कोरोना विरुद्द यी ३ खोप क्लिनिकल परीक्षणको अन्तिम चरणमा:चीन,अमेरिका र बेलायत खोप निर्माणको दौडमा अगाडि!

४ साउन, काठमाडौं । जुलाई दोस्रो साता रुसको सेचेनोभ विश्वविद्यालयले विश्वमै पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल ट्रायल सफल भएको दाबी गर्‍यो ।

कोरोनाबाट आक्रान्त विश्व समुदायका लागि यो खबर जति सुखद थियो, खोप बनाउने होडमा रहेका शक्ति राष्ट्रका लागि त्यति नै ठूलो झट्का । किनकी खोप बनाउने होडमा अहिलेसम्म चीन, अमेरिका र बेलायतबीच प्रतिस्पर्धा रहेको मानिएको थियो ।

अमेरिकाले त कोभिड–१९ विरुद्धको खोप निर्माणसम्बन्धी सूचना रुसी ह्याकरले चोरी गर्ने योजना बनाएको आरोपसमेत लगाएको छ । तर रुसले त्यसको खण्डन गरेको छ ।

जे होस्, यसले कोरोनाको भ्याक्सिन बनाउन शक्ति मुलुकहरुबीच कुन हदको प्रतिस्पर्धा भइरहेको छ भन्ने प्रष्ट हुन्छ । विश्वका विभिन्न मुलुकहरुमा भइरहेको खोप निर्माणका प्रक्रिया कहाँ पुगेको छ त ?

विश्व श्वास्थ्य संगठन (डब्लुएचओ) का कुनै पनि रोग वा भाइरसविरुद्ध खोप निर्माण गर्न लामो समय लाग्ने गर्छ । त्यसैले खोप यो मितिमा आइपुग्छ भनेर भन्न सकिँदैन ।

यद्यपि अमेरिकी संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले आफ्नो देशमा यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरसविरुद्धको खोप बजारमा आइपुग्ने दाबी गरेका छन् । अरुले पनि यस वर्षको अन्तिमसम्म कोरोना भाइरसविरुद्धको खोप बजारमा आउने दाबी गरेका छन् ।

कुन खोपको खोपको परीक्षण कहाँ पुग्यो ?

अहिले विश्वभरका धेरै कम्पनीले खोपको परीक्षण गरिरहेका छन् । डब्ल्यूएचओका अनुसार गत जुलाई १५ सम्ममा विश्वभर १६३ खोपको प्रि–क्लिनिकल वा क्लिनिकल परीक्षण चलिरहेको छ ।

यसमध्ये २३ खोपको क्लिनिकल परीक्षण भइरहेको छ भने १४० खोपको प्रि–क्लिनिकल परीक्षण चलिरहेको छ । प्रि–क्लिनिकल परीक्षण सकिएपछि क्लिनिकल परीक्षण हुनेछ । क्लिनिकल परीक्षण पनि तीन चरणमा हुन्छ । सबै चरणमा गरिएको परीक्षणमा खोप प्रभावकारी, सुरक्षित र प्रयोग गर्नका लागि योग्य छ वा छैन भनेर जाँच गरिन्छ ।

र, सबै जाँचमा सफल भएपछि मात्र खोप बिरामीको उपचारका लागि बजारमा आउँछ ।

अहिले क्लिनिकल परीक्षणको क्रममा रहेका २३ खोपमध्ये १० ओटा खोप पहिलो चरणको परीक्षणमा छन् । त्यस्तै आठओटा खोपको पहिलो र दोस्रो चरणको परीक्षण एकसाथ चलिरहेको छ । दुई चिनियाँ कम्पनीले निर्माण गरेका खोपको पहिलो चरणको परीक्षण सकिएको छ र उनीहरु अहिले दोस्रो चरणको परीक्षणमा छन् । बाँकी खोपले अहिलेसम्म पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षण सकाएका छन् ।

यही खोपहरुमध्येबाट पहिलो कोरोना भाइरसविरुद्धको खोप बजारमा आउने सम्भावना बढी छ ।

तेस्रो चरणको क्लिनिकल परीक्षणमा रहेका खोपहरु

अहिलेसम्म दुई खोपको तेस्रो चरणको परीक्षण सुरु भएको छ भने एउटा तेस्रो चरणको परीक्षण शुरु हुने क्रममा छ ।

१. चिनियाँ कम्पनी सिनोभेकले निर्माण गरेको खोपको अहिले तेस्रो चरणको क्लिनिकल परीक्षण चलिरहेको छ ।

गत जुलाई ६ मा चिनियाँ कम्पनीले सामाजिक सञ्जालबाट कम्पनीले निर्माण गरेको खोपको तेस्रो चरणको परीक्षण शुरु गर्न लागिएको बताएको थियो । कम्पनीले ब्राजिलमा यो खोपको तेस्रो चरणको परीक्षण गर्न लागेको हो । कम्पनीले यसअघि गरेको पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणको नतिजा सकारात्मक आएको बताइएको छ ।

२. बेलायतको अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले एस्ट्राजेनेका कम्पनीसँग मिलेर निर्माण गरेको खोप पनि तेस्रो चरणमा प्रवेश गरेको छ । यो खोपको परीक्षणको क्रममा पनि उत्साहजनक नतिजा आएको अनुसन्धाताले बताउँदै आएका छन् ।

३. अमेरिकी कम्पनी मोडेर्नाले निर्माण गरेको खोपको तेस्रो चरणको परीक्षण जुलाई २७ देखि शुरु हुने भएको छ । यो चरणको परीक्षणमा ३० हजार स्वयंसेवकले भाग लिनेछन् । अमेरिकी अधिकारीहरुले यो खोप यस वर्षको अन्तिमसम्म बजारमा आउने दाबी गरेका छन् ।

यसबाहेक चिनियाँ कम्पनी सिनोफर्मले संयुक्त अरब इमिरेट्स (यूएई)मा तेस्रो चरणको क्लिनिकल परीक्षण शुरु गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गत बुधबार यो परीक्षण शुरु भएको हो । यो खोप सिनोफर्मको चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी), आबुधाबीको कृत्रिम बौद्धिकता र क्लाउड कम्प्युटिङकम्पनी ग्रुप ४२ (जी४२) र आबुधाबीको स्वास्थ्य विभागको सहकार्यमा निर्माण भएको हो ।