चन्द्रमालाई शिवजीले शिरमा धारण गरेकै कारण सोमबारलाई शिवजीको दिन मानिन्छ

काठमाडौ। धेरै वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार व्रत बसेर देवाधिदेव महादेवको पूजाराधना गर्छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरिएको बताउछन् ।

परम्परानुसार कुनै कुलविशेषले चान्द्रमासअनुसारका श्रावण महिनामा साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेष रुपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उनले सुनाए । यस वर्ष साउन ५, १२, १९ र २६ गते गरी चार सोमबार परेका छन् । नयाँ व्रत पाँच सोमबार परेको वर्षदेखि शुरु गर्नुपर्छ भनी लोकमा गरिने व्यवहारमा शास्त्रीय मत नमिल्ने अध्यक्ष गौतमले जानकारी दिए । शास्त्रीय मान्यतानुसार चार सोमबार परेको वर्षदेखि पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।

साउने सोमबारको व्रत गरेमा यस लोकमा सुखशान्ति र परलोकमा सद्गति प्राप्त गरिने ‘शिवपुराण’लगायत धर्मग्रन्थमा उल्लेख छ । साउने सोमबार र हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतानुसार महिलापुरुष दुवैले यो व्रत गर्न सक्छन् ।

प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन् । आजदेखि साउनको सोमबार व्रत गर्नेले अन्तिम सोमबार व्रत उद्यापन गर्छन् । धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथलगायत शिवालयमा चढाउन भक्तजनको भीड लाग्छद्ध । वाग्मती मुहान क्षेत्र सुन्दरीजलबाट पशुपतिसम्म बोलबम गरी जल चढाउने गरिएकामा यस वर्ष कोरोनाका कारण त्यससमेत प्रभावित हुने भएको छ ।

भोलेनाथ काँवरिया सङ्घ, बोल बम काँवरिया सङ्घलगायत संस्थाले यस वर्ष बोल बम काँवर यात्रा नगर्ने घोषणा गरिसकेका छन् । धेरै नेपालीले वर्षमा एकपटक साउनमा घरमा वैदिक रुद्राभिषेकसमेत गर्छन् । साउनमा नभ्याउनेले अनुकूलतानुसारको महिनामा गर्ने परम्परासमेत छ ।- ओयसनेपाल