकर्मीहरुको प्रस्तुतिमा भाग्य न्यौपाने र ऋषि धमलाको प्रस्तुती भन्दा कृष्ण कँडेलको प्रस्तुती अलिक बेग्लै पाएँ। उनले सबैभन्दा बढी हौसला दिए। तरपनि सबैका क्यामेराम्यानहरु भने उही ड्याङ्को जस्तो लाग्यो। जम्मै क्यामेरामेनहरुले रियल टाईममा दर्शकले खोजेको चासोको बिषयबस्तुतिर क्यामेराको लेन्सलाई सोझ्याउन बिर्सिए। त्यो के भने बिजय शाहीले स्मरण गरेका पानाहरुको कन्टेन्ट मुखले भन्दै गर्दा उनीहरुको क्यामेराले पनि त्यै किताबको सम्बन्धित पान्नाहरुमा नजिकबाट दर्शकहरुले पढ्न सक्ने गरी समेटेर देखाउन सक्नुपर्थ्यो।

अर्को कुरो त्यो भिडियोमा महाभारतको किताबको पान्नाको गुणस्तर निकै नै पातलो र कमसल कागजको परेकोले बिजयको हातहरुलाई ती दोब्रिएका पातला पानाहरु पल्टाउँदैमा समय बित्यो फलस्वरुप उनको आँखालाई स्क्यान गर्ने समय लामो हुन गई पहिले भाग्य न्यौपानेको पालामा भन्दा उनको गति धेरै नै घटेको जस्तो भयो। यी त मिडियाहरुका प्राबिधिक कमजोरी भयो। तर सबैभन्दा ठूलो कमजोरी भनेको राज्यको उदासिनता र अकर्मण्यता नै रह्यो।

एउटा जाबो नाङ्गो पाईपको धारो उद्घाटन गर्नलाई राज्यको हेलिकोप्टर दुरुपयोग गरेर ताई न तुईको मन्त्री पठाउन हुने अनि आफ्नो व्यक्तिगत जन्मदिन मनाउन हेलिकोप्टर लिएर हाम्रा मतिभ्रष्ट प्रधानमन्त्री राज्यको महत्वपूर्ण समय र ढुकुटी रित्याउँदै गाउँगाउँ चाहार्न हुने, त्यो भन्दा त बरु यस्ता प्रतिभालाई अब उप्रान्त राज्यले बेलैमा सुरक्षा गार्ड र, गाडी तथा हेलिकोप्टरको नै बन्दोबस्त गर्न किन नहुने? किनकि बिजयको लाईभ भिडियो र अन्तरबार्ताहरुले धेरै कुराहरुको गम्भीर किसिमले छनक दिईरहेकोछ। प्रायजसो उनी आफ्नै मुखले खुलेआम आफू असुरक्षित छु भनिरहेकाछन्। यिनलाई आएको धम्कीपूर्ण म्यासेजमा यिनलाई प्रयोग गरेर पैसा कमाउन खोज्ने दुई पैसे मान्छेहरुको भाषा झल्किन्छ। तसर्थ बेलैमा राज्यको ध्यान जावोस्! त्यस्तै यिनलाई विदेश पलायन हुनबाट पनि रोकियोस्। किनकि यिनको प्रतिभाबाट राज्यको कायापलट हुने छाँट देखिएकोछ।

हुनत आफ्नो पबित्र उद्देश्य अनि राष्ट्रिय अभियानकोलागि उनले सबै युवाहरुको साथ् खोज्दै राज्यको ध्यानाकर्षण गर्न नखोजेका पनि होइनन्। प्रधानमन्त्री केपी ओलीलाई भेट्ने चाहना उनले सबैका सामु राखेकै थिए। राज्यले सुरक्षा दिए कोरोनाको बन्दाबन्दी खुले लगतै नेपालका गाउँगाउँ डुलेर आफ्नो बिजुली चम्के सरी द्रुत गतिको अध्यायन र स्मरणको सूत्रहरु बिना पैसा सबैलाई सिकाउने बाचा पनि उनले खुलस्तै गरेका छन्। तर राज्यको नेतृत्व गर्नेहरुले नै कानमा तेल हालेर सुतिरहेको देखिन्छ। किनकि हाम्रो राज्य चलाउनेहरुलाई शैक्षिक माफिया लगायत विभिन्न तस्कर र माफिया तन्त्रले उम्कनै नसक्ने गरी गाँजेर राखेको छ। नत्र यस्तो शिक्षाको ज्ञान देशैभर सित्तैमा बाँड्छु भन्ने क्षमतावान अनि होनाहार प्रतिभालाई यतिबेलासम्म निराश हुनेगरी कुनै प्रतिक्रिया नै नदिईकन निरिहता देखाउन के ले छेकेको थियो त हाम्रो देशको प्रधानमन्त्रीलाई? किन गुगल ब्वाईले त्यत्रो राज्यको सेवा र सुबिधा पायो अनि किन बिजय शाही जस्ता विलक्षण प्रतिभाले सुरक्षा सम्म नपाएर दुनियाँको धम्की खाँदै खुम्चिएर बस्न पर्यो त? गम्भीर भएर सोच्नु पर्ने अबस्था आएकोछ।

त्यतिमात्रै हैन, उनले आफू असुरक्षित भएको भनिरहँदा पनि किन राज्यले तमासा हेरेर बसिरहेको देखिन्छ भन्ने जिज्ञासा अहिले सर्बत्र बिद्यार्थी वर्ग, अभिभाबक अनि अन्तराष्ट्रिय डायस्पोरामा जोडतोडले उठिरहेकोकोछ। यसबाट नेपालको प्रधानमन्त्री, गृहमन्त्री, शिक्षामन्त्री र संचारमन्त्री आदि जम्मै शैक्षिक माफियाका मतियार रहेछन् भन्ने कुरा प्रष्टै देखिएको छ। यिनको यो आवाजलाई यतिका समय सम्म राज्यले बेवास्था गरिरहेबाट यो कुरा प्रष्टै हुन्छ। अहिलेको सरकार चलाउने नेतृत्व भनेको सत्तामा किर्ना र जुका झैँ टाँसिएर राज्यशक्तिको दुरुपयोग गर्दै नेपाललाई हरिकंगाल बनाउने गिरोहको नाईके मात्रै रहेछ भन्ने कुरो यसै प्रकरणबाट पनि झनै प्रष्ट भएकोछ। अरु राष्ट्रले यस्तो विलक्षण प्रतिभालाई पाएको भए त्यसको सदुपयोग गर्दै आज संसारलाई आफ्नो बौद्दिक शक्तिले कब्जामा पारिसकेको हुन्थ्यो। कम्प्युटर प्रणाली अनि डाटा संकलनको जगतमा चाईनाको पाईभ जी (5G) प्रविधीले आज अमेरिका, बेलायत लगायत विश्वलाई नै हल्लाई रहेकोछ। किनकि त्यसमा विश्वको डाटालाई द्रुत गतिमा सोहोरेर विश्लेषण गर्न सक्ने सामर्थ्य र खुबी छ। जसरी धेरै कम्प्युटरहरुको धेरै डाटाहरुलाई मिलाएर नै सुपर कम्प्युटर बनाईएको हुन्छ। जसबाट शक्तिशाली आर्टिफिसियल ईण्टिलिजेन्स बनाईन्छ तर त्यो भन्दा कयौं क्षमताबान मान्छेहरु नै आफ्नो दिमागको सूत्रले बनाउने दाबी गर्ने बिजय शाहीलाई साँघुरो दृष्टिकोण र दरिद्र सोचाईले हेरिनु विडम्बनाको कुरा हो।

यस्ता साँघुरा दिमाग भएका हाम्रा शासकहरु र तिनका पछाडी आँखा चिम्लिएर हिड्ने झत्ते र झोले युवाहरुको बाहुल्य रहुञ्जेल हाम्रो नेपालको उन्नति र प्रगति कहिल्यै पनि हुँदैन। जबसम्म बिजय शाहीले सम्पूर्ण नेपालीहरुलाई आफू जस्तै फराकिलो दिमाग भएको अनि छिटो र छरितोसंग धेरै कुराहरु पढ्न, सिक्न र विश्लेषण गर्न सक्ने क्षमताको दक्ष युवा जनशक्ति जन्माउन सक्दैनन्, हाम्रो देशमा स्वर्गबाट ईन्द्र ल्याएर १०८ किलोको माला पहिराई सिंहाशनमा राजा बनाएर राज्य चलाउन दिएपनि केही हुनेवाला छैन। बिजयको तत्व ज्ञानको र त्यो ज्ञानको दिग्विजय एकदिन अबश्यै पनि हुन्छ, बिजय भाईलाई धैर्य गर्न म यसै लेख मार्फत आग्रह गर्छु।

भनिन्छ, “नम्बरी या सद्दे सुनलाई कसी लगाईरहनु पर्दैन।” तरपनि शुरुमै मिडियाकर्मीहरुको हतार हतारको र फितलो प्रस्तुतीले गर्दा आम दर्शकहरु माझ केही मिडियाहरुले उनको महत्वपूर्ण पाटोलाई ओझेल पार्दै नकारात्मक तरिकाले अफबाह फैलाउने मौका पाए। शुरुमै मिडियाले सबै कुराहरु समेटेर स्पष्टसंग देखाउन सकेको भए, हेर्ने दर्शकहरुले पनि नहिच्किचाईकन पत्याउने थिए होला र उनलाई पनि थप हौसला जाग्ने थियो। फलस्वरुप अहिले बिजय शाही जस्तो जोशले उर्लंदो होनाहार प्रतिभाको अमूल्य ज्ञानका उर्जाहरु क्रमश अबमूल्यन अनि शिथिल हुँदै ओझेलमा पर्दै एउटा कुनामा थन्किएर बस्न सक्ने खतरा बढी रहेको छ।

मैले आज सम्पूर्ण नेपालीहरुलाई अनि बिजय भाईलाई पनि यो लेख मार्फत केही महत्वपूर्ण सुझाबहरु दिने जमर्को गरेको छु। कृपया ध्यान दिएर पढ्नुहोला। मेरो लेख कसैसंग पूर्बाग्रही र अनुगृहित पनि हुने छैन। किनकि मलाई कसैसंग कुनै लेनादेना छैन। चाहे कोही खुसाओस चाहे कोही रिसाओस्, हलोवालालाई बालै मतलब छैन। सर्ब प्रथम म बिजय भाईलाई के भन्न चाहन्छु भने तपाईंको दिन आउँछ कृपया धैर्य गर्नुहोस् र आफ्नो अमूल्य दिमागमा कुनैपनि तनाब नलिई आफ्नो साधना अनि कर्ममा तल्लीन रहनुहोस्। छोटै समयमा धेरै कुराहरुको अध्ययन र अनुसन्धान गर्न सक्ने खुबी भएको तपाईं जस्ता मान्छेले अहिले सम्म थोरै समयमा नै जे जति पनि तितामिठा अनुभबहरु भोग्नु भो, कृपया सकारात्मक तरीकाले लिंदै अघि बढ्नुहोस्।

शुरुमै म के भन्न चाहन्छु भने, तपाईं आफ्नो ज्ञानलाई यस्ता बिबादास्पद मिडियाहरुमा भेरिफाई गरेर आफ्नो र आफ्ना दर्शकहरुको अमूल्य समयलाई बर्बाद गर्नु भन्दा बरु धमाधम देशका कुना कुनाका झोपडीहरुमा अनि ती अधिकांश झोपडिमा जन्मिएर अवसर नपाएका बालबालिकाहरुलाई अल्झाउने गरिएको सरकारी स्कूल र कलेजहरुमा पसेर आफ्नो ज्ञानलाई फैलाई दिनुहोस्। यसरी हल्का पाराले नेपालका खुराफाते र दोबाटे मिडियाहरुमा आरान थाप्दै समय खेरनफाल्नुहोस्। किनकि तपाईंलाई जज गर्ने अधिकार र क्षमता कसैमा पनि छैन। हेर्ने भ्यूअरहरुको पनि अमूल्य समयको बर्बाद हुन्छ। विभिन्न युट्युबरहरुको कार्यक्रम र प्रस्तुती हेरेर मैले यो पाएँ कि, नेपालमा दर्शक या पाठकहरुलाई राम्रोसंग बुझाउन सक्ने क्षमता भएका गतिला र निस्वार्थ मिडियाको अझैपनि बिकास भईसकेको रहेनछ भन्ने कुरा।

मिडियाकर्मीहरुको खिचातानी र चटपटे प्रस्तुतीले गर्दा धेरैलाई टाढैबाट सुन्दा र देख्दा अपत्यारिलो अनि अस्वाबिक जस्तो लागेपनि एउटा मिडिया विश्लेषकको नाताले मेरो भित्री ब्रह्मले भने बिजय शाहीको निष्कपट र निर्धक्कको प्रस्तुतिलाई टाढैबाट निसंकोच नै नियालिरहेको थियो। मेरो अन्तरमन र ज्ञानले विश्लेषण गर्दै उनको प्रस्तुतीलाई स्वभाविक नै लागेको थियो। तर मिडिया कर्मीहरुको प्रस्तुति र शैलीको कारण भने भिडियो हेर्नेजति सबैलाई पत्याईहाल्न मुस्कील नै बनायो।

अर्कोतिर बिजय शाहीको क्षमतालाई धेरैले बिश्वास गरिहाल्न नसक्नुमा हाम्रो नेपालीहरुको उहिल्यैदेखिको फेरिन नसकेको पुरानो रुढीबादी कुराहरुले अन्धो हुनेगरी ढाकेको र गाँजेको उग्र मानसिकता पनि त्यतिकै दोषी छ। अधिकांश हाम्रा नेपालीहरुको मानसिकताले सजिलै पत्याउने, पचाउने र आँखा चिम्लिएर अन्धोभक्त हुँदै पछ्छ्याउने खालको कुरा भनेको, पुरानो जमानामा सत्ता टिकाउनकोलागि रचिएको, सबभन्दा ठूलो, धर्मको पोर्पागण्डा अनि त्यसैको नाउँमा उब्जाईएको तेत्तिसकोटी देबी देवता, भूत-प्रेत, अनेक नन्दीभ्रिंगी, धामी-झाँक्री, बोक्सी-डंकिनी, छौंडा अनि जादू र तानेमाने तथा टुनामुना जस्ता तिकडम बाजी (ट्रिक) र अन्ध बिश्वासी कुराहरु नै हुन्। त्यसैले त आजभोली “झाँक्री” र “छौंडा” भन्ने शब्द मिडियामा सर्बाधिक लोकप्रिय छ।

बिजयको बैज्ञानिक चमत्कार भन्दा यस्ता निराधार र अलौकिक कुराहरुमा प्राय नेपालीहरुको ध्यान छिटो भन्दा छिटो जान्छ र त्यस्ता कुराहरुलाई सबैले एक ढिक्का भएर पत्याउँछन् र बिश्वास पनि गरिहाल्छन्। उदाहरणकोलागि संसारकै बैंकबाट रातभर धन ल्याएर घरमा थुपार्न सक्ने शक्ति भएको “सकडा” भन्ने जन्तुको दाहिने डुंडुलाको हड्डी अनि “बनझाँक्रीको हाड”, काँक्राको बियाँ आकारको सर्पको शिरमाथि झलमल्ल बल्ने नागमणि या शिरोमणी, थालमा फिँजारिएको चामललाई एकै ठाउँमा थुप्रो लगाउनेगरी तान्न सक्ने अदृश्य शक्ति भएको सत्ययुगको राम राज्यकोपालाको “हनुमाने पैसाको ढ्याक” अनि स्यालको सिङ्ग या तामाको चोखो कुँडेको ताउलो माथि करुवाको मुखबाट शुद्द गाईको दूधको धारा खान्याउँदा, माथी उल्टोदिशातिर बगेर आकाशतिर उडी जाने चामत्कारिक गुणले भरिएको “एक्मुखे रुद्राक्ष” आदि आदि।

यस्ता कन्स्पाईरेसी थीईरीका कुराहरुमा अप्रत्यक्ष किसिमले धार्मिक आस्थाका अबतारहरुको अदृश्य शक्तिको गुणगान गाईएको र मानिसको दिमागमा त्यस्ताकुराहरु पत्तै नदिईकन जबर्जस्ती स्थापित गर्नलाई घुसाईएको हुन्छ, जुन कमै मान्छेहरुलाई मात्रै थाहा छ।

नेपालका दु:ख नगरी धन कमाएका र कमाउन खोज्ने मानिसहरु देखि राज्यलाई कर छल्ने तस्कर/ब्यापारीहरु अनि आर्मी र पुलिसका उपल्ला दर्जाका भ्रष्ट र बुद्दू हाकीमहरु पनि जिन्दगीभर पागल झैं क्रेजी भएर यस्ता कुराहरुलाई बिश्वास गर्दै पछ्छ्याई रहेका हुन्छन्। यो कुरो नेपालमा मिडियाको ढ्यांग्रो बजाउने दोबाटे झाँक्रीहरुलाई राम्रै र प्रष्टैसंग थाहा छ। त्यसैले तिनीहरुले बिजय भाईको बैज्ञानिक कुरालाई एकैचोटी समेटेर राम्ररी बाहिर ल्याउन चाहेनन् या ज्ञानको कमीले सकेनन् तसर्थ कतिपय पढेलेखेका विद्वानहरुले पनि शुरुमा उनको आविष्कारलाई पत्याउन सकेनन्।

उनको ज्ञानलाई यदि कुनै मिडियाले सरस्वति पूजाको दिन पारेर लौ है “सरस्वती माताको आशिर्बादले कालिकोटका ठकुरीका छोरा बिजय शाहीले अलौकिक चमत्कार देखाए!” भनिदिएको भए या कालिकोट माईको आराधना र साधना अनि आशिर्बाद पाएका “कालिकोटे झाँक्री कान्छाको कमाल हेर्नुहोस् है!” भनेर प्रचार गरिदिएको भए या जादू तथा टुनामुनाको प्रभाबले यस्तो भएको रे! भनिदिएको भए लगभग मिडिया र ईन्टरनेटको पहुँच हुने जति जम्मै नेपालीहरुले तुरुन्तै हेरेर बिश्वास गर्दै शेयर समेत गरिसकेका हुन्थे।

अझै बाईबलको किताब या कुरानको पन्नाहरु पढ्न दिए जस्तो गरेर” सकलवा-लवा र हबडब्ब-डब्बा” भन्न लगाउँदै उनलाई ती धर्म प्रचारकहरुले उपयोग गरेको भएपनि हाम्रो नेपालमा एकैक्षणमा हंगामा मच्चिएर सबै त्यसकै पछि लागिसकेका हुन्थे। या ठूलै चर्चा बोटल्न सक्षम पनि हुन्थ्यो होला। तर कालिकोटे कान्छा ब्रो ले सोझै बैज्ञानिक कुरा गरिदिनु उनको महाभूल भयो। फलस्वरुप खुम्चिएर बस्नु पर्यो।

अझै त्यसमाथी हेर्नेजति जम्मैले देख्ने बित्तिकै लाईक गर्दै १०/१० चोटी शेयर गरेमा उही दिनको केही घण्टा भित्रै मनले चिताएको कुरा पुग्ने! भनेर कुनै दैबी शक्तिको नाउँ जोडेर फेसबुकमै राखिदिएको भएपनि पी एच डी गरेका डाक्टर नेपालीहरु समेत देखि धुरन्धर कम्युनिष्टका नेता र कार्यकर्ताहरुले समेत ” ईन्स्ट्याण्ट गुडलक्” को आशाले उतिनिखेरै नै सो कुरा बुझ्थे र “दे दनादन, दे दनादन” गर्दै भटाभट शेयर पनि गरीहाल्थे। अथवा बिजय शाहीले पनि कालो या गेरु बस्त्र पहिरिएर हातमा चिम्टा, झ्याम्टा, डम्मरु र त्रिशूल बोक्दै अनि ढ्याङ्ग्रो ठोक्दै “हेर मनुवा हेर” गर्दै आफ्नो त्यो कुनै दैबी शक्तिको अलौकिक क्षमता हो भन्दै प्रचार गरेको भए बिश्वास गर्दै सबैको ध्यान त्यतैतिर मोडिन सक्थ्यो। तर उनले सूत्र र बिज्ञानको कुरा गरे, सबैलाई नि:शुल्क रुपले शिक्षित र दीक्षित बनाउने भने, त्यसैले उनलाई साथ् दिने भन्दा शंकाको घेरा बन्दीमा पार्दै खुट्टा तान्ने नेपालीहरु धेरै निस्के।

त्यस्तै, कसैले उनलाई ओलीलाई प्रधानमन्त्रीको पदमा टिकाई राख्नकोलागि उहिल्यै गुगल ब्वाईलाई प्रयोग गरे झैँ – “लौ है! कालिकोटे काली माईको आशिर्बाद पाएका १९ बर्षे कालिकोटे ठिटाले एकै क्षणमा झाँक्री बस्दै, महाभारत लगायत सम्पूर्ण हिन्दू धर्म ग्रन्थहरुका अकाट्य बाणीहरुलाई अक्षरस आँखाले निल्दै बर्तमान् प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई, हातमा खड्गधारी दक्षिणकाली माई जगाई अब लगातार १० बर्षकालागि प्रधानमन्त्री बन्ने भबिष्यबाणी गर्दै आशिर्वाद दिए!” भन्दै ओलीको सत्ता टिकाउनकोलागि नाटकीय ढंगले मनोबैज्ञानिक प्रचार गराईदिएको भए या प्रचण्डको राजनैतिक स्वार्थकोलागि उनको प्रतिभालाई उपयोग गर्दै “लौ है! उग्रचण्डी माताको आशिर्बाद पाएका कालिकोटे अलौकिक युवा बिजय शाहीले अब प्रचण्डलाई भाबी प्रधानमन्त्री या कार्यकारी राष्ट्रपति हुने भबिष्यबाणी गरे!” भनाईदिएको भए नेपाली राजनैतिक तथा धार्मिक जगतका हनुमानहरुमा एउटा ठूलै तरङ्ग पैदा हुन्थ्यो र त्यसरी बिजय शाहीले झोले मिडियाका हनुमान र झाँक्रीहरुको गुलामी गर्नै पर्थेन।

यस्तै कुराहरुमा नेपाली मिडिया डबली र दर्शकदीर्घाको मन र आँखाको माग बुझेर नै “दर्शकले मागेजति, जतिसुकै नग्न भएर पनि आफ्नो गोप्य अंग प्रदर्शन गर्न तयार छु” भन्ने खालको कुनै फिल्म खेल्नमा लाचार अल्लारे युवतीले झैं लाजै पचाएर कम्युनिष्टका आस्तिक नेताहरु पनि अहिले बुझ पचाएर नै निकै धार्मिक र आस्तिक कुरा गर्दै आफ्नो सत्ता टिकाउने प्रयास गर्दै हिंडीरहेका भेटिन्छन्। उदाहरणकोलागि मार्क्सबाद र लेनिनबादको गीता रट्दै तत्कालीन झापा आन्दोलन गर्ने नेकपा मार्क्सबादी लेनिनबादी (माले)का ओली जस्ता अहिलेका नेताहरु अनि त्यत्रो जनयुद्द गरेर आएका प्रचण्ड र बाबुरामहरु जस्ता आस्तिक नेताहरु पनि आम नेपाली जनताको चेतनास्तर र अहिलेसम्म बिकसित मानसिकता नै यस्तै रहेछ अनि त्यसलाई बदल्न निकै गाह्रो रहेछ भन्दै हायल-कायल र आजीत हुँदै “त्वं शरणं गच्छामी” भन्दै अहिले आएर ती भौतिकबादी नेताहरु जति जम्मै एकाएक धर्मगुरुहरु, माता आदि दैबी शक्तिको शरणमा परिरहेका देखिन्छन्। अहिले आएर उनीहरु भकाभक देबीदेवताका मन्दिर अनि विभिन्न शक्ति पीठ र तिनका मठाधीशहरुको चाकडी र पूजापाठ गर्नतिरै फर्किए।

केही वर्ष पहिलेको पशुपतिको भट्ट काण्ड, भर्खरैको राम जन्मभूमि अयोध्या काण्ड पनि यसैको शृंखला हो। किनकि बैज्ञानिक कुराहरु भन्दा यस्तै यस्तै उट्पट्याङ्ग लाग्दो र महत्वहीन बिषयमा बोलिदियो भने नेपाली जनताहरुले तुरुन्तै पत्याएर लठ्ठिञ्छन् र अरु जल्दाबल्दा मागहरु राखेर आफ्नो सत्ताको बिरोध गर्दैनन् भन्ने कुरा ती नेताहरुले प्रष्टैसंग बुझिसकेकाछन्।

तसर्थ अहिलेको नेपाली समाजले पचाउने फर्मुला र बिश्वास गर्ने कुरा भनेको बिजय शाहीको बैज्ञानिक फर्मूला भन्दा तन्त्रमन्त्रका कुरा, धामी, झाँक्री, ज्योतिषी बिद्या जान्ने पण्डितहरुका खुराफाती कुराहरु, अनि भारतीय धर्म गुरुहरु, भातमारा जोगीहरु अनि गाँडमारा बाबाहरुका हातमा सुनको सिक्री फलाउने सुकुलगुण्डे जादू। त्यस्तै नेपाली जनताहरुले सबभन्दा पत्याउने फर्मूला भनेको मानिसलाई गुमराहमा राख्दै तिनै मानिसहरुलाई आफ्नो खुट्टा ढोगाउने र जिन्दगीभर आफ्नो चाकडी गराउने ढोंगी बाबाहरु र तिनका काम सूत्र प्रयोग गर्दै तिनलाई नै थाङ्ग्नामा सुताएर सिध्याउने फर्मूलाहरु। यस्तो कुरा सुन्ने र पत्याउने आदत या बानी परेका मान्छेहरुका भित्री दिमागको “माईण्ड सेट” भित्र बिजय शाही जस्ता नबप्रतिभा बैज्ञानिकका फर्मूलाका कुराहरु पत्याई हाल्ने खुबी र स्थान नै हुँदैन।

यसै प्रसंगमा अहिले सोझा जनताहरुको यस्तो आनीबानी पहिल्यैदेखि जानेका र बुझेका केही भंडुवा बुद्दिजीबीहरुले बिजय शाहीको विलक्षण प्रतिभाको कुरालाई ओझेलमा पार्दै आफूहरु अरुको सामु हिरो पल्टिनकैलागि पनि अनेक थरीका शंकाउपशंका अनि अतिरन्जित केरकार गर्दै सोझा मानिसहरुलाई भ्रम फैलाई रहेकाछन् जस्तो पनि बुझिन्छ।

नेपालमा यस्तो प्रवृतिलाई तह लगाउन कसैको बाउको केही सीप लाग्दैन। त्यतिकै पनि मानिसहरुको तिनैको अफबाहको पछिपछी लागीहाल्छन्। फेरी अटिजम या स्किजोफेर्नियाको थोरै लक्षण भएका साईकोपाथहरुलाई “लाटाको देशमा गाँडा तन्नेरी” पल्टने मुड स्वीङ्ग अर्थात् लहड पनि चल्दो हो। यस्तो अबस्थामा सामान्य जिज्ञासा र सोझो प्रश्न गर्न तिनीहरुलाई शुरै हुँदैन। अरुलाई सिधै लपेटेर डोमिनेट गर्दै आफूलाई के के न ठूलो हिरो देखाउन खोज्ने यस्ता “गाँडा तन्नेरी” प्रवृतिका अल्ढ्याङ्ग्रा मान्छेहरुकोलागि बिजय शाही जस्तो भर्खरका प्रतिभाहरुलाई “फ्लाक (Flak)” दिनुको विकल्प नै हुँदैनथ्यो। नत्र तिनका लोलाएर बटारिएका आँखातिर फर्केर कसले हेरिदिने र तिनका वाहियात फाल्तु गफहरुलाई कसले सुनिदिने त?

अर्कोकुरा, नेपालका सस्ता मिडियाकाकर्मीहरुलाई बिजयको मौलिक आविष्कारको बास्तबिक रहस्यलाई प्रष्ट्याईदिने गरी आफ्नो क्यामेराको लेन्स सोझ्याउन नै आउँदैन जस्तो लाग्यो। तिनलाई आउँछ त केवल तिनका आफ्नै मालिकहरुलाई नै दर्शकको सामु हाईलाईट गराउनकोलागि, तिनकै अनुहारतिर मात्रै क्यामेरालाई फोकस गर्न मात्रै। बिजयको अमूल्य ज्ञानको प्रस्तुतीको (Presentation/Domo) लाई रियल टाईममा क्यामेरा भित्र कैद गर्नकोलागि ती क्यामेराम्यानहरुले कुनै कोशिशै गरेको देखिएन। त्यसैकारण नै धेरै मानिसहरुलाई बिजयको अभूतपूर्व कला र ज्ञान सहितको बिज्ञानको बारेमा शंका पैदा भईदियो। तर म पहिला हाम्रा नेपालीहरुको मानसिकता र यस्तो मानसिकताको फाईदालिने मिडियाकर्मीहरुकै बारेमा चर्चा गर्नेछु। किनकि नेपाली समाजलाई आजसम्म गुमराहमा राख्ने हात यस्तै खुराफाती मिडियाको पनि हो।

चाहे त्यो धर्म होस् या राजनैतिक बिचार या सिद्दान्त या फेशन तथा उपभोग्य बस्तु नै किन नहोस् त्यो नेपाल नजिकको ईण्डिया, चाईना या अन्य पश्चिमा मूलूकहरुबाट कामै नलाग्ने भएपछि मात्रै नेपालमा भित्रिने गर्छ। नपत्याए नेपालका हरेक क्षेत्रहरु जस्तै राजनैतिक, साँस्कृतिक, शैक्षिक, औधोगिक, यातायात जम्मै क्षेत्रको कुना कुनामा गएर ध्यानपूर्बक हेर्नुहोस्।

अन्न, फलफूल, तरकारी, नून, तेल, मसलाका परिकारहरु मात्रै नभई फेशन र ज्ञान समेत हाम्रा नेपालीहरुलाई आफ्नो मूलूकमा उब्जिएको र उम्रिएको मौलिक कुराहरु पहिल्यैदेखि मन पराउँदैनन्। अथवा आफ्ना उत्पादनका चीजहरु अत्यान्तै सुन्दर र स्वास्थ्यकर हुँदाहुँदै पनि नेपालीहरुलाई बिश्वास गर्न नै मनलाग्दैन। यस्तो हुनुमा पनि हाम्रो देशको खुराफाती मिडियाकै दोष छ। उहिल्यैदेखि बिदेशी दलाल मिडियाहरुले सोझा नेपाली उपभोक्ताहरुलाई यस्तो तरीकाले दिमाग भुटीदिएका छन् कि, नेपालीहरुले आफ्नो मातृभूमिमा उब्जिएको मौलिकपनालाई कहिल्यै राम्रो प्रचारका साथ् थाहा समेत पाउन सकेनन् स्वाद पाउन र मनपराउन त परै जाओस्।

त्यही भएर नै नेपालमै जन्मिएका गौतम बुद्दले आफूले पत्तालगाएको बैज्ञानिक ज्ञानको फर्मूलालाई आज विश्वको दुई तिहाई जनसंख्याले उत्सुकतापूर्बक विभिन्न सोध खोज र अनुसन्धान गर्दै पछ्छ्याई रहँदा पनि “नजिकैको तिर्थ हेलाँ” भने जस्तै हाम्रै नेपालीहरुले अझै पनि मान्नलाई हिचकिचाई रहेकाछन्। किनकि नेपालीहरुलाई बिदेशी प्रभूहरुको सिद्दान्त मात्रै मन पर्छ। ती प्रभूहरुद्वारा प्रतिपादित सिद्दान्तहरुले सारा नेपालीहरुलाई अफिम, भाङ्ग, धतुरो र अहिले आएर होली वाईनले झैं नराम्ररी लठ्याई रहेकोछ। त्यसमा पनि मिडियाकै घूसपैठ छ।

अर्कोतिर हाम्रा नेपालीहरु जे कुरामा पनि अलिकति राजनीति जोड्यो भने उफ्रन्छन्। जस्तै “बुद्द बाज बर्न ईन नेपाल” या “राम वाज बर्न ईन नेपाल” भनिदियो भने राष्ट्रबादले उन्मत्त भएका हाम्रा नेपालीहरु त्यतैतिर उफ्रेर चिच्याउँछन् तर आफ्नै देशमा जन्मिएका मान्छे गौतम बुद्दका ज्ञानको सार के हो या रामराज्यको सार के हो? भन्यो भने नेपालीहरुले मुन्टो बटार्छन्।

यति भनिरहँदा मलाई कता कता ईन्द्रको अगाडि स्वर्गको बयान गर्दैछु कि जस्तो पनि लागेको छ, बिजय शाहीको अगाडी। किनकि बिजय शाही आफैंले नै नेपालको घोकन्ते शिक्षा प्रणाली र नेपाली मिडियाहरुको अस्वाभाविक ब्यबहार र प्रवृतिको बारेमा आमूल परिबर्तन गर्ने गरी बक्तब्य दिंदैछन्। तर मिडियाले कस्तो कुरालाई बिरोध गर्नुपर्छ र कस्तो कुरालाई बढावा अनि हौसला दिनुपर्छ भन्ने कुरा हाम्रा कुनै पनि मिडियाकर्मीहरुलाई थाहा नै छैन भन्दै मिडियालाई समेत उनले सचेत गराई रहेकाछन्। उनले नेपालको शिक्षा नीति कामै नलाग्ने गरी खिया लागेर भुत्ते भैसकेको भन्दै खुलेआम त्यसको बिरोध गरिरहेका छन्, जुन एकदमै स्वागतयोग्य र मनन् योग्य छ।

हुन पनि बिजयले भने जस्तै प्राथमिक शिक्षामा १३/१४ लाख भर्ना भएर १० कक्षा सम्म आई पुग्दा ४/५ लाखले मात्रै एस.ई.ई. परीक्षामा सामेल हुनु, त्यसमाथी पनि धेरैले परीक्षामा सम्झिएर लेख्न नसकी फेल भएर *आत्महत्या* गर्न बाध्य हुनुमा हाम्रो देश नेपालको शिक्षा नीति, प्रणाली र पढाउने तरीका नै जिम्मेवार छ। पास भएकाहरुले पनि दक्ष जनशक्तिको रुपमा फिल्डमा काम गर्न नसक्नु राष्ट्रिय बिडम्बनाकै कुरो हो। उदाहरणकोलागि तीसौं वर्ष लगाएर बल्ल बल्ल पूरा हुन लागेको मेलम्चीको बाँध फुटेर स्वयं ईञ्जिनियरहरु र तिनका गाडी नै बेपत्ता हुनुमा हाम्रो देशको शिक्षा प्रणाली नै दोषी छ।

त्यस्तै पुलहरु बन्न नपाई ढल्नुमा हाम्रो देशको शिक्षा नीति र प्रणाली नै दोषी छ। खेतबारी बाँझै बसेर जनता खाना नपाई भोकभोकै मर्नुमा हाम्रो देशको शिक्षा नीति नै दोषी छ। प्लस टु पास गर्न नपाउंदै बिद्यार्थीहरु छट्पटिएर बिदेशी बिश्वबिध्यालयहरुलाई पछ्छ्याउँदै कुद्नु अनि राष्ट्र बैंकको डलरको ढुकुटी जति जम्मै अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया जस्ता धनी देशहरुतिर बिद्यार्थी भिषा र युनिभर्सिटी फीसकोलागि बिदेशी मुद्राको निहुँमा बाहिरै गईरहनु अनि ती देशहरुमा पढीसकेका र दक्ष भई सकेका जनशक्तिहरु पनि उतै सानोतिनो कामहरुमा अल्झिरहनुमा हाम्रो देशको शिक्षा नीति र नेतृत्व प्रणाली नै दोषी छ। त्यस्तै युवाहरुलाई बिदेशमा बेचेर नेताहरु भ्रष्टाचारमा रमाईरहनुमा पनि हाम्रो देशको शिक्षा नीति र नेतृत्व प्रणालीकै दोष छ। अनि अस्पतालमा उपचार नपाएर सारा रोगले मान्छे मर्नुमा शिक्षा माफिया पोष्ने हाम्रो देशको शिक्षा नीतिकै कमजोरी छ। जग बलियो भए पो घर बलियो हुन्छ। जनता निरोगी भए पो उत्पादन बढ्छ?

त्यस्तै अनिकाल, कुपोषण, कमसल र गुणस्तरहीन खानपान र मध्यपान, लागू औषध, दुर्ब्यशन, धुम्रपानको कुलत आदि जम्मै प्रत्यक्ष अप्रत्यक्ष रुपमा शिक्षा प्रणाली र त्यसले उब्जाएको अदुरदर्शी जनशक्ति कै कारणले गर्दा हो भन्ने कुरा बिजय शाहीको अतुलनीय स्मरण शक्तिको विश्लेषणले देखाउँछ। मानिसहरुको मानसिक स्वास्थ्य बिगार्ने खालको हुँडारे मिडिया प्रवृति, साईबर बुलिंग, मेन्टल हेल्थ समस्या आदिको कारण पनि कमजोर शिक्षा नीति, अशिक्षा र बेरोजगारी नै हो भन्ने कुरालाई बिजय शाहीको स्मरण शक्तिको परिक्षणको नाउँमा भएको तितो अनुभबले बताउँछ। यी जम्मैमा मुख्य भूमिका भनेको, बिजय शाही भाईले भने जस्तै रटेर कण्ठ गरेको भरमा पास गर्ने होडबाजी तर फिल्डमा काम गर्न नसक्ने कमजोर शिक्षा प्रणाली र क्षणिक स्वर्थकोलागी त्यसकै उल्टो चाकडी र दलाली गर्ने मिडियाको समेत हात छ। त्यस्तै देशमा प्रहरीको बर्बरता मानवाधिकारको हनन्, चेलीबेटी बेचबिखन र खुलेआम बेश्यावृति हुनुमा पनि शिक्षा प्रणाली नै जिम्मेवार छ।

बिजय शाहीले भनेको जस्तै गहीरो अध्ययन अनुसन्धान गर्ने र धेरै किताब तथा संसारभरका साहित्यहरु अध्ययन र स्मरण गर्न सक्ने तथा त्यसको विश्लेषण गर्नसक्ने खुबीको कमि तथा नैतिक शिक्षाको कमीले नै आज नेपालका पुलिश प्रशासन, मालपोत अड्डा अदालत देखि सर्बोच्च अदालतका न्याधीशहरुमा समेत सर्बत्र बिकृति बढ्दै गैरहेको तथा लाजै नमानी घूसपैठहरु मौलाईरहेको छ। फलस्वरुप भ्रष्टाचारीहरु र ज्यानमारा जस्ता जघन्य मुद्दाका अपराधीहरु सामान्य तारेख मै भकाभक छुटीरहेका छन्। यो सब जनताको अध्ययन गर्न सक्ने र स्मरण गर्दै विश्लेषण गर्न सक्ने शक्तिको कमीले गर्दा नै भईरहेको छ।

त्यसको परिणाम स्वरुप – देशमा कालाबजारिया तथा दलाल मिडियाहरुको बिगबिगी र दादागिरी छाईरहेको छ। यति सम्म कि, मिडियाको शक्तिको दुरुपयोग गर्दै आत्महत्या दुरुत्शाहन जस्तो आपराधिक कृयाकलापहरु पनि लोकतन्त्रको अभ्यासरत हाम्रै जस्तो मूलूक नेपालमा भईरहेको देखियो। न्याधीशले खुलेआम घूश खाएर यस्ता सुदखोर ज्यानमाराहरुलाई हाक्काहाक्की छोडिरहेकाछन्। मिडियाको दुरुपयोग गर्दै साईबर बुलिंग गर्दै अरुको ज्यान लिने अप्रत्यक्ष ज्यानमाराहरु जस्ता मान्छेहरुले मिडियाको डबलीमा थोरैलाई कारबाही गरेको देखाएर भित्रभित्रै धेरै भ्रष्टाचारीहरुलाई ब्ल्याक्मेलिङ्ग गर्दै पर्दा पछाडीबाट बोराका बोरा करडौ अनि अरबौं अकूत सम्पति असुल्दै र कुम्ल्याउँदै राष्ट्र र समाजलाई बर्बाद पारिरहेका छन्।

उपरोक्त कुरा भन्दै कुनै प्रत्यक्षदर्शी मिडिया कर्मीले नै, आफैले आफैलाई शहिद बनाई मृत्युको अन्तिम घोषणाको साबिती बयान दिंदै, यस्ता चोर माथि चकार लाग्ने भ्रष्टाचारीहरुको पनि महाभ्रष्टाचारी पाखण्डी मिडियाको जादू खेलाउने “डन्” हरुलाई समेत नछाड्ने गरी फाँसीको सजायँ दिने कानून संशोधन नगरेसम्म नेपालमा भ्रष्टाचार निर्मूल हुनै नसक्ने र कुनैपनि हालतमा बिकास समेत हुन नसक्ने भन्दै नेपालको कानून संशोधनको माग गर्दै आत्महत्या गर्न पर्नुमा हाम्रो देशको घोकन्ते शिक्षा प्रणाली र त्यस्तो प्रणालीबाट आएको न्याय प्रणाली कै हात छ।

नत्र राम्रो शिक्षा नीति र शिक्षा प्रणाली ठीक भएको भए हाम्रो देश लाटोहरुको देश जस्तो हुने थिएन र लाटाको देशमा गाँडा तन्नेरीहरुको रजाईं पनि हुने थिएन। यस्ता अप्रत्यक्ष ज्यानमारा तथा प्रत्यक्ष ज्यान मार्ने कर्तब्य गर्ने ज्यानमाराहरुलाई उन्मुक्ति दिने खालका हर्कत गर्ने अदालतका भ्रष्ट न्याधीशहरु पनि जन्मने थिएनन् होला, हाम्रो नेपालमा।

त्यस्तै यदि राम्रो शिक्षा प्रणाली हुन्थ्यो भने घरघरै मोटर चलाउने लाईसेन्सहरु पनि घूस खुवाएको भरमा आउने थिएन, अनि जाँड खाएर जथाभाबी गाडी चलाएर मान्छे मार्ने ज्यानमारा अपराधीहरुलाई पनि यदि, कानूनको दफादफा राम्ररी पढेको र राम्रोसंग स्मरण गर्दै संझिएर विश्लेषण गर्न सक्ने वकील तथा न्याधीशहरु जन्माईन्थ्यो भने पक्कै पनि घुसकै भरमा त्यतिकै अपराधीहरुलाई छोड्ने काम बन्द हुन्थ्यो होला।

त्यस्तै राम्रो शिक्षा नीति र प्रणाली नेपालमा हुन्थ्यो र त्यसपछि जन्मिएका मान्छेहरु हुन्थे भने एमसीसी जस्तो राष्ट्रघाती अमेरिकी संझौताहरु पनि बिजय शाहीले जस्तै एकै क्षणमा पढेर अकाट्य (Withstanding) आर्टिकलका दफा र बुँदा सम्झिन्थे अनि राम्ररी विश्लेषण गरेर कमसे कम सय वर्ष पछि पनि नेपाललाई यसको कस्तो असर र प्रभाब पर्छ भनी राम्ररी दिमाग भित्र स्टोर गरी केलाउन सक्थे होला। त्यसरी थोरै डलर खाएर राष्ट्रघात गर्दै आँखा चिम्लिएर जथाभाबी सही गर्दै सारा नेपालीहरुलाई थाङ्गनामा सुताएर उल्लू बनाउन खोज्ने थिएनन् होला।

तसर्थ बिजय शाहीको नेपालको शिक्षा प्रणालीलाई कायापलट गर्ने बाचा सहितको सूत्र (फर्मूला) र मिडियालाई उनले दिएको चुनौती बिल्कुलै मुनासीब देखिन्छ।

तरपनि यस्तो अर्गानिक सिद्दन्तलाई चारैतिरबाट कोपिला अबस्थामा नै हौसला दिनुको सट्टा क्रुर तरीकाले प्रहार भएको देख्दा निकै नै दु:ख लागेको छ। तर म बिजयलाई नआतिनु पछि सबैले साथ् दिने छन् मात्रै भन्छु किनकि गौतम बुद्दलाई पनि शुरुमा आफूले पत्ता लगाएको ज्ञानको प्रचार प्रसार गर्दा यस्तै आपत आईलागेको थियो। कसैले त उनको गालामा आएर थप्पड नै हानेको थियो रे।

कहिलेकाहीं ईतिहासको कष्टकर घटनाहरुले अवसर पनि बोकेर आउँछ अरे। त्यसैले संसारभर कोरोनाको त्राश र आतंक फैलिएर बन्दाबंदी हुँदा, त्यसैबेलाको साधनाबाट बिजय शाहीले एउटा ज्ञानको ज्योति प्राप्त गरे। तरपनि धेरैलाई नेपालमै बसेर बिजय शाहीले प्राप्त गरेको गरेको ज्ञानको सिद्दान्त बिस्वासै लागिरहेको छैन। किनकि हाम्रो नेपालमा बाहिरको सिद्दन्तहरुलाई मात्रै राम्रो मानिन्छ। कुनैपनि सिद्दान्तहरु अन्त काम नलाग्ने भएपछि मात्रै हामीकहाँ भित्रिने गर्छन्।

चाहे त्यो मार्क्सबाद, लेनिनबाद र माओबादको मिति गुज्रिएको राजनैतिक सिद्दान्त होस् या कुनै धार्मिक नै, मैले माथि भने जस्तै विभिन्न बिदेशी सिद्दान्त र रुढीबादी धर्मलाई मात्रै हाम्रा नेपाली दर्शकहरुले प्रा:य आजसम्म नै आँखा चिम्लिएर अनुसरण गर्दै पत्याएका र पछ्छ्याउँदै नेपालमा भित्र्याएका पनि छन्। बिशेष गरी अन्धभक्त नेपाली चेलाचेलीहरु बैज्ञानिक कुराहरुमा भन्दा सस्तो लोकप्रियता र प्रोपगण्डाकोलागि गरिने चामत्कारिक कुराहरुमा धेरै बिश्वास गर्छन् र त्यसैको अतिरन्जित तरीकाले नेटवर्किंग शैलीमा प्रचारप्रसार गर्ने पनि गर्छन्।

चाहे ती अनेक थरी बाबाका भेषमा देखिउन्, चाहे ती कृष्ण गिरी जस्ता बलात्कारीको रुपमा या कथीत तबस्वी राम बहादुर बोम्जन जस्ता ढोंगी र ब्यभिचारी, बलत्कारी अनि पाखण्डीहरु नै किन नहुन्; चाहे साईबाबा नामका समलिंगी र बाल यौन दुराचारी नै किन नहुन्, हाम्रा नेपालीहरुलाई धर्म र दैविक शक्तिको नाउँ जोडीदियो भने निकै नै ठूलो आस्थाको भोक जाग्छ र ज्यानै अर्पेर बुझ्दै नबुझी त्यस्ता ढोंगीहरुका अन्धभक्त भएर जिन्दगीको आमूल्या समय खेर फाल्न तम्सन्छन्। त्यसपछि बुझ्नु न सुझ्नुसंग तिनका ठूल्ठूला फोटाहरु पनि दुख गरी कमाएको पैसा खन्याउँदै किनेर ल्याएर आफ्नो घरको दैलोमा सबैले देख्ने गरी ठड्याउँछन्।

फोटो भन्दा अलिक अपत्यारिलो तर हाम्रा नेपाली भेडाहरुलाई सुनाउनु पर्ने एउटा कुरा खोतल्छु। मेरो एकजना नजिकको साथीले उहिल्यै अमेरिकामा ह्याण्डि क्राफ्टको ब्यापार गर्थे। उनी एक ब्रिटिश सेनाका रिटायर्ड अफिसर पनि हुन्। सन् २००० को जनवरी वरीपरी ब्रिटिश सेनाबाट अवकाश प्राप्त गरेपछि उनले अमेरिकामा हस्तकलाका सामानहरुसंगै विभिन्न कला र सांस्कृतिक कुराहरुको ब्यापार पनि शुरुगरेका थिए। त्यसबखत ब्यपारकै शिलशिलामा उनले साइबाबाको आकर्षक फोटोहरु समेत् आफ्नो पसलमा झुण्ड्याइएर बेच्ने गर्थे अरे। एकदिन उनको पहिलाको आर्मी छँदाको सहकर्मी साथी उनको पसलमा आउँदा त्यो साईबाबाको फोटो देख्ने बित्तिकै उक्त फोटोलाई उनको पसलमा नराख्नकोलागि आग्रह गरेछन्। ती मित्रले किन होला र? भन्दै जिज्ञासा पूर्बक सोधेछन्।

त्यसपछि उसको साथीले आफ्नो बाबु र आमा दुवै ईण्डियामा साईबाबाको नजिकको परम भक्त भएको र साईबाबाको आश्रममा सेवारत आफ्नो अभिभाबकसंग सानैमा हुर्किरहेका बेला उनलाई साईबाबाले आफ्नै आश्रममै बलात्कार गरेका थिए अरे भन्दै निकै गहीरो दु:ख मान्दै भनेछन्। त्यतिबेला उनी सानो बालकै थिए अरे। आफू सानो छँदा साईबाबाको बलात्कारको शिकार भएको कुरा तिनले आफ्ना बाबु र आमा दुवैलाई भन्दा पनि उनीहरुले ती बालकलाई विश्वासै गरेनन् अरे र उल्टै आफ्नो नाबालक छोरालाई हकार्दै पुन धेरै समय सम्म नै साईबाबाकै आश्रममा चाकडी गर्दै बसे अरे।

ती रिटायर्ड अफिसरले साईबाबाको यौनहिंसाबाट पिडित आफ्नो साथीको भनाई राख्दै भने “‘हेर साथी, अहिले म आफ्नो पत्नी र बालबच्चासंग अमेरिकामा छु, सेनाको मेजर जस्तो पनि भएँ तर कोसंग यस्ता कुराहरु शेयर गरौं, कसैले विश्वासै गर्दैनन्। यसको फोटो (साईबाबाको फोटोलाई देखाउंदै) देख्ने बित्तिकै मलाई त्यही अबस्थाको भयाबह कुराको याद आउँछ र खप्नै नसक्ने गरी रीस उठ्छ, त्यसैले मलाई साथी भन्ने हो भने त्यसको फोटो तुरुन्तै हटाऊ। म एक सेकेन्ड पनि हेर्न सक्दिन।’ अनि उनले थपे “त्यो साथीले यसरी भने पछि मैले पनि तुरुन्तै त्यो साई बाबाको जगल्टे फोटो बेच्न छोडी दिएँ”। आफूसंगै अमेरिकन आलाई को फौजमा काम गरेर आर्मीको मेजर जस्तो पदमा पुगेर रिटायर्ड भएको सहकर्मीको कुरा सुनेपछि आफूले तुरुन्तै साई बाबाको फोटो बेच्न छाडी दिएको कुरा मेरा ती साथीले बताए। यसरी विभिन्न ढोंगी बाबाहरुको कुराहरु अहिले मिडियामा आईरहेको बेलामा यस्तो कुरा सुन्दा हामीहरुले कुनै आश्चर्य लाग्दैन तर हाम्रा नेपालीहरुको बिश्वास भने बिजय शाही जस्ता युवाहरुको बैज्ञानिक आविष्कारका कुराहरुमा भन्दा यस्तै ढोंगी अबतारहरुका कथित चमत्कारहरुमा भने बढी नै हुन्छ भन्नलाई मात्रै यो प्रसङ्गलाई जोड्न खोजेको हुँ ।

प्राय: नेपाली मिडियाकर्मीहरु पनि कपोलकल्पित, दिग्भ्रमित अनि अपत्यारिलो कुराहरुलाई भने चामत्कारिक भन्दै अतिरन्जित किसिमले पस्कने गर्छन्। अझै कतिपय मिडियाकर्मीहरु विभिन्न मनोबैज्ञानिक रोगहरुले आफैं पनि ग्रसित छन्। प्रायजसो साईकोसिस् भएका, यौन कुण्ठा या हिस्टेरिया भएका अनि स्किजोफेर्निया आदिले ग्रसित मानिसहरु पनि मिडियाको ढ्यांग्रो समातेर बहुलाउँदै र काप्दै नाचीरहेका पनि पाईञ्छन्।

हिस्टेरियाले ग्रस्त भएका कलाकारहरु झनै यस्तो नाटकीय कुराहरुमा बढी बिश्वास गर्ने र अरुलाई पनि मिडिया एटेन्शन कै लागि पनि देखाउने गर्छन्। फलस्वरुप माला, औंठी, जन्तर, आदि आदि विभिन्न जडित कुराहरु लगाउँदै ढ्यांग्रो र चिम्टा भिरिरहेका पनि नाचिरहेका हुन्छन्। ती मध्धे कतिलाई पशुपतिमा भेट्न सकिन्छ। कतिलाई कुनै न कुनै शक्ति पीठ या माता अनि ढोंगी बाबाहरुका वरिपरि नाचिरहेको बग्रेल्ती भेटिन्छन्। यस्ता ढोंगीहरुको बशमा निकै नै नाम चलेका पत्रकारहरु देखि नेता र कलाकारहरु सम्म परिरहेका देख्न सकिन्छ। अनि उनीहरु ती कथित बाबाहरुका मनोगत कुण्ठामा लुटिंदै निरन्तर मानसिक रुपले शोषणमा रुमल्लिई रहेका भेटिन्छन्। साच्चै भन्नु पर्दा नेपालका मिडियाकर्मी र रंगकर्मीहरु मात्रै नभई आर्मी/पुलिस प्रशासन देखि सिंहदरबार अनि गृह प्रशासन त्यस्तै अहिलेका जम्मै राज नेताहरुमा यस्तो अन्ध बिश्वासको प्रभाब हाबी छ। हाम्रा नेपालीहरु बुझ्नु न सुझ्नु धेरै ढोंगीहरुको पछि लाग्नुको पछाडी यस्तै यस्तै मनोबैज्ञानिक कारणहरु छन्। तर म त्यतातिर जान्न।

जे होस् गौतम बुद्द जस्ता ठूला विचारक र महामानव दार्शनिक जन्मिएका ठाउँमा फेरी अर्को बिश्वलाई नै बदल्न सक्ने सामर्थ्य राख्ने बिजय शाहीको जन्म हुनु विश्वकै ठूलो उपलब्धी हो। अहिले सम्म आम रुपमा हाम्रा नेपालीहरुको स्मरण शक्ति र मानसिकता अझैपनि ज्यादै र क्षणिक नै छ। बिजय शाहीको ज्ञानको फर्मूलाले पक्कैपनि नेपालको शिक्षा नीति र प्रणालीलाई बदल्ने नै छ।

मेमोरी किङ्ग बिजयको सिकाई सम्बन्धी सुपरलार्निंग सिद्दान्त संगै नेपालको कायापलट गर्ने गरी बिस्तारै आउंदै गर्दा म बिजय भाईलाई फेरी पनि सुझाब दिन चाहन्छु कि कृपया अब आयन्दा हल्का र फितलो पाराले ती खुराफाते मिडियाहरुमा नआउनु होला। किनकि त्यसले तपाईंको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाब पार्न सक्छ। कसै कसैको आलोचना गर्ने ढंग हुँदैन। त्यसमाथि पनि हाम्रा नेपालका भर्खरैका उदाउँदा पत्रकारहरुसंग निकै नै सतर्क हुनु पर्छ किनकि उनीहरुमा अहिले निकै घमण्ड र असीमीत स्वतन्त्रताको उन्माद छ।

आफ्नो ढंग नै नभएका मानिसहरु पनि टेक्नोलोजी प्रयोग गर्दै ठूला ठूला कुराहरु गरिरहेका छन्। कुनै ढंग नै छैन। म परदेशमा टाढै बसेर पनि उनीहरुको गतिबिधीहरुलाई नजिकबाट नियालिरहेकोछु। हामी नेपालीहरु अहले लोकतान्त्रिक अभ्यासको चरणमा छौं अर्थात् संक्रमण कालीन अबस्थामा गुज्रीरहेका छौं त्यसैले यस्तो बेथिति र भद्रगोल भैरहेको छ। अर्कोकुरा नेपालमा धेरैलाई मिडियाको धर्म र मर्म के हो थाहा नै छैन। जे पायो त्यही बोल्ने र ओकल्ने; जसको पायो त्यसैको फोटो खिच्ने जे पायो त्यही मन गढन्ते पाराले शिर्षक राखेर कुरो एकातिर भए पनि अर्कैतिर तोडमोड पारेर भिउअर बढाउनकैलागि पनि हाल्ने या प्रकाशित गर्ने चलन बढी रहेको छ। सस्तो लोकप्रियताकालागि बाहिरबाहिर मिडियाको डबलीमा एउटा कुरा देखाएर नेपथ्यमा अर्कै धन्दा गर्नेहरु धेरै छन्। तसर्थ बिजय शाहीले त्यस्ता मिडियाहरुबाट यतिबेला टाढै बस्नु राम्रो हुन्छ।

भगवान बुद्दले पनि वरिपपरी वारिंग स्टेटहरु अनि तत्कालीन समाजको शासकहरुको अन्याय, अत्याचार, हत्या, हिँसा र बलात्कार देखेर सहना नसकी चिन्तन गर्दै जाँदा ज्ञान प्राप्त गरेका थिए। पछि आफ्नो दिब्य ज्ञानहरुलाई प्रचार गर्ने शिलशिलामा कयौं आलोचनाहरु खेप्नु परेको थियो। बिजय शाही एकातिर नेपालको उदाउँदो तारा हुन् भने अर्कोतिर चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाको बींड जस्तै हुन्।

त्यसोभए को हुन् त बिजय शाही अनि के हो त उनको चामत्कारिक ज्ञानको सूत्र ? अर्को अध्यायमा