मेलम्चीको पानी र नेपालको वैकल्पिक राजनीति

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया
साझा पार्टी र विवेकशील नेपालीको प्रसंग:

हुन त बाल्टिमोरमा बसेर बालुवाटारको चिन्ता नगर्नु रे तर आफु जहां बसे पनि परिवार त्यही देशमा बस्ने भएपछि त्यो देशको अरु कुरा भन्दा राजनीतिले विदेशिएका नेपालीहरुको मन अशान्त हुने गर्छ किनकी त्यो देशको मुहार फेरियो भने आफ्ना आमा बुवा, दाजुभाई, दिदी बहिनी, इष्टमित्र र साथीहरुले सुख पाउछन कि जस्तो लाग्दो रहेछ ।

मेलम्चीको पानी: ३२ वर्ष अगाडी बेलायती अन्तर्राष्ट्रिय संस्था बिन्नी एन्ड पाटनर्सले सिन्धुपाल्चोकको मेलम्ची खोलालाई काठमाडौं उपत्यकाको पानीको स्रोतका रूपमा पहिचान गरेको हो । २० वर्ष अगाडी मेलम्चीको पानीलाई राजधानी लैजाने योजना सहित विकास समिति गठन गरेर आयोजनाको समग्र भौतिक निर्माणको काम सुरु भएको थियो भने सुरुङ बनाउन थालेको पनि १२ वर्ष भइसकेको छ। साथै वि.सं २०४८ सालको निर्वाचनको चुनावी घोषणामा; प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाण्डौमा मेलम्चीको पानी ल्याउने घोषणा गरेका थिए । त्यस पछिका हरेक निर्वाचनमा मेलम्ची खाने पानी सबै दलको साझा एजेण्डा बन्ने गरेको छ। गत असार २१ गते सुरुङमा परीक्षण गर्न पानी पठाइयो ।खानेपानी मन्त्री बिना मगरले राजधानीमा पत्रकार सम्मेलन गरी अब आयोजना छिट्टै उद्घाटन गर्ने उद्घोष गरेको दश दिन पछि गत मंगलवार मुहान नजिकैको सुरुङको १७ नम्बरको ढोका फुटेपछि तीन दशक लामो लगानी, मिहिनेत र निर्माण संरचनाको गुणस्तरमा शंका उत्पन्न भएको छ । यस घटनामा मर्मत र अनुगमनमा संलग्न आयोजनाका एक जनाको मृत्यु भएको छ, एक जना बेपत्ता र दुई जना घाइते भएका छन् । अब मेलम्चीको पानीको आशा भाग्यको गर्भमा आश गर्नु पर्ने स्थिति देखिन्छ।

वैकल्पिक राजनैतिक शक्तिको कहानी: नेपाली भन्ने कि बन्ने ? Time to Lead Nepal”

यही मुल नारा लिएर पराम्परागत राजनीतिको फोहरी खेलमा नजर लगाउन समेत नचाहने युवा शक्तिलाई फरक ढंगबाट राजनैतिक नेतृत्व प्रदान गर्ने उद्देश्यले नेपालमा विवेकशील दल वैकल्पिक राजनीतिको रुपमा उदायो जसको शुरुवात रुपचन्द्र विष्टले थाहा आन्दोलन मार्फत गर्न खोजे पनि तत्कालीन राजनीतिज्ञहरुले सफल हुन दिएका थिएनन्।

सन् २०१० देखि युवा अभियानलाई सकृयता दिनुभएका दलका अध्यक्ष उज्वल थापाले सन् २०१३ मा दोस्रो संविधान सभाको निर्वाचनमा कुकुर चिन्ह प्रयोग गरी स्वतन्त्र उम्मेद्वार बनी चुनाव लडी ३००० भोट प्राप्त गर्नुभयो, युवाहरुले दिएको यो साथले विवेकशील पार्टीलाई राजनैतिक पार्टीको हांसेको मुहारको चिन्ह सहित दर्ता हुन हौसला मिल्यो र साथै विवेकशील दलले देशका राष्ट्रीय विपत्तिमा आफ्नो भुमिका अत्यन्तै तदारुकताका साथ निभाउनुको साथै अन्य चासोका विषयहरुमा बन्द विरुद्ध, लोकमान काण्ड, भुकम्प पुर्ननिर्माण ढिलाई अभियान, डा. गोविन्द के सी अनसन आन्दोलन, जुनसुकै सरकारी पक्षका मनपरीतन्त्र विरुद्ध आफ्नो उपस्थिति मर्यादित ढंगबाट प्रस्तुत गरेर युवा विशेषत शहरी क्षेत्र विदेशिएको दक्ष समुहको मन जित्न सफल भयो र सवर्त्र युवाहरुले देशको मुहार फेर्ने एक वैकल्पिक शक्तिको रुपमा विवेकशीललाई स्वीकार गरे।

देशमा जारी नयां संविधान, नयां राजनैतिक अभ्यास र युवाहरुको राजनैतिक उत्साह देखेर विवेकशील दलकै जस्तो उद्देश्य बोकेर बिबीसीका पत्रकार रवीन्द्र मिश्रले साझा पार्टीबाट राजनैतिक यात्रा शुरु गर्नुभयो । साझा पार्टी खुलेकै केही समयपछि भएको स्थानीय निर्वाचनमा दुवै पार्टी बीच मेलमिलाप र समन्वय नभएकै कारण दुवै पार्टी नमीठो पराजय भोग्नुपर्यो। शुभचिन्तकहरुको आकांक्षा अनुरुप एउटै उद्देश्य र आदर्श बोकेका विवेकशील र साझा बीच समन्वय भयो र पार्टी एकता समेत भयो तर रवीन्द्र मिश्रको “ one man show“ शैली र जथाभावी पदाधिकारीहरु हुल्ने तथा नाम चलेका व्यक्तिलाई उच्च पदमा नियुक्ति दिएकै कारण विवेकशील र साझा बीचको एकता लामो समय सम्म टिक्न नसकेको र असन्तुष्ट विवेकशील समुह साझाबाट बिना वार्ता छुट्टिएको दाबी साझा विवेकशील निकट व्यक्तिहरु बताउछन। पत्रकार रविन्द्र मिश्रले खोलेको पार्टी साझा संग समायोजन भएपछि उज्वलको छवि धमिलियो र उहां पार्टीको अनुमति विना आत्म समिक्षा गर्न जिल्ला भ्रमणमा निस्केर लिखित प्रतिवेदन समेत सार्वजनिक गरेको केही समयपछि साझा र विवेकशीलबीच फुट भयो तर फुटपछि भने एकअर्कालाई सामाजिक संजालमा वा संचार माध्यममा आरोप प्रत्यारोप र दोषारोपण गर्ने काम दुवै पार्टीका शीर्ष नेताहरुबाट भएन।

यदि देश रुपान्तर गर्न युवालाई अघि सार्ने हो भने जिम्मेवारी पनि युवाकै काधमा हस्तारण गर्नुपर्छ न की अर्को राजनैतिक पार्टीमा आफ्नो भविष्य नदेखेका वा बिदेशमा नाम कमाएका लाई पार्टी पद दिएर पार्टीलाई दिलो ज्यान दिनेलाई लत्याउनु नै हुन्छ।संचार माध्यममा आएका छिटफुट खबरमा साझा र विवेकशीलको पुनःमिलन हुने खबरले दुवै पार्टीलाई माया गर्नेहरुको मनमा उत्साह भन्दा पनि डर पैदा भएको छ किनकी यो एकता क्षणिक मात्रै त होइन ? साझा विवेकशील सामु अर्को चुनौती कोरोना महामारी पनि पेश गरेको छ, त्यो हो कोरोना प्रभाव वैदेशिक रोजगारी बाट बेरोजगार भएर नेपाल फर्किएको युवा शक्ति। हिजो “नोट चल्ने भोट नचल्ने वा नेपाल मेरो घर हो डेरा होइन” भन्ने जस्ता नाराले सामाजिक संजाल मार्फत युवाशक्तिको ध्यान आकर्षित गर्ने यी दुबै पार्टीले युवाशक्तिको उर्जालाई कसरी देश विकासमा प्रयोग गर्छ वा पुराना पार्टीको विकल्पको रुपमा आफुलाई उभ्याउने कोशिस कहिले बामेसर्दै, कहिले लर्खराउदै र कहिले ढल्दै उभिन खोजेको वैकल्पिक शक्ति मेलम्चीको पानी जस्तै त हुने होइन कि ओमविक्रम बिस्टको गीत “म मौनतामा अल्झिरहेको यौटा जीवन, कहां जाने कसलाई खोज्ने, कसलाई सोध्ने” भन्दै गुनगुनाउनु पर्ने त होइन ?

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया
source ; enepalese